• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

कांग्रेस डडेल्धुराका सभापति मल्ललाई कारबाही गरिने

कञ्चनपुर ।  नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लमाथि कारबाही हुने भएको छ ।

उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्नुपर्ने माग राखी डडेल्धुराका ४० जनाभन्दा बढी नेताले पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएपछि उनीमाथि कारबाही हुन लागेको हो ।

आफ्नै पार्टी सभापति देउवालाई चुनौती दिँदै आएका डडेल्धुराका सभापति मल्ललाई डडेल्धुरामा पछिल्लोपटक महिला संघका पदाधिकारीबीच भएको कुटाकुटपछि कारबाहीका लागि जिल्लाका अधिकांश नेताले दबाब दिएपछि पार्टी सभापति कारबाही गर्न सहमत भएको स्रोतले बतायो ।

पार्टी सभापतिलाई लिखित रूपमा बुझाएको ज्ञापनपत्रमा पार्टी सभापति देउवा सहभागी कार्यक्रममा कुर्ची प्रहार गर्न लगाएको, देउवा पत्नी आरजु देउवाका विरुद्ध जथाभावी कुरा बोल्ने गरेको, पार्टीलाई कमजोर बनाएकोलगायतका आरोप मल्लमाथि लगाइएको छ ।

स्थानीय तहको निर्वाचनमा आफ्नै उम्मेदवारलाई हराएको आरोपसमेत मल्लमाथि लागेको छ ।
कांग्रेस कमजोर मानिएको क्षेत्रमा जित्दा बलियो मानिएको ठाउमा हार्नुको दोष मल्लमाथि लगाइएको छ । 

मल्ललाई कारबाही नगरे आफूहरू पार्टीमा सक्रिय नरहने भन्दै ती नेताले तत्काल मल्लमाथि कारबाही गर्न आग्रह गरेका छन् । केही दिनअघि काठमाडौंमै पुगेर ती नेताले देउवालाई लिखित रूपमा ज्ञापनपत्र बुझाएका थिए । 

ज्ञापनपत्र बुझाउने क्रममा भएको छलफलमा पार्टी सभापति देउवा, देउवापत्नी डा। आरजु र डडेल्धुराका नेताह सहभागी थिए ।

बुढानिलकण्ठ निवासभन्दा बाहिर भएको सो बैठकमा देउवाका स्वकीय सचिव भानु देउवालाई भने सहभागी गराइएको थिएन । भानु देउवाको गतिविधिप्रति समेत असन्तुष्टि जनाएका ती नेतालाई उनलाई स्वकीय सचिवबाट हटाउनसमेत पार्टी सभापति देउवालाई दबाब दिएका छन् ।

भानु देउवाले स्वकीय सचिवको जिम्मेवारी निर्वाह गर्न नसकेको, उनी र मल्लबीच साँठगाँठ रहेको नेताहरूले आरोप लगाएका छन् । भानुको भूमिकाप्रति स्वयम पार्टी सभापति देउवापत्नी आरजु पनि सन्तुष्ट छैनन ।

पार्टी सभापति देउवाले आफ्नाविरुद्ध गतिविधि गरे पनि मल्ललाई हालसम्म कारबाही गर्न आनाकानी गर्दै आएका छन् । मल्ललाई प्रदेशसभाको टिकट नदिन डडेल्धुराका नेताहरूले गरेको दबाबलाई नकार्दै सभापति देउवाले मल्ललाई टिकट दिएका थिए ।

पार्टी सभापति देउवाले नेता बनाएका मल्ल पछिल्लो केही वर्षयता देउवाका विरुद्ध सक्रिय रूपमा लागेको नेताहरूले आरोप लगाएका छन् ।

खासगरी नेपाली कांग्रेसको महाधिवेशनका समयमा पार्टी सभापति देउवाका विरुद्ध बोलेको मल्लको एउटा भिडियो बाहिरिएपछि उनलाई कारबाही गर्न त्यतिबेलैदेखि स्थानीय नेताहरूले सभापति देउवालाई दबाब दिँदै आएका थिए । सो भिडियोमा मल्लले पार्टी सभापति देउवा जिल्ला सदरमुकाममा जान सक्ने अवस्था नरहेको बताएका छन् ।

मल्लका विरुद्ध सबै प्रमाण जुटाएर पार्टी सभापति देउवाकहाँ पुगेका ती नेताहरूले मल्लमाथि कारबाही नभए पार्टी अझै कमजोर हुने दाबी गरेका छन् ।

जिल्लाकै अधिकांश नेताहरूको दबाबपूर्ण आग्रहपछि पार्टी सभापति देउवाले मल्लमाथि कारबाही गर्ने आश्वासन दिएका छन् । पार्टी सभापति देउवाले चाँडै मल्लमाथि कारबाही गर्ने प्रतिबद्धता गरेको बैठकमा सहभागी एक नेताले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर