• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

भरतपुर अस्पतालमा ज्वरोका बिरामीकाे ओइरो

चितवन । चितवनस्थित भरतपुर अस्पतालमा आइतबार हालसम्मकै बढी बिरामीले बहिरंग सेवामा टिकट काटेका छन् । उक्त दिन एक हजार ९ सय २२ बिरामी अस्पताल आएकामा ९ सयभन्दा बढी मेडिकल विभागका रहेका थिए । 

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मेडिकल विभागका लागि टिकट काटेकामध्ये अधिकांश ज्वरोका बिरामी थिए । तीमध्ये धेरैलाई डेंगु र केहीलाई इन्फ्लुएन्जा भएको पौडेलले जानकारी दिए । अस्पतालका मेडिकल विभाग प्रमुख डा. प्रकाश खतिवडाका अनुसार विभागमा पाँचजना मात्र विशेषज्ञ चिकित्सक रहेका छन् । 

नयाँ ९ सय र पुराना ३ सयभन्दा बढी बिरामी अस्पताल आएपछि चिकित्सकले सबै बिरामी हेर्न नसकेको उनले बताए । बाँकी रहेका करिब सय जनालाई सोमबार पहिलो प्राथमिकतामा राखेर परीक्षण गरिएको उनले बताए । अहिलेको चिकित्सकको सङ्ख्याले यो चाप थेग्न नसक्ने खतिवडाको भनाइ छ । 
    
सामान्य समयमा चार सय ५० हाराहारी नयाँ र एक सय ५० पुराना हेर्दै आएकामा एकाएक दोब्बरभन्दा बढी बिरामी थपिएको तर चिकित्सक उही भएपछि अस्पतालमा धान्न मुस्किल परेको खतिवडाको भनाइ छ । चाप निकै बढेका कारण अस्पतालभित्र ‘फिवर क्लिनिक’ सञ्चालन गर्ने विषयमा छलफल भइरहेको उनले बताए । 

खतिवडाका अनुसार अस्पतालभित्रका अन्तरंग सेवाका मेडिकल वार्ड र क्याबिनहरू पनि ज्वरोका बिरामीले भरिएका छन् । करिब १२० ज्वरोका बिरामी अस्पतालमा भर्ना भएको बताइएको छ । 

जिल्लाका दुई मेडिकल कलेज र २० निजी अस्पताल पनि ज्वरोका बिरामीले भरिएका छन् । स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार साउनयता आइतबार साँझसम्म तीन हजार चार सयजनाको डेंगु परीक्षण गरिएकोमा एक हजार दुई सय ६ जनामा संक्रमण देखिएको छ । डेंगुकै कारण दुईजनाको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर