• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

 एक करोड ५६ लाख लागतमा स्वास्थ्यचौकी निर्माण

म्याग्दी ।  दश वर्षसम्म एउटा कोठाबाट सञ्चालन भएको अन्नपूर्ण गाउँपालिका–६ घारको स्वास्थ्यचौकीको सुविधा सम्पन्न भवन निर्माण भएको छ । 

शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीले रु एक करोड ५६ लाख लागतमा मा भूकम्प प्रतिरोधी क्षमताको दुई तले भवन निर्माण गरेको हो ।

 भवन निर्माणपछि सेवा प्रवाहमा सहज भएको स्वास्थ्यचौकीका प्रमुख रिसव पाण्डले बताए । भवन अभावमा गाउँ संरक्षण व्यवस्थापन समितिको भवनको एउटा कोठाबाट स्वास्थ्यचौकी सञ्चालन गरिएको थियो । 

साँघुरो कोठामा बिरामीको स्वास्थ्य परीक्षणदेखि औषधि भण्डारण, प्रशासनिक, प्रसूति सेवा प्रभावकारी हुन सकेको थिएन ।नयाँ भवनमा प्रशासनिक, खोप, गर्भ जाँच, क्षयरोग, परिवार नियोजन, डेसिङ, स्वास्थ्य परीक्षण, नाम दर्ता, औषधि भण्डारण, औजार निर्मलीकरण, प्रसूति, औषधि वितरणलगायत ११ वटा कोठा छन् ।

 १५ जनासम्म बिरामीलाई उपचार गर्न मिल्ने पूर्वाधार तयार भएको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताउनुभयो । सभाहल र दुई परिवार कर्मचारीको आवासका लागि तीन÷तीन वटा कोठा पनि छन् ।

 स्वास्थ्यचौकीको भवन निर्माणका लागि स्थानीयवासीले जग्गाको व्यवस्था गरेका थिए । भवन निर्माणका लागि रुपा बरुवालले एक रोपनी र स्थानीय गोविन्द खड्काले आठ आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

 रु आठ लाख जुटाएर दुई रोपनीभन्दा बढी जग्गा खरीद गरी स्वास्थ्यचौकीलाई उपलब्ध गराइएको स्थानीय ठगराज बरुवालले बताउनुभयो । घारको निमरुख भन्ने ठाउँमा स्थानीयले उपलब्ध गराएको चार रोपनी एक आना क्षेत्रफल जग्गामा नयाँ भवन निर्माण भएको हो । 

२०७४ पुसमा शुरु भएको भवन निर्माण गत असारमा सकिएर हस्तान्तरण भएको थियो । असोज १ गतेदेखि नयाँ भवनबाट सेवा प्रवाह शुरु गरिएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर