• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

ऊर्जामा पँहुच, दिगोपन र सुरक्षा : नेपाल विश्वमै दोस्राे उत्कृष्ट

बविन शर्मा/आबुधावी । संयुक्त अरब इमिरेट्सको आबुधावीमा जारी ऊर्जासम्बन्धी विश्वकै सबैभन्दा ठूलो कुम्भ मेला ‘वर्ल्ड इनर्जी कंग्रेस’ अन्तिम चरणमा पुगेको छ । ऊर्जा सम्मेलनमा विश्वका एक सय ५० भन्दा धेरै देशबाट करिब १५ सय प्रतिनिधि  सहभागी थिए । जसमध्ये विभिन्न देशका ७० जना मन्त्री थिए ।

विश्वभरिको ऊर्जाको समग्र अवस्थाका विषयमा कार्यक्रममा बृहत् छलफल भयो । कार्यक्रममा नेपालका तर्फबाट ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, ऊर्जा मन्त्रालयका सहसचिव प्रवीणराज अर्याल, बेलायतका लागि नेपाली राजदूत तथा वर्ल्ड इनर्जी काउन्सिलका सदस्य दुर्गाबहादुर सुवेदी, युएइका लागि नेपली राजदूत कृष्ण ढकाललगायतको सहभागिता थियो ।

मन्त्री पुनले बिहीबार मन्त्रीहरूको ‘ट्राइलेमा’ सम्बन्धी राउन्ड टेबलमा सहभागी भएर नेपालको धारणा विश्वसामु अघि सारेका थिए । नेपालले ऊर्जा उत्पादनको क्षेत्रमा विश्वमा नै उदाहरणीय प्रयास गरिरहेको र हाइड्रो ऊर्जाको क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्न सक्ने बताए ।

संयुक्त राष्ट्रसंघले अघि सारेको दिगो विकासको लक्ष्य प्राप्ति गर्न ऊर्जाको क्षेत्रबाट आफूहरू पुरै प्रतिवद्ध रहेको र सफलसमेत हुने उनले जानकारी गराए । नेपालमा ९० प्रतिशतभन्दा धेरै ऊर्जा हाइड्रोको क्षेत्रबाट प्राप्त भइरहेको उनले बताए ।

ऊर्जाको विश्वस्तरीय फोरममा मन्त्री पुनले आफ्नो देशको ८० प्रतिशत जनता विद्युतको पहुँचमा पुगिसकेको र अबको केही वर्षभित्रै शतप्रतिशत पुर्याउन सफल हुने बताइरहँदा राउन्ड टेबलभरि नै उत्साह छाएको थियो ।

मन्त्री पुनले विद्युतको पहुँच मात्र नभएर त्यसको सुरक्षा र दिगोपनाका लागि नेपाल सरकारले छिमेकी देशहरूको समेत हितमा काम गरेको बताए । ट्रान्समिसन लाईन र वितरण लाईनको निर्माण समेत तिब्र रुपमा अघि बढाईएको जानकारी गराउदै मन्त्री पुनले पेट्रोलियमको आयातमा कमी गर्दै विद्युतीय ऊर्जामा नेपाल आत्मनिर्भर र निर्यात गर्ने अवस्थामा छिट्टै पुग्ने बताए ।

नेपाल उपक्षेत्रीय तथा क्षेत्री विद्युत् सहकार्यका लागि तयार रहेको उनको भनाइ छ। त्यस्तै नेपालले समृद्ध नेपाल सुखी नेपालीको नारालाई आत्मसात गर्दै आगामी १० वर्षभित्र १५ हजार मेवा जलविद्युत् उत्पादन गर्ने र ५ हजार मेवा छिमेकी देशलाई निर्यात गर्ने लक्ष्य राखेको ऊर्जामन्त्री पुनले विश्व ऊर्जा सम्मेलनमा जानकारी दिए।

ऊर्जामा सहकार्य, छिमेकसँग ग्रिड कनेक्टिभिटीजस्ता कुरालाई नेपालले प्राथमिकतामा राखेको ऊर्जामन्त्री पुनले बताए। त्यस्तै प्रतिव्यक्ति विद्युत् उपभोगलाई १५ सय केडब्ल्यूएच आगामी १० वर्षमा बनाउने नेपालको लक्ष्य रहेको सम्मेलनमा बताए ।

त्यसअघि मन्त्री पुन सम्मेलनको उद्घाटन सत्र, साइडलाइन वार्ता र नेपाली समुदायसँगको अन्तरक्रिया गर्नुका साथै युएईका उदाहरणीय विकास आयोजनाको अवलोकन गरेका थिए । नेपाली भ्रमण टोलीका अन्य सदस्यहरूले कंग्रेसमा भएका अन्य शीर्षकका छलफलहरूमा सहभागिता जनाए ।

नेपाल विश्वमै उत्कृष्ट दुईमा 

विश्वभरका सबै प्रकारका ऊर्जाको समग्र अवस्थालाई सम्बोधन गर्ने संयुक्त निकाय हो वर्ल्ड इनर्जी काउन्सिल । सन् १९२४ मा स्थापना भएको संयुक्त राष्ट्रसंघ भन्दा पनि पुरानो यस सस्थाको हेडक्वाटर बेलायतमा रहेको छ । 

यसपटकको आबुधावी सम्मेलनमा पनि ऊर्जाका विभिन्न विधामा छलफल गर्नुका साथै ऊर्जाको क्षेत्रमा उत्कृष्ट मुलुकसमेत घोषणा गरिएको थियो । ऊर्जाको पँहुच, दिगोपना र सुरक्षा विधामा नेपाल विश्वमै दोश्रो उत्कृष्ट घोषित भयो । सम्मेलनका क्रममा घोषणा गरिएका उत्कृष्ट १० मध्ये नेपाल दोश्रो तथा कम्बोडिया पहिलो भएका हुन् ।

८८ प्रतिसत नेपालीमाझ विद्युतको पहुँच पुग्नु, यसको सुरक्षाका लागि अपनाइएका मापदण्डहरूको भरपर्दो व्यवस्था तथा ऊर्जाको दिगो प्रयोगका हिसाबले नेपाल विश्वमै दोश्रो हुन सफल भएको हो । 

भारतीय ऊर्जासचिव सुवास चन्द्रले मन्त्री पुनलाई भेटे

सम्मेलनका क्रममा बिहीबार मन्त्री पुनको भारतीय ऊर्जासचिव सुवासचन्द्र गर्गसँग साइडलाइन वार्ता गरे । मन्त्री पुनलाई भेट्न पुगेका सचिव गर्गसँग बुटवल गोरखपुर ट्रान्समिसन लाइन, भारतले नेपालको विद्युत खरिद गर्नेलगायत विषयमा छलफल भएको मन्त्री पुनले समाचार दैनिकलाई जानकारी दिए ।

छलफलका क्रममा सचिव गर्गले भारत नेपालले उत्पादन गरेको विद्युत खरिद गर्न तयार रहेका बताएका थिए । भारत, नेपालको ऊर्जा उत्पादनको क्षेत्रमा मिलेर काम गर्न तयार रहेको र केही समयपछि हुने नेपाल भारत ऊर्जा सचिवस्तरिय बार्तामा आवश्यक छलफल गर्ने समेत उनले बताए ।

मन्त्री पुनले सचिव गर्गलाई नेपालको ऊर्जा उत्पादन, वितरण र खरिद बिक्रीका लागि उपयुक्त नीति अवलम्बन गर्न आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर