• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

‘महरा सरको विषयलाई अपराधीकरण गर्न खोजियो, न्यायलयले पुर्नविचार गरोस’–मन्त्री पुन

दाङ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले नेता भन्दैमा खेद्ने खालको प्रवृत्ति राम्रो नहुने बताएका छन् । विभिन्न सवस्टेशन उद्घाटनका लागि आफ्नो चुनावी क्षेत्र रोल्पा लगायत प्रदेश ५ का विभिन्न जिल्लाहरुको भ्रमणमा रहेका मन्त्री पुनले शुक्रबार बिहान दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन् । 

पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको बारेमा पत्रकारले गरेको प्रश्नको जवाफमा मन्त्री पुनले भने–‘नेता भन्दैमा अलिकति खेद्ने खालको, नेतालाई चाँही जसरी पनि अपराधीकरण र अपराधी पुष्टि हुने खालको चाँही त्यस्तो कोसिस यहाँबाट हुँदैन् । जे भएको हो त्यहीचाँही राज्यका यन्त्रहरुले र स्वतन्त्र न्यायलयले गर्नुपर्छ, हेर्नुपर्छ ।’ 

महराको नैतिकतामाथि उठेको प्रश्नको व्यक्तिगत र राजनीतिक रुपमा आफ्नो गुरुपनि भएकोले आफू दुःखी भएको पनि मन्त्री पुनले प्रष्ट्याए । मिडियामा महराको विषय उठान भएपछि पूर्वसभामुख ओन्सरी घर्तिसंग जोडिएर आएका समाचारप्रति स्पष्ट भइसकेको भन्दै मन्त्री पुनले अदालती प्रक्रिया चलिरहेको बताए । उनले भने–‘अलिकति नैति प्रश्न भनेर उठेको प्रश्नलाई अलि बढि अपराधीकरण गर्ने खालको भयो कि भन्ने मेरो व्यक्तिगत राय हो ।’ 

अदालतमा चलिरहेको विषयलाई आफू एउटा जिम्मेवार मन्त्री र नेकपाका नेताको हैसियतले आफ्नो गुरुको बारेमा एउटा प्रक्रिया चल्दासम्म बोल्नु त्यति राम्रो नहुने उनले बताए । नैतिक प्रश्नलाई अपराधीकरण जस्तो बनाइयो कि भन्दै अदालतले पनि यो विषयमा पुर्नविचार गर्नुपर्छ भन्ने विचार मन्त्री पुनले पत्रकार सम्मेलनमा राखे । 

‘पार्टीले नैतिक रुपमा राजीनामा दिएर अदालती प्रक्रियाको फेस गर्नुस् भनेकोले यो नै पार्टीको आधिकारिक धारणा हो’ मन्त्री पुनले भने–‘हामीले हेर्दा दशैंपनि रोक्ने, तिहारमा पनि त्यहीँ राखने र अहिले पनि थुनामै राखेर कारबाही गर्नु भनेको त भागिहाल्ने खालको हो नी त ? एउटा अवस्थामा राजीनामा दिएर कानुनी प्रत्रिया फेस गरेको भए त्यसलाई अलि बढि अपराधीकरणतिर लगियो कि भन्ने कुरा बौद्धिक समूहमा पनि लागेको छ ।’

तर, जुनसुकै पदमा रहेको भएपनि त्यसलाई हुने कानुनी प्रक्रिया बराबर हुन्छ विषय नेकपा सरकारले गरेको मन्त्री पुनले दाबी गरे । ‘दुई तिहाई सरकार भएको कारणले गुपचुप गर्छ कि, कानुन छल्छ कि भन्ने त्यो चाँही हुँदेन, सबैले नै यो चाँही कानुनु फेस गर्छ भन्ने कुरा चाँही नेकपाले राम्रो सन्देश छापेको छ ।’ मन्त्री पुनले स्पष्ट पारे । 

नेकपाले विना हस्तक्षेप न्यायलयलाई छाडेको भन्दै न्यायलयलाई प्रभावित पार्ने कम कहीँ कतैबाट नभएको उनले बताए । नयाँ सभामुखको चयनका लागि सरकारले केही सोचेको होला भन्दै मन्त्री पुनले भने–‘अस्तिसम्म थुनछेकका बहस लगायतका प्रक्रिया भएको हुनाले एकपटक निर्णयमा नपुगेको हुनसक्छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर