'मिथिला संस्कृतिको धरोहर' रसन चौकी हराए, ब्याण्ड बाजा आए
जयन्त ठाकुर मिथिलाको लोकबाजाको रुपमा रहेको रसनचौकी बजाउन युवाहरु आकर्षित नभएपछि लोपोन्मुख अवस्थामा पुगेको छ । रसन चौकी बजाउनेहरुको आम्दानी राम्रो नभए पछि मिथिलाको यो लोक वाद्यययन्त्र लोपोन्मुख अवस्थामा पुगेको हो ।
मिथिलामा बिहे, व्रतबन्ध, मुण्डन लगायत दशैँ सहितको पर्वमा रसन चौकी वाद्ययन्त्र बजाउने परम्परा रहेको थियो । अचेल त्यस्ता कामहरुमा ब्याण्ड बाजाले स्थान ओगटेका छन् ।
रसन चौकी बजाउने कलाकारहरु समेत अचेल आधुनिक बाजामा आकर्षित हुँदै गएका छन् ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ धीरेन्द्र प्रेमर्षिले मिथिलाका यी लोकबाजाहरुलाई जातियतासंग जोडिएको हुनाले युवाहरुमा रसन चौकी, पिपही, दुग्गी, तासा, ढोल लगायतका लोकबाजाप्रति युवाहरुमा वितृष्णा जागेको बताए ।
जबकि मिथिलाको संगीत विधालाई अगाडी बढाउनमा उच्चजातीका घरानाहरुकै योगदान रहेको उनको भनाई छ । प्रेमर्षिका अनुसार मिथिलामा वाद्ययन्त्र बजाउनु तथा संगीत विधालाई सम्मानित विधाको रुपमा लिइन्थ्यो । तर कलान्तरमा गएर यो पेशालाई जातियता संग मात्रै जोडिएपछि लोक वाद्ययन्त्रहरुको दुर्दशा सुरु भयो ।
मिथिला क्षेत्रमा रसन चौकी, पिपही, दुग्गी, तासा, ढोल लगायतका वाद्ययन्त्रहरु चमार जातिले बजाउने गर्छन् । वाद्ययन्त्र बजाउने पेशालाई तल्लो स्तरमा राखेर हेर्न थालिएपनि बजनाउनेहरुमा पनि हिनताको भावना पैदा भएको छ । जसका कारण चमार जातिका युवाहरु समेत अन्य पेशामा रमाउन थालेका छन् ।
लोक बाजा बजाउँदै आएका विनोद रामले मनोरञ्जनका लागि मात्रै अब रसन चौकी बजाउने गरेको बताए । उनले रसन चौकी बजाएर जिविका नचल्ने भएपछि बाध्यतावश आधुनिक बाजागाज बजाउनु परेको बताए ।
अर्का रसन चौकी बजाउने देवेन्द्र महराले गाउँमा रहेको मिथिला विहारी मन्दिरमा मात्रै बेलुका आरतीको बेला रसन चौकी बजाउने गरेको बताए । उनले रसन चौकी बजाएर जिविका चलाउने उपाय नभएपछि जहाँ बाट पैसा आउँछ परिवार चलाउन त्यही काम गर्ने गरेको बताए ।
रसन चौकी लगायतका वाद्ययन्त्रलाई पुनर्जीवित पार्नका लागि युवाहरुलाई अगाडी आउनु आवश्यक रहेको प्राज्ञ प्रेमर्षिले बताए । उनले जातीय विभाजनलाई त्यागेर युवाहरुले ब्याण्ड निर्माण गरी मिथिलाको लोक बाजा सहित लोकगीतहरुको संरक्षण तर्फ अगाडी आए मात्रै यसको संरक्षण गर्न सकिने बताए ।



2026-10-26-01-07-45.jpeg)



प्रतिकृया दिनुहोस