• २०८३ मङ्सिर ७ सोमबार
  • Monday, 23 November, 2026

बिराटनगरको शिक्षक आन्दोलन सम्झँदा 

बिक्रम सम्वत २०३६ सालको शुरुतिर बिराटनगरमा शिक्षकहरुको हडताल भयो । पञ्चायत शासनमा हड्ताल हुनु मामुली कुरा थिएन । निरंकुश पञ्चायत  शासनले सबै प्रकारका बन्द हडतालमा प्रतिबन्ध लगाएको थियो तर शिक्षकहरु ठूलो हडतालमा उत्रिए । हडताल हुने कारण यस्तो थियो – बिराटनगर जनता हाईस्कूलका शिक्षक गोविन्द ओझाका आफ्नो एकजना मानिस कोशी अन्चल अस्पतालमा बिरामी भएर बसेका थिए । ती बिरामीलाई बेलुकाको खाना पु¥याउन रिक्सामा चढी गइरहेको अवस्थामा रात परेको बेला रिक्सावालाले बत्ति नबालेको निहँुमा रिक्सावालालाई प्रहरीले कुटपिट गर्न थालेछन् । शिक्षक गोबिन्द ओझाले त्यसो नगर्न आग्रह गर्दा उनलाई पनि तँ को होस् ? भन्दै कुटपिट गर्न थालेछन् । त्यही निहँुमा गोबिन्द ओझालाई त्यसबेलाको जिल्ला प्रहरी कार्यालय(डि.एस.पि. अफिस) मा ल्याएर थुनामा राखेछन् । यो कुरा भोलिपल्ट सबै स्कूलमा फैलियो । जनता हाईस्कूलमा हेड मास्टर कृष्णप्रसाद भगतले बिराटनगरका सबै स्कूलका हेड मास्टर लगायत शिक्षकहरुको बैठक बोलाए । सो बैठकले गोबिन्द ओझालाई तत्काल रिहाई गर्न र उचित न्याय दिलाउन सर्वसम्मतबाट स्कूल हडताल गर्ने निर्णय लियो र नाराबाजी गर्दै बिराटनगरको सडकमा जुलुस ओर्लियो । भोलिपल्ट सिटी जुलुस, पर्सिपल्ट लालटिन जुलुस भयो । चार÷पाँच दिनसम्म लगातार विभिन्न प्रकारको नाराजुलुस हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले वार्ताको लागि बोलायो ।

वार्ताका विभिन्न चरणहरुमा छलफल भई राखेका माग पूरा भए र हडताल पाँचदिनपछि बन्द भयो । त्यो हडतालको संघर्ष समितिमा विभिन्न हाईस्कूलका हेडमास्टर लगायत म समेत सकृयरुपमा सामेल भएका थियौं । सरकारी वेतनभोगी भएर पंचायत शासन व्यवस्थामा हडताल भएको यो शायद पहिलो संगठित हडताल थियो । त्यसो त कलेजका विद्यार्थीहरुले त स्कूल कलेज बन्द गर्ने र हडताल गर्ने काम त भै रहन्थ्यो तर शिक्षक वा कुनै कर्मचारीले संगठितरुपमा अन्याय अत्याचारका विरुद्ध सडकमा उत्रिन पनि सक्छन् भन्ने पञ्चायती व्यवस्थालाई एउटा चुनौति थियो । अहिलेको अवस्थामा बन्द हडताल नाराबाजी सामान्य लागेपनि त्यो निरंकुश पञ्चायती व्यवस्थामा धेरै कठिन काम थियो । कर्मचारीको सरुवा र खोसुवा हुनु त्यो शासनमा सामान्य थियो । न्यायालय समेत पञ्चायती  व्यवस्था विरुद्धमा बोल्न सक्दैनथ्यो । विराटनगर आएपछि मेरो राजनैतिक सक्रियता अलि घट्यो । बेलाबेलामा पार्टीका भेलाहरुमा सामेल चाहीं हुन्थें । 

म हाईस्कूलको विज्ञान, गणित बिषयको शिक्षक भएता पनि हाईस्कूलका सबै विषयहरु (अंंग्रेजी, नेपाली, भूगोल) पढाउन सक्थें । त्यसैले मसँग ट्युसन पढ्ने विद्यार्थी धेरै हुन्थे । एउटा ग्रुपमा ६÷७ जना हुन्थे । मैले त्यस्ता ग्रुपहरु दिनमा ४÷५ वटा पढाउँथें । परीक्षाको समयमा अझ बढी विद्यार्थी पढ्न आउँथे । त्यही ट्युसन पढाएर केही पैसा जम्मा गरेर मैले २०३६ सालमा मेरो एकजना मित्र इन्जिनियर प्रेमराज न्यौपानेको सल्लाहमा उनकै घरको पश्चिमपट्टि बिराटनगर मुनालपथमा डेढ कठ्ठा जग्गा रु. १५०००÷– मा किनें । हाम्रो सगोलको पाँच कठ्ठा जग्गा पोखरियामा (हाल बुद्ध चोक) थियो तापनि मैले बजार र स्कूल नजिक हुन्छ भनी त्यो ठाउँमा जग्गा किनें । पछि २०३८ सालमा त्यो जग्गामा दुई कोठाको पक्कि घर बनाएँ र पछि थप्दै लगी आठ कोठाको दुई तला बनाएँ । 

२०३६ सालको शुरुतिर चितवन र कास्की जिल्लामा शिक्षकहरुले विभिन्न मागहरु राखी आन्दोलन शुरु गरेछन् । ती जिल्लाबाट विभिन्न जिल्लाहरुमा प्रतिनिधि पठाई आन्दोलन फैलाउने सिसिलामा दुई जना शिक्षकहरु (नाम बिर्सिएँ) मोरङ्ग जिल्लामा आए । स्कूलका शिक्षक र हेडमास्टरहरुसँग सम्पर्क गर्नेक्रममा मसँग ती प्रतिनिधि साथीहरुको भेट भयो । शिक्षक आन्दोलनको कुराकानी भयो । मैले “म त मामुली शिक्षक हुँ, त्यति प्रभाव छैन । प्रभावशाली हेडमास्टरहरु भोला सापकोटा, कृष्णप्रसाद भगत, विमल कोइराला, विजय नेपाल, बिष्णु बराल आदिसँग भेट गरी कुरा गर्दा केही उपलब्धि पाइएला ।” भनी सल्लाह दिएँ अनि उनीहरुको घर ठेगाना बताइदिएँ । ती प्रतिनिधिहरुले दिनभरि हेडमास्टरहरुसँग सम्पर्क गरी शिक्षक आन्दोलनको कुरा गर्दा प्रायः जसोले आन्दोलनको सन्दर्भलाई सकारात्मक लिएतापनि परिस्थितिले गर्दा तत्काल केही गर्न नसकिने तर कुरा चैं उठाउने हो भन्दै ल्याङल्याङ लुङलुङ कुरा गरेछन् । प्रतिनिधिहरुलाई चित्त बुझेनछ अनि पुनः मसँग सम्पर्क गर्न आए । धेरै बेरको कुराकानी पछि मैले चाँडो भन्दा चाँडो संघर्ष समिति बनाउने कोशिस गर्छु भनेर मनाए पछि उनीहरु गए । काम सजिलो थिएन तरपनि मैले भोलिपल्टदेखि नै सबभन्दा पहिले आफ्नो स्कूल सत्यनारायण हाईस्कूलका शिक्षक गोविन्द प्याकुरेल, मुरलिरमण पौडेल, चेतेन्द्र खड्का लगायतका शिक्षक साथीहरुसँग शिक्षक आन्दोलनको कुरा उठान गरें ।  उनीहरुबाट पनि सक्रिय सहभागिता हुने कुरा भयो । त्यसबेला बिराटनगरका सबै स्कूलहरुमा गर्मी बिदा भएकोले हेडमास्टर, शिक्षकहरुसँग सम्पर्क गर्न गाह्रो थियो । बिराटनगर बजारअड्डा (ट्राफिक चोकदेखि महेन्द्र चोकसम्म) मा दिनहुँ धेरै शिक्षक, विद्यार्थी र कर्मचारीहरु भेट हुने ठाउँ थियो । त्यस अवसरमा दिनहुँ बेलुका बजार अड्डामा गएर भेटेसम्मका शिक्षक साथीहरुलाई शिक्षक आन्दोलनको कुरा राख्न थालियो । त्यसक्रममा शिक्षक केदार भट्टराई, माधव दाहाल, दिनेश श्रेष्ठसँग भेट भयो । ती युवा जोसिला साथीले अरु उत्साह जगाए । त्यस्तै टंक गिरी, गुरुप्रसाद बराल, गिरिराजमणि पोखरेल लगायतका युवाहरुले पनि सहयोग गरेका थिए । यस्ता पाँच÷सात जना साथीहरु निरन्तर पन्ध्र दिनसम्म खटिएर शिक्षकहरुको सत्यनारायण हाईस्कूलमा हुने भेलामा जम्मा हुन आव्हान गर्दा तोकिएको दिन (दिन भुलें) साठी जना शिक्षक र एक हेडमास्टर विजय नेपाल समेतलाई भेला पार्न सक्यौं । त्यो भेलाको सभापतित्व हेडमास्टर विजय नेपालले गर्ने भनेर मैले घोषणा गरें । दुई घण्टासम्मको छलफल पछि त्यो भेलाले मोरङ्ग जिल्ला शिक्षक संघर्ष समिति बनायो र मलाई सचिव (संयोजन) बनायो । मैले पनि विजय नेपाललाई संघर्ष समितिको अध्यक्ष बनाइयोस भनी प्रस्ताव गरें । त्यो प्रस्ताव अनुमोदन भयो । एक जना विज्ञान शिक्षकले दिएको चुनौतिले पनि मलाई शिक्षक संघर्ष गर्नका लागि प्रोत्साहित ग¥यो । ती शिक्षकले त्यतिबेला “किस माईका लाल है ! हिम्मत भए आन्दोलन गरेर देखाउनु” भने पछि ममा पनि थप संघर्ष गर्ने उत्साह पैदा भयो । संघर्ष समितिका सदस्यहरु गोविन्द प्याकुरेल, मुरलिरमण पौडेल, चेतेन्द्र खड्का, केदार भट्टराई, माधव दाहाल, खगेन्द्र उपाध्याय (आचार्य) आदिको नाम अनुमोदन भयो । यो बैठकले भोलिपल्टैदेखि जिल्लाका विभिन्न ठाउँमा रहेका स्कूलमा गई भेला गराई विस्तृत संघर्ष समिति बनाउने समेत निर्णय ग¥यो । सोही अनुरुप हामी म, विजय नेपाल लगायत संघर्ष समितिका साथीहरु पहिला जिल्लाको पूर्व उत्तर भेगमा रहेको मधुमल्ला हाईस्कूलमा गयौं र त्यहाँका हेडमास्टर एकराज भट्टराई, शिक्षक काशीनाथ उपाध्यायलाई भेटी शिक्षकहरुको भेला गराई शिक्षक आन्दोलन र विस्तृत भेला बारे कुराकानी ग¥यौं । एवं तरिकाले उर्लाबारी, दुलारी, रंगेली आदि ठाउँमा गई हेडमास्टर, शिक्षक साथीहरुसँग बैठक र भेट गरी विस्तृत संघर्ष समितिको भेला गर्ने सल्लाह ग¥यौं । तोकिएको मितिमा बिराटनगरको जनता हाईस्कूलको प्राङ्गणमा विस्तृत भेला ग¥यौं । त्यो भेलामा ३०० जति शिक्षक र हेडमाष्टरको सहभागिता रह्यो । । त्यो भेलाले धेरै हेडमास्टरहरुलाई संघर्ष समितिको सल्लाहकार र केहीलाई संघर्ष समितिको सदस्यमा राख्ने निर्णय पनि ग¥यो । संघर्ष समितिमा केही साथीहरु डिल्ली पोख्रेल, नन्दराज गिरी, तुला गुरुङ्ग, प्रेमचन्द सापकोटा, खगेन्द्र सिग्देल, मुक्ति बराल (पछि नेकपा एमालेका नेता), एकराज भट्टराई, रतिकान्त ठाकुर, रविदानन्द चौधरी लगायतका साथीहरु थपिए । अरु धेरै जनाको नाम बिर्सिएँ । त्यो भेलाले मलाई सचिव र विजय नेपाललाई अध्यक्षमा यथावत राख्यो । अब शिक्षकहरुको आन्दोलन दिनहुँ जसो हुन थाल्यो । कहिले नारा जुलुस त कहिले लालटिन जुलुस । आन्दोलन पहिलो पल्ट एक महिनासम्म भयो भने दास्रो पल्ट तीन महिनासम्म भयो । त्यसबीचमा म लगायत राजेन्द्र विरही, मुक्ति बराल धेरैपल्ट जेल र प्रहरीको हिरासतमा प¥यौं । म लगभग ९÷१० पटक जेल र प्रहरी खोरमा थुनिएँ । म शिक्षक आन्दोलनको बेला पटक पटक गरी लगभग ३५÷४० दिनसम्म जेल र प्रहरी खोरमा थुनिएँ ।

एकपटक त विहानै मेरो शंकरपुर, मुनालपथको डेरामा प्रहरीहरु आए । मैले मेरा दुईजना छोराहरु रोहित र आश्विनलाई मेरो बारेमा कसैले सोधखोज ग¥यो भने बुवा घरमा हुनुहुन्न भन्नु भनेर सम्झाएको थिएँ । मेरा दुईजना छोराहरु यति गोप्य थिए कि मैले सुत्ने खाटमुनी राखेका कार्ल माक्र्सको ठूलो फ्रेम सहितको तस्वीर र लेनिनका पोष्टकार्डहरुका बारेमा समेत कसैलाई भन्दैनथे । कार्ल माक्र्सको फोटो उनीहरुका कोही साथीहरुले देख्यो भने हाम्रो हजुरबुवाको बुवाको फोटो भनिदिन्थे । यद्यपि छोराहरुलाई मैले ती नेताहरुको सामान्य जीवनी कथाका रुपमा सुनाएको थिएँ । ती प्रहरीहरु विना बर्दीमा भद्र भलाद्मी भएर आएका रहेछन् । छोराहरुलाई सोध्नासाथ मेरो कोही शिक्षक साथी ठानेर  कान्छो छोरा आश्विनले घरमै हुनुहुन्छ भनिहालेछन् । त्यसपछि त विहानीको चिया समेत पिउँन नदिई मलाई गिरफ्तार गरे ।

बिराटनगर जेल परेको बेला काँग्रेस नेता देवानसिंह राईको हत्या आरोपमा जेल परेका चन्द्रबहादुर गुरुङ्गसँग भेट भएको थियो । उनी त्यसबेला (२०३६ सालतिर) जेलका नाइके थिए । पछि उनी नेकपा एमालेबाट मोरङ्ग क्षेत्र नम्बर २ का सांसद पनि भएका थिए । जेलमा हुँदा उनीसँग बाम राजनीतिका कुरा हुने गथ्र्यो । पहिले त म उनलाई जासुस हुन कि भनी खुल्न डराउथें । पछि बेलबारीतिरका बाम साथीहरु (शिव दाहाल समेत) ले हाम्रो साथी नै हुन भनी पठाएको पत्र पाएर मात्र मैले उनीसँग राम्रो कुराकानी गर्न थालेको थिएँ । नाइकेलाई जेलबाट बाहिर गएर बेलुका आउन पाउने नियम रहेछ । उनी एकजना सादा पोसाकका प्रहरी लिएर घुम्न गई फेरि फर्केर जेल आउँथे । जेलमा हामीलाई राजनितिज्ञलाई गर्ने व्यवहार गरिन्थ्यो । चामल र केही पैसा दिइन्थ्यो र पकाउनको लागि कैदी बन्दी पनि दिइएको थियो ।

२०३६ सालको शुरुदेखि नै विद्यार्थी आन्दोलन, शिक्षक आन्दोलन, राजनैतिक पार्टीसँग जोडिएका कर्मचारीका आन्दोलनले राजा वीरेन्द्रलाई २०३६ साल जेठ १० गते जनमत संग्रहको घोषणा गर्न बाध्य पा¥यो । २०३६ साल जेठ २ गते मकवानपुर जिल्ला हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयबाट शुरु भएको शिक्षकहरुको आन्दोलन संगठितरुपमा शुरु भयो । २०३६ साल जेठ ३१ गते काठमाण्डौमा गठन गरिएको अन्तर जिल्ला संघर्ष समितिको नेतृत्वमा भएको १० महिने लामो शिक्षक आन्दोलनका अगाडि तत्कालिन पंचायती शासन व्यवस्था झुक्न बाध्य भयो र २०३७ साल चैत्र २९ गते नेपाल राष्ट्रिय शिक्षक संगठनलाई औपचारिक मान्यता प्रदान गरी संगठनले उठाएका ६ बुँदे माग पूरा गर्न बाध्य भयो । त्यसपछि सबै जिल्लाहरुमा नेपाल राष्ट्रिय शिक्षक संगठनको अधिवेशन गरी जिल्ला संगठनको निर्वाचन हुन थाल्यो । २०३७ सालमा मोरङ्ग जिल्लामा पनि निर्वाचनको तयारी भयो । निर्वाचनमा दुई पेनलमा चुनाव भयो – एउटा पेनल बाम (कम्युनिष्ट) पक्ष र अर्को पेनल प्रजातान्त्रिक पक्ष (काँग्रेस) पक्ष भएर । बाम पक्षको नेतृत्व गरी म सचिवमा निर्वाचित भएँ भने बाम पक्षसहितको सहयोगमा प्रजातान्त्रिक पक्षका राजेन्द्र विरही अध्यक्षमा निर्वाचित भए । उपाध्यक्षमा पितकुमार श्रेष्ठ र सह सचिवमा दिनेश श्रेष्ठ अनि कोषाध्यक्षमा छत्रपति लुइटेल निर्वाचित भए । यो निर्वाचित संगठनले पनि शिक्षकका माग पूरा गराउन निरन्तर संघर्ष गर्नुप¥यो । संघर्षले सरकार झुक्यो र शिक्षकका केही माग पूरा ग¥यो । शिक्षकहरुको संचयकोष र पेन्सन पाउनुपर्ने मुख्य माग पूरा भयो । २०३८ सालमा भएको दोस्रो जिल्ला शिक्षक संगठनको निर्वाचनमा सबै पक्षको सहमतिमै अध्यक्षमा सत्यनारायण हाईस्कूलका विमलप्रसाद कोइराला (मातृकाप्रसाद कोइरालाको पुत्र) र सचिवमा डिल्लि पोख्रेल निर्वाचित भए । यसरी सहमतिमै एउटै संगठनको छातामा संगठन अगाडि बढ्यो ।

(प्रगतिवादी कथाकार श्री रोहित दहालद्वारा संकलित प्रकाशोन्मुख पुस्तक “दुर्गा प्रसाद दाहाल ः आत्मवृत्तान्त” बाट साभार अंश)
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर