• बिहीबार ८-५-२०७६/Thursday 11-21-2019/ 01:43 am

छठ मनाउन भरिभराउ नारायणी किनार [फोटोफिचर]

चितवन । केही वर्ष अगाडिसम्म चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा छठ पर्व मनाउनेको संख्या नगन्य हुने गरेकोमा पछिल्लो समय नदी किनार भरिभराउ हुन थालेको छ । तराईबासीमा मात्रै सिमित छठ पूजा विस्तारै सबै समुदायले मनाउन थालेपछि यसको रौनक चितवनमा समेत बढ्दै गएको तराई सामुदायिक सेवा समिति नारायणगढका अध्यक्ष गोपालजी गुप्ताले बताए । 

छठ पर्व मनाउनेको संख्या बढ्दै गएपछि नारायणी नदी किनार भरिभराउ हुन थालेको गुप्ताको भनाइ छ । उनका अनुसार छठमा व्रत बस्ने महिला तथा पुरूषले निष्ठापूर्वक जलाशयमा स्नान गरी दूध, चामल र सख्खरको खीर पकाई खाने चलन रहेको छ । छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर अर्घ दिएपछि भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिने प्रचलन रहेको गुप्ताले बताए ।

पारिवारिक सुख, शान्ति र सन्तान प्राप्तिका लागि मनाइने छठ पर्वको महिमा बढ्दै गएको गुप्ताको भनाइ छ । मधेसी समुदायको संख्या पनि बढ्दै जानु, मधेसी र पहाडी समुदायबीच विवाह गर्ने क्रम बढ्नुले पनि छठ मनाउनेको संख्या बढ्दो क्रममा रहेको गुप्ताले बताए । 

छठको मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी)को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौँथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि रहेको अध्यक्ष गुप्ताले जानकारी दिए । यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख, समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ । 

सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता रहेको उनी बताउँछन् । चितवनको रत्ननगर नगरपालिकाको लौरीघोलकिनार, कालिका नगरपालिकाको पदमपुरको खगेरी पुलकिनार, राप्ती नगरपालिकाको खुरखुरेको पम्फा खोलाकिनार, खैरहनीको नयाँ पर्सा र पुरानो पर्सा जोड्ने पुलको किनार, माडी नगरपालिकाको वसन्तपुर र कल्याणपुरको खोलाकिनारमा उभिएर भक्तजनहरुले सूर्यलाई अर्घ दिनेछन् ।

छठको महत्व र सुरुवाति इतिहास
छठपर्वको मुख्य साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिने गरिन्छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको छठपर्व बिहीबारदेखि शुरु भएको हो ।

‘महाभारत’मा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डवबाट अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो ।

उक्त समयमा पाण्डव विराट राजाको दरबारमा आश्रय लिएको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणानुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुया छठ व्रत बसेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् ।

त्यही बेलादेखि ‘छठपर्व’ मनाउने परम्पराको शुरुआत भएको विश्वास गरिन्छ । छठपर्वमा व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । छठी मातालाई झुप्पा–झुप्पा फल चढाउँदा सूर्य प्रशन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यताअनुरुप भक्तजनले सिङ्गो केराको घरी, भोगटे, बिमिरो, उखु, नरिवलजस्ता माटो माथि र माटोमुनि फल्ने मौसमअनुसारको फलफूल चढाउने गर्दछन् । 

चितवनको नारायणी किनारमा पनि पूजा अर्चना गरी छठ पर्व मनाईएको छ । समाचार दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगाना चितवन पुगेर आफ्नो क्यामेराको लेन्समा छठीमाताको पूजाका केही तस्बिरहरु कैद गरेका छन् । 

हेरौं केही तस्बिरहरु :

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

खुमलटारमा प्रकाशको सम्झना (फोटोफिचर)

  • ३ मङ्सिर, २०७६

ललितपुर । मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको दोस्रो स्मृति दिवस

पाल्पामा धान स्याहार्ने चटारो... [फोटोफिचर]

  • २ मङ्सिर, २०७६

पाल्पा । मंसिर महिना सुरु हुँदा पाल्पाका अधिकांश फाँट तथा टारी खेतहरूमा धान स्याहार्ने चटारो छ । तर, अधिकांश धानमा कालो पोके रोग देखा परेपछि किसानहरू

‘मोदी हेर, यो हो नेपालको नक्सा...’ [फोटोफिचर]

  • १ मङ्सिर, २०७६

काठमाडौं । सीमा अतिक्रमणको विरोधमा उत्रिएका नेविसंघ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान भारतीय दूतावास अगाडी नेपालको भूमि मिच्न