• सोमबार २-१२-२०७७/Monday 05-25-2020/ 07:33 pm

महाकवि देवकोटाको १११ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । 

महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो ।

दश वर्षको उमेरमा कविता लेख्न शुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाए ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँका सृजनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।

भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गर्नुभएको थियो भन्ने मान्यता छ । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताएका थिए ।

विदेशी भाषामा नेपाली कृतिहरूको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए । महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यास जस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरे ।

विसं २०१६ मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री हुनुहुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु गराएका थिए । नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाको अविस्मरणीय देन हो ।
    
तीन महीनामा ‘शाकुन्तल’ महाकाव्य, १० दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नुभएका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने आँशुकविको क्षमतासमेत थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ ।
 
शाकुन्तल महाकाव्यमा पूर्वीय एवं आधुनिक सभ्यताको संयोजन भएको नेपाली विषयको दर्शनाचार्य तह (एमफिल) मा ‘शाकुन्तल महाकाव्यमा पूर्वीय दर्शन’ विषयमा शोध गरेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले बताए ।
 
नेपाली साहित्यको महाकविको पदवी दिइए पनि देवकोटा स्मरण वार्षिकरुपमा औपचारिकतामा मात्र सीमित भइरहेको उनको गुनासो छ । उनको घरलाई सङ्ग्रहालय बनाउनेलगायत कुरा गफमै हराउने गरेको नेपाली साहित्यका पाठकको भनाइ छ ।

चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उनको साहित्यिक विशेषता हो । 
 
महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गरे । उनले पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गरेका छन् । विसं २०२४ मा प्रकाशित भएको ‘मायावीनी’ ‘सुन्दरी प्रोजर्पिना’ जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

धनिपुर्जा हराएको देश

  • ३ जेठ, २०७७

आफ्नै देशको बरखी बारेर मौनधारण गरिरहे जस्ता हिमालहरू राहदानी भिरेर उडानको पर्खाइमा रहेका नदीहरू आत्महत्या गर्न हामफालिरहे जस्ता झरनाहरू अनि

दुर्गा 'होलटाइमर' भइन

  • २७ बैशाख, २०७७

काँठको महिला अझ त्यसमा पनि बुहारी भएपछि कामको बोझ त झन बढने नै भयो । उनको अझ दुइवटा परिचय थपिएको थियो । एउटा समाजले थपिदिएको थियो दलित र अर्को राज्यले

हामीले जिन्दगी बितायौं सरकार बनाएर !

  • २७ बैशाख, २०७७

मर्नलाई विष पनि किनेर खान्छ तिम्रो शहरले जडिबुटी बाँडेर बाँच्छ मेरो गाँउ विचार गर । मान्छेले सुख प्राप्तिका खातिर अनेक अनेक काम गर्नुपर्छ । मलाई पनि