• २०८१ बैशाख २० बिहीबार
  • Thursday, 2 May, 2024

नेपालको स्याटेलाइट ‘नेपालीस्याट–१’ ले पृथ्वीको परिक्रमा सुरु गर्यो

तस्विर : वेब

काठमाडौं। गत वैशाख ५मा अमेरिकाबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको नानो स्याटेलाइटले सफलतापूर्वक पृथ्वीको परिक्रमा सुरु गरेको छ । सोमबार अपरान्ह  ४ बजेर १९ मिनेटबाट सो नानो स्याटेलाइट ‘नेपालीस्याट–१’ अन्तरिक्षमा रिलिज हुँदै पृथ्वीको वरपर घुम्न सुरु गरेको हो ।

जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टीच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थीले तयार गरेको यो स्याटेलाइट वैशाख ५ राति २ बजेर ३१ मिनेटमा प्रक्षेपण गरिएको थियो । अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट जापान र श्रीलंकाका नानो स्याटेलाइटँगै नेपालको स्याटेलाइट प्रक्षेपण भएको थियो ।

स्पेश इन्जिनियरिङको पीएचडीका विद्यार्थी आभाष मास्के र स्नातकोत्तर तहका विद्यार्थी हरिराम श्रेष्ठले तयार गरेको ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाइएको हो । यो स्याटेलाइट १० सेन्टिमिटर लम्बाई, चौडाई र उचाई भएको  छ । स्याटेलाइटमा नेपालको झण्डा छ भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको लोगोसहित विद्यार्थीहरुको नाम पनि छ ।

यो एक किलो तीन सय ग्राम तौलको छ । यसमा सरकारले एक करोड ८२ लाख रुपैयाँ खर्चेको छ । अन्तरिक्षमा रिलिज भएपछि यसले अन्तरिक्षबाट तस्वीरसहितका डाटाहरु पठाउन थाल्नेछ । यसले मौसमी सूचनाहरु पनि दिन सक्छ ।

स्याटेलाइट अन्तरिक्षमा पुगेपछि नेपालले पनि अध्ययन अनुसन्धान थाल्न सक्ने दावी सरकारी अधिकारीहरुको छ । स्पेश इन्जिनियरिङको अध्ययन गर्ने विद्यार्थीलाई  पनि यसले निकै सहयोग पुग्नेछ । उनीहरूलाई नेपालमै बसेर स्पेशबारे जानकारी लिने अवसर मिल्नेछ । यो स्याटेलाइटबाट नेपालले भविष्यमा पठाउने ठूलो स्याटेलाइटको सञ्चालन कसरी गर्न सकिन्छ भनेर अनुभव पनि प्रदान गर्ने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को भनाइ छ ।

यो स्याटेलाइट पठाउन लागेको खर्च सरकारले नै ब्यहोरेको छ । नेपाली स्याटेलाइट–वानले प्रत्येक ९० मिनेटमा पृथ्वीको एक चक्कर लगाउनेछ । दिनमा १६ पटक पृथ्वीमा चक्कर लगाउँदा यो चारपटक नेपालको आकाशमा आउनेछ ।

भविष्यमा नेपालले ठूला क्षमताका आफ्नै भूउपग्रह पठाउने गरी बनाएका योजनामा पनि यसले सहयोग पुग्ने दावी गरिएको छ । यो भूउपग्रको प्रक्षेपणपछि नेपाली इन्जिनियरहरुको क्षमता पनि विकास हुने र त्यसले राष्ट्रलाई नै लाभ दिने नाष्टको भनाइ छ ।

‘नेपाली स्याट–१’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिएको छ । नाष्टका अनुसार स्याटेलाइट पृथ्वीको सतहबाट ४ सय किलोमिटर उचाइमा रहेको पृथ्वीलाई परिक्रमा गर्ने तल्लो कक्षमा अवस्थित अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिएको छ ।

गत वैशाख ५ गते नेपाली समय अनुसार बिहान २ बजेर ३१ मिनेट जाँदा अमेरिकाको भर्जिनियास्थित नासाको रकेट प्रक्षेपण केन्द्रबाट अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि पठाइएको थियो । सो स्याटलाइट ३६ घण्टा ४० मिनेटपछि वैशाख ६ गते नेपाली समय अनुसार दिउँसो ३ बजेर १३ मिनेट जाँदा अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिन सफल भएको नाष्टका प्रवक्ता सुरेशकुमार ढुंगेलले जानकारी दिए ।

विपद् व्यवस्थापन, ग्रामीण भेगमा सूचना प्रविधिको विकासका समेत उपयोगी हुने भएपछि नेपालले आफ्नै स्याटेलाइट अन्तरिक्षमा पठाएको हो । अहिलेको स्याटेलाइटको क्षमता कम भएकाले यी सबै काम नगर्ने भए पनि भविष्यमा क्षमता बढाउने बाटो खुलेको ढुंगेलले बताए । नाष्टका प्रवक्ता ढुंगेलले नेपालको भौगोलिक अवस्थाको विषय र वन जंगलको अवस्थाको विषयमा स्याटेलाईटले फोटो लिएर पठाउने विश्वास गरिएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर