पोखरामा अत्याधुनिक शीत भण्डार सञ्चालनमा

फाइल तस्वीर

पोखरा । सरकारी र निजी साझेदारीमा रु छ करोड ५० लाख लागतमा पोखरा महानगरपालिका–१४ चाउथेमा शीत भण्डार सञ्चालनमा ल्याइएको छ ।
     
प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको रु दुई करोड ५० लाख र व्यवसायीको रु चार करोडको लागतमा स्थापना गरिएको शीत भण्डारको आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।
      
तरकारी तथा विषादीरहित रुपमा आँप, केरा, सुन्तला, मेवालगायतका फलफूल पकाउने र त्यसलाई भण्डार गरेर राख्ने उद्देश्यले सञ्चालनमा ल्याइएको शीत भण्डारबाट गण्डकी प्रदेशसहित छिमेकी जिल्लाका कृषक लाभान्वित हुने सञ्चालक लेखनाथ पौडेलले बताए ।

सात रोपनी क्षेत्रफलमा सञ्चालित सो भण्डारमा अमेरिकी र जर्मनी प्रविधिका मेसिनहरुको उपकरण प्रयोग गरिएकाले समेत वर्षौसम्म ढुक्क रहने अवस्था रहेको र कृषक तथा व्यवसायीले सिधैँ शीत भण्डारमा लगेर आफ्नो उत्पादन राख्न सक्ने उनको भनाइ छ । सो शीत भण्डारको क्षमता ३०० मेट्रिक टन रहेको बताइन्छ ।
     
निर्माणको जिम्मा पाएको एनएस इञ्जिनीयरिङका सञ्जीव चौहानले बहुउद्देश्यीय उपयोगितासहित नेपालमै पहिलोपटक नयाँ तथा वैज्ञानिक प्रविधिको माध्यमबाट निर्माण गरिएको यो शीत भण्डारबाट पूर्णरूपमा विषादीरहित तरकारी तथा फलफूल प्राप्त हुने बताए ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले प्रत्येक घरको गरीबी निवारण गर्ने माध्यम जमीन रहेकाले जमीनको अधिकतम उपयोग गरेर आम्दानी वृद्धि गर्नुपर्ने बताए । प्रदेश सरकार गरीबी निवारण गर्ने अभियानमा लागेको उल्लेख गर्दै उहाँले तीन वर्षभित्रमा प्रदेशमा उत्पादन हुने वस्तुमा आत्मर्निभर बन्दै अहिलेको १४ दशमलव २ प्रतिशतको गरीबीलाई सात प्रतिशतमा झारिने प्रतिबद्धता व्यक्त गरे । 

मुख्यमन्त्री गुरुङले प्रत्येक पालिकामा शीत भण्डार स्थापना गर्ने सरकारी योजना रहेकाले कृषकहरुले आफ्नो उत्पादनमा वृद्धि गनुपर्नेमा जोड दिदैं प्रत्येक घरले उत्पादन बढाउँदै स्वरोजगार बन्नुपर्ने बताए ।

भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले कास्की र लमजुङमा शीत भण्डार स्थापना गरिसकेको बताउँदै यसै वर्षभित्रमा प्रदेशका बाँकी नौ जिल्लामा एक÷एक शीत भण्डार स्थापना गरिने जानकारी दिए ।

उत्पादनलाई बढावा दिनका लागि बजारको आवश्यकता पर्ने उल्लेख गर्दै उनले कृषकलाई बजारको ग्यारेन्टीसहित उचित मूल्य प्रदान गर्न उत्पादनको भण्डारीकरण आवश्यक रहेको बताए ।
 
अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले कृषकले उत्पादनलाई भण्डारण गर्न नसक्दा उचित मूल्य पाउन नसकेको अवस्थामा शीत भण्डारले कृषकलाई राहत प्रदान गर्ने र उत्पादन वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कृषि मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडीले किसानको उत्पादनलाई सुरक्षा गर्न सरकारले लगानी गरेको बताउँदै शीत भण्डारमा नेपाली कृषकका उत्पादनले पहिलो स्थान पाउने गरी सम्झौतामा उल्लेख गरिएको जानकारी दिए ।

प्रधानमन्त्री कृषि आधुनिकीरकरण परियोजना तरकारी सुपर जोनका प्रमुख वसन्त श्रेष्ठले शीत भण्डार कृषकको वर्षौँदेखिको माग रहेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर