चार लघुवित्तमा कसको वित्तीय अवस्था कस्तो ?

काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनाको अवधि समाप्त भएसँगै बैंक तथा वित्तीय संस्थाहरु यो अवधिको आफ्नो वित्तीय स्थिती सार्वजानिक गर्ने तरखरमा रहेका छन् । यस्तैमा हालसम्म चार लघुवित्त कम्पनीले चालू आर्थिक वर्षको चैतसम्मको वित्तीय विवरण सार्वजानिक गरेका छन् । 
वित्तीय विवरण सार्वजानिक गर्नेमा फस्र्ट माइक्रोफाइनान्स वित्तीय संस्था, स्पर्श लघुवित्त वित्तीय संस्था, चौतारी लघुवित्त वित्तीय संस्था र लक्ष्मी लघुवित्त वित्तीय संस्था रहेका छन् ।  

फस्र्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरण सार्वजानिक गरेको छ । सार्वजानिक विवरण अनुसार लघुवित्तले नौ करोड १८ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा लघुवित्तले नाफा २५ दशमलव ७६ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा लघुवित्तले ७ करोड ३० लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।  

माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी झण्डै २१ प्रतिशतले बढेको भने सञ्चालन मुनाफा पनि २५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।  । गत वर्ष १२ करोड ३ लाख २ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फस्र्ट माइक्रोफाइनान्सले यो अवधिमा नाफा बढाएर १४ करोड ४९ लाख ७४ हजार रुपैयाँ पुर्याएको छ ।  यो अवधिमा ११ करोड ४८ लाख ३० हजार रुपैयाँ सञ्चालन नाफा गरेको लघुवित्तले  १४ करोड ४४ लाख ३ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । 

२० प्रतिशतले पूँजी वृद्धिको गरेको लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको देखिन्छ ।  गतवर्षको यो अवधिमा ५६ करोड ७७ लाख ८५ हजार रुपैयाँ चुक्तापूँजी रहेको लघुवित्तको चुक्तापूँजी हाल ६८ करोड ४३ लाख ९४ हजार रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ९० पैसा, मुल्य आम्दानी अनुपात (पिइ रेसियो) २१.३९ गुणा र नेटवर्थ १२७ रुपैयाँ ६५ पैसा  रहेको छ । मंगलबार प्रकाशित विवरण अनुसार लघुवित्तले १८ करोड ९२ लाख रुपैयाँ जगेडा कोषमा सञ्चित गरेको छ ।

केही दिन पहिले मात्रै साधारण सेयर निष्काशन गरी बाँडफाँड समेत गरिसकेको स्पर्श लघुवित्त वित्तीय संस्थाले पनि यो अवधिमा नाफा उल्लेख्य बढाएको छ । मंगलबार प्रकाशित विवरण अनुसार लघुवित्तले खुद नाफा ६० लाख ३९ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको यसै अवधिमा स्पर्श लघुवित्त ५६ लाख १४ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । 

गत वर्ष यो अवधिमा ४६ लाख ४२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको स्पर्श लघुवित्तले यो अवधिमा ३८३ प्रतिशतले ब्याज आम्दानी बढाएर २ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै गतवर्ष ५६ लाख १४ हजार रुपैयाँ सञ्चालन नोक्सानीमा लघुवित्तले हाल ८४ लाख ६७ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।

आइपीओ बिक्री प्रश्चात ८ करोड २९ लाख ६३ हजार रुपैयाँ चुक्ता पूँजी पुर्याएको लघुवित्तको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७१ पैसा रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ५४ पैसा रहेको छ ।

चौतारी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको रिपोर्ट सार्वजानिक गरेको छ । सार्वजानिक रिपोर्ट अनुसार यो अवधिमा कम्पनीको नाफा १८४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा चौतारीले  १ करोड ८५ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गतवर्षको सो अवधिको तुलनामा १८४ दशमलव १३५ ले बढी हो । गत वर्ष चौतारीले ६५ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

समिक्षा अवधिमा कम्पनीले खुद ब्याज आम्दानी र सञ्चालन नाफा उल्लेख्य बढाएको छ । गत वर्ष को यो अवधिमा ३ करोड ४३ लाख ४६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको चौतारीले चालू आवको तेस्रो त्रैमासमा ६ करोड ३९ लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै सञ्चालन नाफा १ करोड २ लाख ८० हजार रुपैयाँबाट बढाएर १ करोड ५७ लाख ९६ हजार रुपैयाँ पुर्याएको छ ।  कम्पनीको  प्रतिसेयर आम्दानी १३ रुपैयाँ ३३ पैसा (वार्षिक) रहेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ०४ पैसा र चुक्ता पुँजी १८ करोड ६० लाख रुपैयाँ रहेको छ ।

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड ९१ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा कम्पनीको १८.८५ प्रतिशतले बढी हो । धेरै गत वर्ष लक्ष्मी लघुवित्तले ६ करोड ६६ लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अवधिमा लघुवित्तले खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढाएको छ । कम्पनीले खुद ब्याज आम्दानी २१.६८ प्रतिशत र सञ्चालन मुनाफा १९.५७ प्रतिशत बढाएको छ । गतवर्षको यसै अवधिमा १७ करोड ६० लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तले हाल २१ करोड ४२ लाख ६१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । त्यस्तै सञ्चालन नाफा१० करोड २४ लाख ४८ हजार रुपैयाँबाट बढाएर १२ करोड २५ लाख १ हजार रुपैयाँ पुर्याएको छ । 

चुक्ता पुँजी २४ करोड २० लाख रुपैयाँ रहेको लक्ष्मी लघुवित्तले एक अर्ब १८ करोड ३९ लाखरुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ३७ करोड २ लाख रुपैयाँ कर्जा लगानी गरेको देखिन्छ । कम्पनीको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ६१ पैसा (वार्षिक), प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ३१ पैसा र प्रति मूल्य आम्दानी अनुपात १७.६६ गुणा कायम छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर