लोकसेवाको र त्रिविको प्रवेश परीक्षा एउटै दिन राखिएकोमा अखिल क्रान्तिकारीको कडा आपत्ति
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले एमबीएस (MBS) तथा एमपीए (MPA) कार्यक्रमको प्रवेश परीक्षा लोक सेवा आयोगको शाखा अधिकृतस्तरको परीक्षासँगै एउटै दिन तोकेपछि अखिल (क्रान्तिकारी) ले कडा आपत्ति जनाएको छ ।
व्यवस्थापन संकायले आगामी २०८३ साल पुस २५ गते बिहान ८ बजे प्रवेश परीक्षा सञ्चालन गर्ने गरी सूचना प्रकाशित गरेको थियो । तर, सोही दिन लोक सेवा आयोगबाट शाखा अधिकृत वा सो सरह पदको लिखित परीक्षा पनि सञ्चालन हुने भएपछि संगठनले परीक्षा मिति तत्काल पुनर्निर्धारण गर्न माग गरेको हो ।
अखिल (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिका इन्चार्ज निरोज श्रेष्ठ ,संयोजक जनक ढुंगाना , स संयोजकहरु अर्जुन घर्ति मगर , सुदिप सिंखडा , सत्यम कुमार यादव , सदस्यहरु अनिल यादव , सदिक्षा सेजुवाल , जनप्रशासन क्याम्पसका स्ववियु सभापति अनिकेत तिवारी ,
लगायतले व्यवस्थापन संकायका स.डिनसमक्ष ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयको उक्त निर्णय विद्यार्थीको शैक्षिक तथा व्यावसायिक अधिकारमाथिको प्रत्यक्ष हस्तक्षेप भएको बताएका छन् ।
लोक सेवा आयोगको तयारी गरिरहेका हजारौँ विद्यार्थीले उच्च शिक्षालाई समेत निरन्तरता दिन चाहेको अवस्थामा एउटै दिन दुईवटा महत्त्वपूर्ण परीक्षा तोक्नु विद्यार्थीमाथिको अन्याय भएको संगठनको ठहर छ । यस्तो निर्णय कुनै पनि हिसाबले विद्यार्थीमैत्री हुन नसक्ने उनीहरूको भनाइ छ ।
ज्ञापनपत्रमा देशकै ठूलो र पुरानो विश्वविद्यालयले राष्ट्रिय स्तरका सार्वजनिक परीक्षाको कार्यतालिकासँग सामान्य समन्वयसमेत नगर्नु गैरजिम्मेवार र असंवेदनशील कदम भएको उल्लेख गरिएको छ ।
अखिल (क्रान्तिकारी) ले व्यवस्थापन संकायसमक्ष तीनबुँदे माग अघि सारेको छ ।
संगठनले एमबीएस तथा एमपीए प्रवेश परीक्षाको मिति तत्काल पुनर्निर्धारण गर्न, लोक सेवा आयोगको पूर्वनिर्धारित परीक्षा तालिकासँग नजुध्ने गरी नयाँ मिति सार्वजनिक गर्न र आगामी दिनमा विश्वविद्यालयका परीक्षा तालिका निर्धारण गर्दा लोक सेवा आयोगलगायत राष्ट्रिय स्तरका सार्वजनिक परीक्षासँग अनिवार्य समन्वय गर्ने व्यवस्था गर्न माग गरेको छ ।
मागप्रति बेवास्ता गरिए त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी व्यवस्थापन संकायले नै लिनुपर्ने संगठनले चेतावनी दिएको छ । विद्यार्थीको शैक्षिक अधिकार र समान अवसरको पक्षमा चरणबद्ध संघर्षका कार्यक्रम अघि बढाउन बाध्य हुने इन्चार्ज निरोज श्रेष्ठ र संयोजक जनक ढुंगानाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ ।
विद्यार्थीको भविष्यसँग जोडिएको यस गम्भीर विषयमा तत्काल सकारात्मक निर्णय लिन माग गर्दै अखिल (क्रान्तिकारी) ले प्रवेश परीक्षाको मिति पुनर्निर्धारण नगरिए आन्दोलनमा उत्रिने स्पष्ट चेतावनी दिएको छ ।




2026-11-20-01-22-51.jpeg)


प्रतिकृया दिनुहोस