• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

जहाँ मनमनै होइन, चिच्च्याएर वर मागिन्छ...

पाल्पा । हिन्दू धर्मानुसार मन्दिरमा गएर भगवान्सँग मनमनै ‘वर’ माग्नु नौलो होइन ।  तर, यहाँको सत्यवती ताल र माइको मन्दिरमा भने सबैले सुन्ने गरी चिच्च्याएर ‘वर’ माग्ने चलन छ ।

जिल्लाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती तालको वरपर तीनपटक घुमेर सार्वजनिक रूपमै चिच्च्याएर ‘सत्यवती बज्यै’ सँग वर माग्ने यहाँको पुरानो चलन हो । तीन दिनसम्म चल्ने मेला कात्तिक २४ गतेबाट सुरु हुँदै छ । 

सत्यवती ताल क्षेत्रमा कानले नसुन्ने बजैसँग चिच्च्याएर वर माग्ने धार्मिक मेला प्रत्येक वर्षझैँ यो वर्ष पनि आइतबारबाट सुरु हुँदै छ । सत्यवती ताल क्षेत्रमा बाजेबजै दुवैको मन्दिर रहे पनि विशेष गरी बजैसँग चिच्याएर वर माग्दा पूरा हुने धार्मिक विश्वास छ ।

सत्यवती बज्यैले कानले सुन्दिनन् भन्ने जनविश्वास छ । त्यसैले पुस्तौँदेखि चिच्च्याएर वर माग्ने गरिएको हो । वर माग्न र सत्यवती माईको दर्शन गर्न जानेले बाँस र पातीको लिंगो सँगै लिएर जान्छन् । सोही लिंगोलाई तालको छेउमा गाडेर पूजा गर्ने चलन रहेको सत्यवती ताल विकास समितिका अध्यक्ष तिलबहादुर गाहाले बताए ।

सत्यवतीमा पूजाअर्चना गर्दा मागेको पूरा हुने भएपछि यहाँ बली चढाउने भीड लाग्ने र चिच्याएर वर माग्ने कारण चहलपहल बढ्दो हुने अध्यक्ष गाहाले बताए । अध्यक्ष गाहाका अनुसार यसपालि पूजा गर्ने जोग परेको दाबी छ । कात्तिक महिनामा बालाचतुर्दशी परेकोमा जोग परेको भन्ने चलन छ । ‘पहिला पहिला रातिको समयमा नै पूजा हुने चलन रहेको थियो । पछिल्ला वर्ष श्रद्धालु भक्तजनका सहजताका लागि दिनमा समेत पूजा हुन थालेको छ,’ अध्यक्ष गाहाले भने ।

सत्यवती मन्दिर विकास समितिको आयोजनामा हुन लागेको तीन दिने धार्मिक मेलाका अवसरमा देश तथा विदेशबाट झण्डै तीन लाख पर्यटक आउने विश्वास गाउँपालिकाको अध्यक्ष ओमबहादुर घर्तीको छ ।

मेला भर्न जिल्लाभित्रका साथै गुल्मी, रुपन्देही, स्याङ्जा, कपिलवस्तु, नवलपरासी, चितवन, काठमाडौँ, दाङ, पोखरासहित भारतको गोरखपुर, गोन्डा, लखनउ, नौतनहवाबाट पनि भक्तजन आउने बताइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर