• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

बाहिरी चक्रपथको जिम्मेवारी चिनियाँ कम्पनीलाई

काठमाडौं । लगानी बोर्डको आजको ४०औँ बैठकले काठमाडौँ बाहिरी चक्रपथ परियोजनाको जिम्मेवारी ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी’लाई दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारमा सम्पन्न बैठकले प्रस्ताव पेस गरी संक्षिप्त सूचीकरण (सर्ट लिस्ट) मा परेकामध्ये मापदण्ड र मूल्यांकनका आधारमा उक्त कम्पनीलाई जिम्मेवारी दिएको हो ।

बैठकले सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको परियोजना विकास गर्न ‘जुरिच एयरपोर्ट इन्टरनेशनल एजीलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ । दुवै परियोजनाका लागि ती कम्पनीले ४५ दिनभित्र परियोजना विकासको प्रस्ताव पेस गर्नुपर्नेछ ।

बैठकले पश्चिम सेती तथा एसआर ६ संयुक्त जलविद्युत् परियोजना, तल्लो अरुण जलविद्युत् परियोजनाका लागि प्रस्ताव पेस गर्नेमध्ये संक्षिप्त सूचीकरण छनोटका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको संयोजकत्वमा अलगअलग समिति गठन गरेको छ । 

यातायातबारे एकीकृत सुझाव दिन निर्देशन

बैठकमा प्रधानमन्त्री ओलीले काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापन र सुधारबारे हालसम्म भएका विभिन्न अध्ययन, अवस्था, त्यसका लागि लगानी गर्न इच्छुकको सूचीसहित सुझाव दिन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिनुभयो । 

प्रधानमन्त्री ओलीले भने, ‘सबै काम समयमा योजनाबद्ध रूपमा सम्पन्न हुनुपर्छ, मन्त्रालय र निकायले एकार्कामा समन्वय गर्नुपर्छ, त्यसका लागि चाँडो प्रतिवेदन प्राप्त होस् ।’ बैठकमा बोर्डका प्रमुख कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले अघिल्लो बैठकका निर्णय र प्रगतिबारे प्रस्तुति गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर