तिलोत्तमाको बजेट एक अर्ब ५४ करोड

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को लागि एक अर्ब ५४ करोड रुपैंयाँको बजेट प्रस्तुत गरेको छ । पाँचौं नगरसभाको मंगलबार बसेको दोस्रो बैठकमा नगर उप–प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक जागेश्वरी चौधरीले एक अर्ब ५४ करोड ३९ लाख १० हजार रुपैंयाँको बजेट प्रस्तुत गरिन । 

आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेट चालु आर्थिक वर्षको भन्दा झण्डै १९ करोड बढी छ । आर्थिक वर्ष २०७५÷७६ मा तिलोत्तमाले एक अर्ब ३५ करोडको बजेट ल्याएको थियो । उप–प्रमुख चौधरीले प्रस्तुत गरेको बजेटमा चालू खर्चतर्फ ५३ करोड ३९ लाख अर्थात् ३४ दशमलव ५९ प्रतिशत र पूँजीगत खर्चतर्फ एक अर्ब ९९ लाख ४० हजार अर्थात् ६५ दशमलव ४१ प्रतिशत रुपैंयाँ विनियोजन गरिएको छ । यसअघि नगर प्रमुख बासुदेव घिमिरेले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा आधारित रहेर बजेट निर्माण गरिएको हो ।

बजेट प्रस्तुत गर्दै उप–प्रमुख चौधरीले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिएको बजेटको मुख्य उद्देश्य “समृद्ध नगर ः खुसी नगरबासी” रहेको बताइन । बजेटमा आम्दानी स्रोतको रुपमा आन्तरिक राजस्वबाट ५० करोड १२ लाख ७० हजार, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ७६ लाख, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत् २ करोड ५० लाख, गत वर्षको मौज्दात १ करोड रहेको छ । 

शिक्षातर्फ सबैभन्दा बढी अर्थात् ३१ करोड ६६ लाख २७ हजार विनियोजन गरिएको छ । यसमा शिक्षक, कर्मचारीहरुको तलबका अतिरिक्त सामुदायिक विद्यालयहरुको भवन तथा पूर्वाधार निर्माणमा ६ करोड, दिवा खाजा, यातायातलगायत विभिन्न शीर्षकमा रकम विनियोजन गरिएको छ ।

यसैगरी स्वास्थ्यतर्फ ५ करोड ३३ लाख ७६ हजार, कृषि, पशुपालन र सिंचाईतर्फ ७ करोड २७ लाख ५७ हजार रकम विनियोजन गरिएको छ । नगर क्षेत्रभित्रका जीर्ण सडकको मर्मतसम्भार तथा स्तरोन्नती, गत वर्ष पुरा हुन नसकेका अधुरा सडक निर्माण, नाली तथा ढल निर्माणलगायत पूर्वाधार विकासका लागि ३६ करोड ८६ लाख ६५ हजार विनियोजन गरिएको छ ।

तिलोत्तमा उद्योगग्राम, तिलोत्तमा कोशेली घर, सीपमूलक तालिम संचालन समेतका कार्यक्रम कार्यान्वयन गर्न १ करोड १२ लाख रकम विनियोजन गरिएको छ । यसैगरी वन, वातावरण, हरियाली प्रवद्र्धनमा ४ करोेड १५ लाख, खेलकुद र युवा तर्फ १ करोड ९७ लाख ३० हजार रकम विनियोजन गरिएको छ । 

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणतर्फ १७ करोड ८७ लाख रकम छुट्टाएको तिलोत्तमा नगरपालिकाले खानेपानी तथा सरसफाईमा ६८ लाख, फोहोरमैला व्यवस्थापनमा ५० लाख रकम विनियोजन गरेको छ । नगरस्तरीय योजना बाहेक जनसंख्या, क्षेत्रफल, खर्चको आवश्यकता, राजस्व परिचालन क्षमता समेतलाई दृष्टिगत गरी प्रत्येक वडालाई बजेट विनियोजन गरिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर