• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

झापामा सयपत्री फूलको व्यावसायिक खेती

झापा । झापाका महिला सयपत्री फूलको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । फूलको बजार दिनानुदिन विस्तार भइरहेको तथा नेपाली बजारमा भारतीय फूलको आयातलाई विस्थापित गर्न जिल्लाका महिला उद्यमी व्यावसायिक फूल खेतीतर्फ आकर्षित भएका हुन् ।

 गत वर्षदेखि नै व्यावसायिक खेती गर्दै आएका बिर्तामोड तथा दमक क्षेत्रका महिलाले यस वर्ष पनि सामूहिक रूपमा सयपत्री फूलको व्यावसायिक खेती गरेका हुन् । चाडपर्वमा फूलको माग बढ्ने भएपछि जिल्लाका महिलाले चाडपर्वलाई लक्षित गरेर  सामूहिक फूलको खेती गर्दै आएका हुन् । दमक–३ नवकिरण टोलमा उद्यमी महिला समूह गठन गरेर गत वर्षदेखि सुरु गरेको सयपत्री फूलको व्यावसायिक खेतीलाई यस वर्ष पनि निरन्तरता दिइएको समूहकी अध्यक्ष विष्णु खड्काले बताइन् । 

गत वर्ष सात कठ्ठामा सयपत्री फूल लगाएका महिलाले यो वर्ष पनि सोही जमिनमा खेती गरिएको खड्काले बताइन् । उनका अनुसार गत वर्षको भन्दा केही अघि नै यस वर्ष सयपत्री फूल रोपिएको छ । जैविक तथा प्राकृतिक रूपमा गरिएको खेतीबाट तयार पारिएका माला प्रतिवटा सय रुपैयाँमा बिक्री हुने गरेको छ । समूहले उत्पादन गरेको फूल दमकको बजारमा नै खपत हुँदै आएको छ । 

गत वर्ष पनि सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्यै आम्दानी भएपछि यो वर्ष पनि समूहले यो खेती लगाएको अध्यक्ष खड्का बताइन् । उनले भनिन्, ‘फूलखेती व्यावसायिक बनाउन सके प्रशस्त आम्दानी लिन सकिने रहेछ ।’ 

व्यावसायिक सयपत्रीखेती गर्न समूहमा ११ जना महिला संलग्न छन् । ११ जना महिलाले घरायसी चुलोचौको सकेर फूल स्याहार्न दैनिकी बनाएका छन् । ‘समूहमा काम गर्न सजिलो भएको छ,’ अध्यक्ष खड्काले भनिन्, ‘सयपत्री फूल वर्षभरि उत्पादन गर्न सकिए, यसबाट मनग्य आम्दानी लिन सकिन्छ । हामी अहिले त्यसैको तयारीमा जुटेका छौं ।” 

समूहले गरेको फूल खेतीले दमकको बजारमा छुट्टै परिचय दिएसँगै आम्दानी समेत लिन थालेपछि वडाका अन्य महिलाले पनि चाडपर्व लक्षित सयपत्री फूलको खेती गर्न थालेका छन् । 

यस्तै, बिर्तामोडमा समेत महिलाले व्यावसायिक फूल खेती गर्दै आएका छन् । उद्यमी गोमा भट्टराईका अनुसार बिर्तामोड–४ मा करिब डेढ बिघा जग्गा भाडामा लिएर सयपत्री फूलको खेती गर्दै आएको छ । फूल खेतीसम्बन्धी तालिम लिएरै फूल खेती सुरु गरिएको उल्लेख गर्दै उनले आफूलाई आवश्यक पर्ने फूलको बिरुवासमेत आफैँ उत्पादन गर्दै आएको बताइन् । 
 
गत वर्ष फूलबाट मनग्यै आम्दानी गर्न सफल भएपछि समूहले यस वर्ष एक लाख ५० हजार बढीको बिरुवासमेत बिक्री गरेको भट्टराईले बताइन् । उत्पादित फूलको बिरुवा झापासहित पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र मोरङका बजारमा बिक्री गरिएको र यो वर्ष पनि सयपत्री फूलको २२ हजार बिरुवा लगाएको उनले बताइन् ।  

प्रत्येक बोटबाट औसतमा पाँचबाट माला उत्पादन हुने भएकाले यस वर्षको तिहारसम्म पाँच लाखभन्दा बढीको फूलको माला बिक्री गरिने लक्ष्य लिएको उनले जानकारी दिइन् । 

माग छ, धान्न अझै कठिन 

नेपालमा व्यावसायिक रूपमा फूलखेती गर्नेको संख्या कमै छ । तर, भारतमा भने भने व्यावसायिक रूपमा नै अत्यधिक फूल उत्पादन हुने गर्दछ । भारतले तोकेको मूल्यमा नै फूल बिक्री गर्नुपर्ने बाध्यता रहेको यहाँका फूल व्यवसायीको भनाइ छ । 

‘हाम्रो उत्पादनले व्यापारीको मागलाई धान्न सक्दैन, त्यसले गर्दा भारतसँग सम्पर्क टुट्ने डरले भारतीय उत्पादन रोज्न नेपाली व्यापारी बाध्य छन्,’ उद्यमी भट्टराईले भनिन्, ‘नेपाली बजारमा समेत स्थानीय फूलले विस्तारै बजार लिन थालेकाले आफूहरू यसको व्यवसायिकतातर्फ क्रियाशील भएको छु ।’ 

चाडपर्वका समयमा मात्र जिल्लामा करिब तीन करोड मूल्यबराबरको फूल भारतबाट आयात हुने गरेको अनुमान फूल व्यवसायीको छ । भारतीय बजारले प्रभाव जमाएको सीमावर्ती झापामा फूलको बजार भए पनि मागलाई स्थानीय फूलको उत्पादनले मात्र धान्न अझै कठिन भएको उद्यमीहरूको भनाइ छ । उद्यमी भट्टराईले जिल्लामा फूलको बजार भए पनि आवश्यक फूल उत्पादन हुन नसकेको बताइन् । उनले जिल्लामा फूलको अभाव टार्न करिब १५ बिघा क्षेत्रफलमा फूल खेती गर्न आवश्यक रहेको जानकारी दिइन् । 

आय आर्जनको प्रमुख स्रोतका रूपमा फूलखेतीले बिस्तारै बजार ओगट्दै गएकाले पनि यसको व्यावसायिकतामा जोड दिन सकिए धेरै स्वरोजगार बन्ने उनको भनाइ छ । उनले विगतका वर्षमा एक बिघा जमिनमा लगाएको फूलबाट मनग्य आम्दानी गरेपछि फूल खेतीतर्फ आकर्षित भएको बताए । ‘फूलको बजार रामो छ,’ उद्यमी भट्टराईले भनिन्, ‘तिहारमा सयपत्री फूलले राम्रो बजार पाउने भए पनि तिहार अघिदेखि नै फूलको माग उच्च भएको छ ।’ 

स्थानीय संघसंस्थाले आयोजना गर्ने हरेक कार्यक्रममा पनि फूलको माला लगाई दिने चलन बढ्दै गएपछि स्थानीय फूलको माग बढ्दै गएको हो । सयपत्री फूल खेतीका लागि चार महिना खट्न सके राम्रो आम्दानी लिन सकिने किसानको भनाइ छ । बिउ र भाडामा लिएको जग्गाको मूल्य जोड्दा वर्षमा एक लाखसम्म खर्च हुने भए पनि त्यसले तेब्बर बढी आम्दानी गर्न सकिने उद्यमी भट्टराईको दाबी छ । 

बर्खामा भारतबाट कम फूल आयात हुने हुनाले त्यस समयमा पनि फूल उत्पादन गर्न सके राम्रो बजार पाउने अर्का उद्यमी कञ्चना बरालले बताइन् । बजारमा फूलको माग भए पनि फूलखेतीतर्फ ध्यान दिन नसक्दा भारतबाट आयात गरेको फूल प्रयोग गर्न नेपाली उपभोक्ता बाध्य हुनुपरेको उनको भनाइ थियो । (रासस)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर