• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

पहिले को आयो ?

जीवनमा दुख त थियो
तर एउटा दुख थिएन
पराधिनताको दुख !

माटो हाम्रो थियो
बाटो हाम्रो थियो
यो उपत्यका
यी अङ्गुरका वगैंचा
यी स्याऊका बगान
ती हाम्रा थिए !

तिम्रोजस्तै हाम्रो पनि
एउटा अलग देश थियो
न पाकिस्तान थियो त्यो
न चीन थियो
न हिन्दूस्तान थियो
बस, कश्मिर थियो
तिम्रो जस्तै हाम्रो पनि
एउटा स्वतन्त्र देश थियो
दुख थिए तकलिफ थिए
तर अहिलेभन्दा बेस थियो !

आफ्नै जिन्दगीको लय थियो
आफ्नै प्रकृतिको सरगम थियो
आफ्नै सिर्जनाको परचम थियो
आफ्नै विधि थियो
आफ्नै विधान थियो
आफ्ना दुखहरूका
हाम्रो आफ्नै निदान थियो
तिम्रो जस्तै मेरो पनि
एउटा अलग्गै देश थियो
त्यो वेलाको हाम्रो जीवन
आहा कति वेस थियो !

शक्तिको सकसमा पारेर
चेपुवाको चेपाईमा पारेर
तिमीले घोषणा गर्यौ-
इतिहासमा एउटा अलग देश
हिन्दूस्तानको पेटमा गयो
कश्मिर हिन्दुस्तानको खजाना भयो !

दिनहरू विते
महिनाहरू विते
वर्षहरू बिते
यसरी सात दशक विते
तर
हाम्रो हृदयमा कुँदिएको देश
हाम्रा पिता-माताको कव्रिस्तानको देश
हृदयको एक कुनामा
मर्न नसकेर वाँचिरह्यो !

यो पटक तिमीले
फेरि घोषणा गर्यौ-
हृदयमा देश बचाउँन मनाही छ
कश्मिरी रङ्गको ध्वजा फहराउँन निषेध छ
अव उप्रान्त कश्मिरले
विशेष हक पाउँन मनाही छ !

हाम्रो जीवनको शान्त पोखरीमा
पहिले ढुङ्गा हान्न को आयो ?
हाम्रो सरहदको पवित्र छात्तीमा
पहिले तिरङ्गा गाड्न को आयो ?
हामी कश्मिरीको स्वतन्त्र दिमागमा
पहिले बन्दूक ताक्दै को आयो ?
हामी कश्मिरीको कञ्चन अस्मितामा
पहिले हातपात गर्न को आयो
को हो यो सरहदको पहिलो लुटेरा ?
को हो हाम्रा मासुम लड्किहरूको
पहिलो वलात्कारी ?
को हो हाम्रा कब्रिस्तानमा
पहिले पिसाव फेर्ने पहिलो अधर्मी ?

हेलो इण्डिया
अरे हो भारत
कहो रे हिन्दूस्तान
को हो यो उपमहाद्विपको पहिलो हत्यारा ?
को हो पहिलो आतङ्ककारी ?
तिम्रो अच्छे दिनको लागि
यो बुरे दिनको को हो उद्योगी ?

कश्मिर ज्वालामुखी हो
यसको मुख थुनेर
शान्तले सुत्ने तिम्रो मनसुवा
लाभा र म्याग्मामा पुरिने छ
यहाँका हरेक नानीहरू
दाह्रा किट्दै जन्मन्छन्
तालिम गर्दै हुर्कन्छन्
र जिहादी बनेर निस्कन्छन्
यहाँका हरेक स्याऊका बोट
तिम्रो फासीको लागि तयार छन्
यहाँका हरेक अङ्गुरका झ्याङ
तिम्रो लागि नागपाश हुन् !

अन्तिम एक जना वाँकि रहुन्जेल
लडेरै मर्ने प्रेरणा
यहाँका हरेक बच्चालाई
यहाँको माटोले दिएको छ
यहाँको बाटोले दिएको छ
इतिहासको खाटोले दिएको छ
रगतको आलो टाटोले दिएको छ
तिमीसँग छ -
त्यो स्तरको हिम्मत ?
तिमीलाई त मृत्युसँग डर लाग्छ है ?
डराउँदा डराउँदा
डराउँनै भुलिसक्यो कश्मिरले !


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर