• २०८३ मङ्सिर १३ आइतबार
  • Sunday, 29 November, 2026

कांग्रेसमा रुख र झण्डको लफडा सुरुः प्रयोग गरे देउवा पक्षलाई कारबाही गर्ने संस्थापनको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको नाम, झन्डा, चुनाव चिह्न र लेटरप्याड प्रयोग गरी समानान्तर गतिविधि सञ्चालन गरेको भन्दै त्यसलाई रोक्न निर्वाचन आयोग जाने निर्णय गरेको छ । 

सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले पार्टीका आधिकारिक प्रतीक र पहिचान अनधिकृत रूपमा प्रयोग नगर्न सम्बन्धित पक्षलाई आग्रह गर्दै त्यस्ता गतिविधि नरोकिए कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

देउवा पक्षले भने मंसिर २१ देखि २३ सम्म काठमाडौंमा समानान्तर महाधिवेशन गर्ने तयारी गरिरहेका बेला कांग्रेसको यो निर्णय आएको हो ।

पार्टीको १५औं नियमित महाधिवेशन असोज १८ देखि २३ सम्म सम्पन्न भई गगन थापाको सभापतित्वमा २ सय ३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको र त्यसको विवरण निर्वाचन आयोगबाट अद्यावधिक भइसकेको छ । देउवा पक्षले चार तारा झन्डा र रुख चुनाव चिह्न प्रयोग गरेर समानान्तर महाधिवेशन गर्न लागिरहेकाले त्यसलाई रोक्न कांग्रेसले निर्वाचन आयोगमा उजुरी गर्ने जनाएको छ । 

महामन्त्री प्रदीप पौडेलले पार्टीको नाम, लेटरप्याड, ब्यानर, चारतारे झन्डा र चुनाव चिह्न रुख अनधिकृत रूपमा प्रयोग गरेर गतिविधि सञ्चालन भइरहेको भन्दै त्यसले पार्टीको वैधानिक पहिचान र आम नागरिकमा भ्रम सिर्जना गरेकाले आवश्यक कानुनी उपचारसमेत खोजिने बताए । ‘नेपाली कांग्रेसको नाम, लेटरप्याड, झन्डा, चुनाव चिह्न, छाप तथा अन्य आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरी कुनै पनि गतिविधि सञ्चालन नगर्न, नगराउन तथा अनधिकृत गतिविधिलाई आधिकारिक गतिविधिका रूपमा प्रस्तुत वा प्रचारप्रसार नगर्न केन्द्रीय कार्यसमिति सम्बन्धित सबैलाई आग्रह गर्दछ,’ चार दिनसम्म चलेको कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय शनिबार सार्वजनिक गर्दै पौडेलले भने । 

कांग्रेसले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ९  अनुसार पार्टीको झन्डा र चुनाव चिह्न संरक्षण गर्न आयोगमा समेत उजुरी दिने जनाएको छ । उक्त दफामा दलको नाम, झन्डा र चिन्न अरू कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण गरिने व्यवस्था उल्लेख छ । 

पूर्वसभापति देउवा पक्षले भने निर्वाचन आयोगबाट थापा नेतृत्वको कार्यसमिति अद्यावधिक भए पनि आफूहरू नै १४औं महाधिवेशनबाट निर्वाचित आधिकारिक कार्यसमिति भएको दाबी गर्दै आएको छ ।उसले मंसिर २१ देखि २३ सम्म काठमाडौंमा समानान्तर महाधिवेशन गर्ने तयारीलाई निरन्तरता दिएको छ । वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेश अधिवेशन गरिरहेको देउवा पक्षले पार्टीको झन्डा र चुनाव चिह्न प्रयोग गरिने बताएको छ । 

शनिबार पत्रकार सम्मेलनमा देउवा पक्षीय नेता प्रकाशरण महतले कांग्रेसको नाम, झन्डा र चुनाव चिह्न प्रयोग गर्न आफूहरूलाई कसैले रोक्न नसक्ने चेतावनी दिएका थिए । १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक भएको दाबी उनले गरेका छन् । ‘हामी नै आधिकारिक कांग्रेस हौं, हामीलाई कांग्रेसको झन्डा र चुनाव चिह्नमा रोक्न कसैले सक्दैन,’ उनले भने, ‘१४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक हो । त्यसको नेतृत्व र कार्यसमिति हामीसँगै छ, हाम्रो उद्देश्य एकीकृत पार्टी बनाउने हो । बहकिनुभएका साथीहरूलाई पनि यो महाधिवेशनमा सहभागी हुन आग्रह गर्छौं ।’ 

बैठकपछि निर्णय सार्वजनिक गर्दै कांग्रेसले सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै संविधान, विधिको शासन, आर्थिक अवस्था र नागरिकका जनजीविकासँग जोडिएका विषयमा सरकारलाई खबरदारी गर्ने निर्णय लिएको हो । सरकारले संविधानको मर्म, भावना र लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्धता देखाउन नसकेको कांग्रेसको निष्कर्ष छ । शक्ति पृथकीकरण, संसदीय अभ्यास, संवैधानिक निकायको स्वायत्तता र विधिको शासन कमजोर पार्ने गतिविधि भएको भन्दै सरकारलाई सचेत गराउने निर्णय लिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर