• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

७३ वर्षीया वृद्ध महिलाले जुम्ल्याहा बच्चा जन्माइन् !

तस्विरः बिबीसी

एजेन्सी । अचम्ममा पर्न सक्नुहुन्छ, के उमेरले ७० वर्ष नाघेकी महिला पनि गर्भवती बन्न सक्छिन् ? भारतको आन्द्र प्रदेशको गुन्टुर जिल्लामा एक ७३ वर्षीया वृद्ध महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् । 

येरामति मंगायम्मा नाम गरेकी उक्त महिलालाई गएको बुधबार बिहान १० बजेर ३० मिनेटमा ‘सि–सेक्शन’को माध्यमबाट जुम्ल्याहा सन्तानको जन्म दिएको बताइएको छ । 

उनको शल्यक्रिया गर्ने महिला डक्टर उमा शंकरले आमा र जुम्ल्याहा बच्च दुवै स्वस्थ्य रहेको बिबीसी तेलेगुलाई बताएकी छिन् । जुम्ल्याहा छोरीहरु अगामी २१ दिनसम्म चिकित्सकको निगरानीमा राखिने शंकरले बताएकी छिन् । 

विश्वमा सबैभन्दा बढी उमेरमा बच्चा जन्माउने महिलाको रेकर्ड येरामति मंगायम्माले राखेको अनुमान लगाइएको छ । स्पेनकी मारिया डेल कार्मेन बोउसाडा लारा नामक महिलाले सन् २००६ मा ६६ वर्षको उमेर जुम्ल्याहा बच्चा जन्म दिएपछि सबैभन्दा पाको उमेर बच्चा जन्माउने महिलाको रेकर्ड राखेकी थिइन् । 

‘मलाई मान्छेहरुले निसन्तान महिला भन्थे । मैले धेरै दुःख भोगेको छु । त्यसैले मैले बच्चा जन्माउने निर्णय गरे । मेरो जिन्दगीको यो सबैभन्दा खुशीको पल हो’,  मंगायम्माले खुशी व्यक्त गर्दै भनिन् ।

यी सबै सम्भव चिकित्सकै कारण भएको भन्दो मंगायम्माका पति यरामति सीताराम राजाराव भन्छन्, ‘हामीले थुप्रै अस्पताल र धेरै प्रविधि प्रयोग गर्यौँ । फेरी एक पटक प्रयास गर्न हामी यस अस्पताल आयौँ ।’

‘यहाँ आएको दुई महिना पछि नै मेरी पत्नी गर्भवती भइन् । विगत ९ महिनादेखि हामी यही अस्पतालमा छौँ । हामीलाई सबैले निसन्तान भन्थे अब त्यो अन्त्य भएको छ । म दुवै छोरीहरुको राम्रो ख्याल राख्नेछु’, सीतारामले भने । 

येरामति मंगायम्मा

सन् १९६२ मै विवाह गरेका यी दम्पतीले सन्तानका लागि धेरै वर्षसम्म विभिन्न अस्पताल धाए । केही समयअघि उनीहरुको गाउँ नजिकैको एक ५५ वर्षीया महिलाले आईभिएफ प्रविधिको प्रयोग गरी बच्चा जन्माइन् । यी दम्पति पनि यही प्रविधिको प्रयोग गरी सन्तान जन्माउने फैसला गरे । 

विगत एक वर्षदेखि डक्टर उमा शंकरले सबै परिक्षण गरी उनको उपचार सुरु गरेकी थिइन् । 

महिलाको बढ्दो उमेरका साथ अण्डाणुको संख्या पनि कम हुँदै जान्छ र ३५ वर्षपछि  त झनै कम हुँदै जान्छ । मंगायम्मालाई बिना कुनै चिकित्सकीय मद्दत गर्भवती हुन सम्भवन थिएन । 

गर्भधारणका लागि यी दम्पतीले एक दाताबाट अण्डाणु लिएर आईभीएफ प्रविधिको प्रयोग गरी श्रीमान सीताराम राजारावको शुक्राणुसँग मिलन गराइयो । त्यसपछि बनेको भ्रूणलाई मंगायम्माको गर्भमा राखियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर