सरकारले सुकुमबासीकाे खाना–खजा राेकेपछि थाल ठटाउँदै विरोध
भक्तपुर । स्थानीय प्रशासनले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि भक्तपुर बोडेका सुकुमबासीहरुले थाल ठटाएर विरोध गरिरहेका छन्।
प्रशासनले २ बजेसम्ममा स्थान छाड्न निर्देशन दिएपछि उनीहरूले थाल ठटाएर विरोध प्रदर्शन गरेका हुन्।
सुकुमबासीहरुको प्रदर्शनपछि बोडेमा प्रहरी टोली परिचालन गरिएको छ।
सरकारले सूचना नै जारी गरी शुक्रबारदेखि होल्डिङ सेन्टर खाली गर्न भनेको थियो।
खाना पनि रोकिएपछि शुक्रबार केही परिवारले आफैं व्यवस्था गरेर खाएका छन् भने केही भोकै बसेका छन्। खानाको व्यवस्था नभएपछि त्यहाँका बालबालिकासमेत शुक्रबार विद्यालय जान पाएनन्।
होल्डिङ सेन्टरमा विद्यालय जाने उमेरका ११ जना बालबालिका रहेकामा तीन जना मात्रै विद्यालय गएको कृष्णमाया राइगाइले बताइन्। बाँकी आठ जना भने विद्यालय जान पनि पाएनन्।
‘निकाल्ने भन्ने त्रासले नातानातिनीलाई स्कुल पठाउन पाइएन। यहाँ ११ जना स्कुल जाने बालबालिका छन्। तीन जना गएका छन्, आठ जना जानै पाएनन्। भोकै पठाउन पनि सकिएन,’ उनले भनिन्।
होल्डिङ सेन्टरमा बसिरहेका सुमन चौधरीले पनि सरकारले खाना रोकिदिएको बताए।
‘कसैले आफै व्यवस्थापन गरे। कोही भोकै छन्,’ उनले भने।
काठमाडौं उपत्यकाका नदी किनारका बस्तीबाट हटाइएका परिवारलाई बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राखिएको थियो।





.2026-11-23-01-13-28.jpeg)

प्रतिकृया दिनुहोस