• २०८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024

को हुन् मन्त्री योगेश भट्टराई ? (जीवनी)

काठमाडौं । ताप्लेजुङले जन्माएको नेता हो योगेश भट्टराई । ताप्लेजुङ अर्थात् नेपालमै पहिले घाम झुल्किने जिल्ला । ताप्लेजुङमा २०७६ साउन १५ गते अर्थात् आज अपराह्न फेरि घाम झुल्किएकाे छ । ताप्लेजुङले आफ्नाे नेता याेगेशलाई मन्त्रीकाे रूपमा आजैदेखि पाएकाे छ । भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका छन् । 

तर, ताप्लेजेङ राजनीतिक रूपमा ओझेलमै रहयो । राष्ट्रिय राजनीति र विकास निर्माणका दृष्टिकोणले यसको आकाशमा पारिलो घाम उदाउन सकेन । विगत हेर्ने हो भने देशको नीतिगत र निर्णायक तहमा ताप्लेजुङको बलियो र प्रभावशाली उपस्थिति भएन ।

ताप्लेजुङको एउटा दुर्गम गाउँमा जन्मेर अनेकौं सामाजिक, राजनीतिक तथा सांस्कृतिक अप्ठ्यारासँग जुध्दै अघि बढेको तत्कासmन एमालेका एक इमानदार नेता हुन् योगेश । उनको प्रशंसा आफ्नो पार्टीमा मात्रै होइन, अरू पार्टीका नेता–कार्यकर्ताले समेत गर्ने गर्दछन् ।

समाजसेवी बाबुका जनतासेवी छोरा

योगेश भट्टराई २०२३ भदौ २१ गते ताप्लेजुङको साँघु (मैवाखोला गाउँपालिका–३) मा आमा महेन्द्रादेवी र बुबा स्व. भीमलालका कान्छा छोराका रूपमा जन्मिएका हुन् । उनको परिवार मध्यमवर्गीय थियो । तीन दिदी, एक दाजु र एक बहिनी । उनी दुुई वर्षको छँदा नै बुबा दिवंगत भए । 

भट्टराईका बुबा समाजसेवी थिए, जसको प्रभाव गाँउ छिमेकमा राम्रो परेको थियो । ठूलो भएपछि नेता भट्टराईमा पनि त्यसको प्रभाव देखियो । योगेशले २०५१ सालमा ताप्लेजुङ ढुंगेसाँघु निवासी विन्दा घिमिरेसँग विवाह गरे ।  

मादीको हडतालदेखि केन्द्रीय कारागारसम्म

साँघुकै (मैवाखोला गाउँपालिका) नारायणी निमाविमा कक्षा ७ सम्मको पढाइ सकेर माध्यमिक शिक्षाका लागि योगेश संखुवासभाको मादी माविमा भर्ना भए ।  जहाँ पुग्न गाउँबाट दुई दिनको पैदलयात्रा गर्नुपर्थ्याे । गाउँमा माध्यमिक विद्यालय नभएका कारण २०३७ सालमा उनी मादी पुगेका थिए । 

२०३६ सालको विद्यार्थी आन्दोलनको रापताप विस्तारै गाउँसम्म फैलिँदै थियो । गाउँसम्म अनेरास्ववियुको चर्चा हुँदै थियो । पञ्चायती व्यवस्थाविरुद्ध गाउँगाउँबाट उठ्नुपर्ने सन्देश मादीसम्म त्यतिबेला पुगिसकेको थियो । पञ्चायती व्यवस्थाविरुद्ध २०३७ चैत १४ मा पहिलोपटक अनेरास्ववियुले हामहडताल गर्योे । नेपालकै पहिलो ऐतिहासिक हडताल सफल पार्न उहाँ सक्रिय रूपमा सहभागी हुनुभयो ।

संगठित हिसाबले उनको राजनीतिक यात्राको आरम्भ पनि त्यही थियो । उनी सम्झन्छन्, ‘आमहडताल भनेपछि अनिश्चितकालका लागि होला भनेर हामीले २० दिनसम्म माविमा हडताल गर्यौं ।’ स्वविवेकले आन्दोलनमा होमिएका योगशले स्कुले जीवनपछि भने ताप्लेजुङका अगुवा शिक्षकहरू डिल्ली घिमिरे, हरि घिमिरे, बोलिनन्द फागोबाट राजनीतिक सम्पर्क र शिक्षा पाए ।

एसएलसीपछि उच्च शिक्षाका लागि २०४० सालमा राजधानीको ताहाचलस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा भर्ना भए । पञ्चायती व्यवस्थाविरोधी आन्दोलनका क्रममा (विषाक्त दूधका विरुद्धको आन्दोलन) १८ वर्षको उमेरमा नै पहिलोपटक काठमाडौंको केन्द्रीय कारागारमा थुनिन पुगे ।

सरल, सक्रिय, स्पष्ट र जुझारु स्वभावका कारण महेन्द्ररत्न क्याम्पसको नेतृत्व लिन उनलाई धेरै समय लागेन । छोटो समयमै क्याम्पसमा लोकप्रिय र जुझारू नेताका रूपमा स्थापित भए ।

२०४१ सालमा महेन्द्ररत्न क्याम्पसको स्ववियु निर्वाचनमा उपसभापति र २०४३ सालमा सभापति पदमा अत्यधिक मतले विजयी भए । देशभरिका हजारौं विद्यार्थीको उपस्थिति रहेको त्यो मञ्चमार्फत उनको राजनीतिक यात्राले एउटा उचाइ प्राप्त गरिसकेको थियो । 

पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध दृढतापूर्वक अघि बढ्दै जाँदा उनले थुप्रैपटक जेलनेल र कठोर यातना भोग्नुपर्यो । जेल बसाइका बेला झापा संघर्षका चर्चित अगुवाहरू वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, आरके मैनाली, मोहनचन्द्र अधिकारीलगायत राजनीतिक बन्दीहरूसँग नजिकबाट अन्तर्क्रिया गर्ने अवसर पाउनु उनका लागि एउटा गज्जबको अवसर बन्यो  ।  जसबाट उनमा राजनीतिक निखार आयो ।

यही क्रममा योगेशले अनेरास्ववियुको काठमाडौं जिल्ला कमिटीको सदस्य तथा बाग्मती अञ्चल कमिटीको सचिवको जिम्मेवारी संगै आफ्नो पढाइलाई पनि निरन्तरता दिए । त्यहीबीचमा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र/मानवशास्त्रमा स्नातकोत्तर गरे  ।

जनआन्दोलनका जुझारु नेता

योगेश २०४६ सालको जनआन्दोलनमा सक्रिय रूपमा सहभागी भए। बसाइ त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित होस्टलमा थियो । त्यसबेला उनको जिम्मेवारी अखिलको केन्द्रीय सदस्यका रूपमा थियो । जनआन्दोलनका लागि अखिल र नेविसंघबाट समन्वय गर्ने समिति थियो । त्यो महत्त्वपूर्ण समितिमा अखिलका तर्फबाट समन्वयको जिम्मेवारी योगेशलाई दिइएको थियो । 

सुरुमा कांग्रेस र वामपन्थीको सहकार्य थिएन । उनकै पहलकदमीबाट विद्यार्थीहरूले सहकार्यको सुरुवात गरे । नारा तय भयो– आजको आवश्यकता संयुक्त संघर्ष, प्रजातन्त्रका निम्ति पञ्चायतको अन्त्य । २०४६ फागुन ७ गते काठमाडौंको नयाँ सडकमा प्रदर्शन गर्ने कार्यक्रम थियो । उपत्यकाको कमान्डरका हिसाबले त्यसको व्यापक तयारीमा थिए योगेश । तर, ६ गते राति २ बजे उनलाई पक्राउ गरियो ।

याेगेशलाइ केही दिनपछि सिन्धुुपाल्चोकको चौतारामा लगेर राखियो । प्रजातन्त्र आएपछि मात्र उनलाई छाडियो । पञ्चायतले चुनौतीका रूपमा राखेको विद्यार्थी नेता भएकै कारण आन्दोलनको सुरुमै पक्राउ गरिएको थियो ।

उनी सम्झन्छन्, ‘२६ गते राति हामीलाई पनि जेलबाट छोडियो । भोलिपल्ट हामीलाई बिहानै गाडीबाट काठमाडौं ल्याइयो । चौताराबाट आउँदा बाटैभरि रमाइला दृश्यहरू थिए । दोलालघाटमा धेरै मान्छेहरू रातो झन्डा बोकेर नाचगान गरिरहेका थिए । पहिलोपटक त्यति धेरै मानिसले कम्युनिस्टको झन्डा बोकेर निस्किएको देख्दा असाध्यै खुसी लाग्यो । हामी सिधै खुलामञ्च गयौं । खुलामञ्चमा मनमोहन अधिकारी, गणेशमान सिंह, झलनाथ खनाल, कृष्णप्रसाद भट्टराई, साहना प्रधान, गिरिजाप्रसाद कोइरालालगायतले बोल्नुभयो । प्रजातन्त्र आएको त्यो दिन हर्ष र गौरवको दिन थियो ।’

सडकदेखि अनेरास्ववियुको केन्द्रीय अध्यक्षसम्म

२०४६ सालदेखि अनेरास्ववियुको केन्द्रीय कमिटीमा काम गरेका योगेश संगठनको कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै २०५१ देखि २०५६ सालसम्म अध्यक्ष भए । बहुदलीय व्यवस्था आइसकेपछि पनि गरिएका जनघाती तथा राष्ट्रघाती कदमका विरुद्ध काठमाडौं उपत्यकामा भएका सडक संघर्षहरूको उनले नेतृत्व गरे ।

जननेता मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय हत्याविरुद्धको आन्दोलनमा अगुवाइ उननै गरेका थिए । यस्तै, अनेक आन्दोलनबाट खारिँदै, माझिँदै युवा जोस र उत्साहका साथ अघि बढिरहेका योगेशले खासगरी २०५०/५१ सालतिर शिथिल भएको नेपाली विद्यार्थी आन्दोलनलाई नेपाली समाजमा पुनःस्थापित गराउन महत्त्वपूर्ण भूमिका खेले ।

अखिल (अनेरास्ववियु) लाई नेपाली कम्युनिस्ट आन्दोलनको सफलताको संवाहक शक्तिका रूपमा स्थापित गर्न उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरे । मुलुकमा राष्ट्रवादी आन्दोलनको अगुवा शक्तिका रूपमा विद्यार्थी संगठनलाई स्थापित गराए  ।

योगेश अनेरास्ववियुको अध्यक्ष भएका बेला सबैभन्दा बढी ७३ प्रतिशत क्याम्पसका स्ववियुमा अखिलले ऐतिहासिक सफलता हासिल गरेको थियो । उनी भन्छन्,  ‘हाम्रो पालामा पहिलोपटक ७३ प्रतिशत कलेजमा स्वावियु चुनाव जित्यौं ।

विद्यार्थी आन्दोलनलाई शैक्षिक ऐजेन्डातिर केन्द्रित गर्यौं ।’ विद्यार्थीलाई विभिन्न सार्वजनिक स्थल तथा सार्वजनिक सवारीसाधनमा छुट गराउने आन्दोलनको नेतृत्व पनि उनले नै गरेका थिए, जुन सुविधा अहिले पनि विद्यार्थीहरूले उपभोग गरिरहेका छन् । 

राष्ट्रियताको आन्दोलनका अगुवा

योगेश नेपाली राष्ट्रियताको पक्षमा संगठित ढंगले आवाज बुलन्द गर्ने एक देशभक्त तथा प्रखर राष्ट्रवादी नेताका रूपमा स्थापित छन् । राष्ट्रवादी आन्दोलनका अनेक महत्वाकांक्षी कार्यक्रमलाई कार्यान्वयन गरेर उनले यो तर्कलाई पुष्टि गर्ने प्रयास गरेका छन् ।

भारतले कब्जा गरेको नेपाली भूमि कालापानी फिर्ता अभियान उनकै पहलमा भएको हो । २०५५ जेठमा काठमाडौंदेखि दार्चुलाको कालापानीसम्म भएको ऐतिहासिक काठमाडौं–कालापानी मार्चको नेतृत्व गरेर आफ्नो राष्ट्रवादी छविलाई उनले झन् अग्लो पार्ने प्रयास गरे ।

 उनले २०४५ सालमा भारतले नेपालमाथि गरेको नाकाबन्दीविरुद्ध विद्यार्थी नेताका रूपमा आन्दोलनको अगुवाइ पनि गरे । २०७१ सालमा भारतले नेपालमाथि लगाएको नाकाबन्दीविरुद्ध पार्टीका नेताका भूमिका खेले। नेपालको सार्वभौम, स्वतन्त्र, नेपाली नेपालीबीचको एकताको पक्षमा उनले आफुलाई खरो उतार्दै आएका छन् ।

देशविदेशको यात्रा

योगेशले नेपालका ७२ जिल्लाको भ्रमण गरिसकेका छन् । उनमा अन्तराष्ट्रिय सम्बन्ध र ज्ञान पनि उत्तिकै छ । देशभित्र मात्रै होइन, अन्तर्राष्ट्रिय सम्बन्धको पनि सञ्जाल तयार पारिरहेका छन् ।

उनले भारत, चीन, अमेरिका,रसिया क्युबा, दक्षिण अफ्रिका, बेल्जियम, पोर्चुगल, जर्मनी, लक्जम्बर्ग, फ्रान्स, बेलायत, जापान, कोरिया, मलेसिया, सिंगापुर, न्युजिल्यान्ड, स्विजरल्यान्ड, चेक रिपब्लिक, अस्ट्रिया, रुस, ब्राजिल, कतार, साउदी अरब, दुबई, बहराइन, साइप्रसलगायत देशको भ्रमण गरेका छन् ।

पार्टी जीवन

२०३९ देखि तत्कालीन नेकपा (माले) सँग राजनीतिक सम्पर्कमा रहेर पार्टी काममा संलग्न योगेशले पार्टीको सेल कमिटी हुँदै जिल्ला, अञ्चल र केन्द्रीय कमिटीसम्म काम गरे । २०६५ फागुनमा बुटवलमा सम्पन्न नेकपा (एमाले) को आठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित उनी पार्टीको नवौं महाधिवेशनबाट पार्टीको सचिव पदमा निर्वाचित भए । हाल उनी नेकपाकाे स्थायी कमिटी सदस्य छन् । 

राजनीतिमा उनी मदन भण्डारी, नेल्सन मन्डेला र मार्टिन लुथर किङलाई आफ्नो आदर्श मान्ने गर्दछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर