• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

एजेन्टले घर भत्काइदिएपछि शेख परिवारको बिचल्ली

जनकपुरधाम । महोत्तरी भंगहा नगरपालिका–१, कविलाशाकी जहिरा खातुन स्थानीय बद्री ठाकुरले घर भत्काइदिएपछि खुला आकाशमुनि बस्न बाध्य भएकी छिन् । ठाकुरले घर भत्काइदिएपछि उनले खुला आकाशमुनि बस्नुपरेका बताएकी छिन् । श्रीमान् सनिब शेखलाई विदेश पठाउने एजेन्ट ठाकुरले डोजर लगाएर घर भत्काइदिएको बताइन् । 

जाहिरका श्रीमान् शनिब शेख अहिले वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा छन् । जाहिरका अनुसार उनका श्रीमान् शनिब आठ वर्षअघि एजेन्ट बद्री ठाकुरलाई २० हजार रुपैयाँ दिएर वैदेशिक रोजगारीका लागि साउदी अरेबिया गएका हुन् । तर, त्यहाँ शेखले न राम्रो काम पाए, न त राम्रो तलब नै । 

श्रीमान् विदेश गएपछि एजेन्ट ठाकुरले ससुरा अहमद शेखसँग छलकपट गरी ८५ हजार रुपैयाँ तिर्नुपर्ने तमसुक बनाएको जहिराको आरोप छ । त्यही पैसाको ब्याजसमेत जोड्दै एजेन्ट ठाकुरले शेख परिवारले ऋण नतिरेको भन्दै जिल्ला अदालत महोत्तरीमा मुद्दासमेत दर्ता गरे । आफूले साढे दुई लाख रुपैयाँ दिन तयार भए पनि एजेन्ट ठाकुरले त्योभन्दा बढी माग गर्दै आएको जहिरा बताउँछिन् । शेख परिवारका अनुसार उनीहरूले ठाकुरबाट उनीहरूले कुनै ऋण लिएका छैनन् । तर, ठाकुर भने शेर परिवारले आफूसँग २ लाख ५० हजार लिएकाे बताउँदै आएका छन् ।

एजेन्ट ठाकुरलाई दुई लाख रुपैयाँ र केही गहना दिन तयार भए पनि एजेन्ट ठाकुरले एक्कासि घरमा डोजर लगाएको जहिराको आरोप छ । उनले भनिन्, ‘शनिबार दिउँसो घरका सबै सदस्यलाई घरबाट निकालेर एजेन्ट ठाकुरले एकाएक भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चामा आबद्ध तुफान सिंहको डोजर चलाएर भत्काए ।’ उनको घर भत्काइरहँदा प्रहरीले आफ्नो हात समाताएको तथा आठवर्षीय छोरालाई कुटपिटसमेत गरेको जहिरा बताउँछिन् । 

जहिरा र उनका छोराछोरी अहिले अहिले सडकमा पाल ओछ्याएर बसिरहेका छन् । यो दम्पतीका चार छोरी र दुई छोरा छन् । उनका दुई छोरीको भने विवाह भइसकेको छ ।

भंगहा नगरपालिका–१ का अध्यक्ष नवलकिशोर कापरले एजेन्ट बद्री ठाकुर अदालतको पत्र लिएर दुई दिनअघि वडा कार्यालय आएको बताए । उनले भने, ‘आफूले पत्र बुझ्दै केही दिन कुर्न आग्रह गरे पनि उसले मानेन ।’ वडाध्यक्ष कापरका अनुसार बद्री आपराधिक छविका व्यक्ति रहेको र विभिन्न घटनामा पटकपटक जेलसमेत परेका व्यक्ति हुन् । 

एजेन्ट ठाकुरसँग जहिराको घर भत्काउनु कारण सोध्दा उनले अदालतले नै घर भत्काउन लगाएको दाबी गरे । शेखले विदेश जानका लागि आठ वर्षअघि आफूबाट २ लाख ५० हजार लिएको उनले दाबी गरे । उनले भने, ‘शेखले मसँग लिएको ऋण तिर्न मानिरहेको थिएन । त्यसपछि मैले जिल्ला अदालत महोत्तरीमा मुद्दा दिएँ । पछि अदालतले नै घरघडेरी लिलाम गर्न आदेश दियो । पटकपटक घर खाली गर्न आग्रह गर्दा समेत खाली गर्न नमानेपछि अदालतका कर्मचारी तथा प्रहरी त्यहाँ पुगेर घर भत्कायो ।’ 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षकलाई घटनाबारे बुझ्न खोजे पनि उनी पन्छिएका छन् । उनले वाहियता कुरो नगर्नुस्, जे लेख्नु छ लेख्नुस् भन्दै जवाफ फर्काएर फोन काटेका छन् । 

नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले भने अदालतको आदेशलाई अवमूल्यन गर्न नसक्नै बताउँदै पीडितको पुनःथापनाका लागि प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर