• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

खानेपानी मन्त्रीद्वारा पनौतीमा प्रशोधित पानीको प्लान्ट निरीक्षण

पनौती । खानेपानी मन्त्री बिना मगरले नेपाल खानेपानी संस्थानको काभ्रे पनौतिस्थित प्रशोधित पानी उत्पादन केन्द्र प्लान्टको बुधबार निरीक्षण गरेकी छिन् ।  

संस्थानले आफैं लगानी गरेर प्रशोधित पानी उत्पादन गरी जार तथा बोतलमार्फत आमउपभोक्ता समक्ष पुर्याउने लक्ष्य लिई पनौती नगरपालिका क्षेत्रमा प्लान्टको स्थापना गरेको हो । उक्त प्लान्टको निरीक्षण गर्न खानेपानी मन्त्री मगर पनौती पुगेकी हुन् ।

प्रशोधित पानीको प्लान्ट निरीक्षण गर्दै मन्त्री मगरले बजारमा प्रतिस्पर्धा गरेर संस्थानले गुणस्तरीय पानी आम उपभोक्ता माझ पुर्याउने गरी योजना बनाउन निर्देशन दिइन् । ‘संस्थानको यो पहिलो उत्पादन केन्द्र हो । अन्य स्थानीय तहहरूमा यसरी नै पानी प्रशोधन गर्ने प्लान्ट राख्ने गरी योजना बनाउन जरुरी छ,’ उनले भनिन्, ‘यो एउटा उदाहरण मात्र हो । अन्तर्राष्ट्रिय बजारमा हाम्रा मिनरल वाटर निर्यात गर्न सक्ने गरी योजना बनाउनुपर्छ । संस्थानले काम गर्न सक्छ भन्ने कुरा प्रमाणित गर्न सकोस् ।’

नेपालका विभिन्न ठाउँहमा यस्तै पानी प्रशोधन प्लान्ट कहाँकहाँ राख्न सकिन्छ त्यस बारेमा सम्भावना खोजी गर्न मन्त्री मगरले संस्थानलाई निर्देशन दिइन् । उनले संस्थानलाई आफ्नो क्षमता अघि बढाउन निर्देशनसमेत दिइन् । सगरमाथा लगायतका हिमालबाट बग्ने पानीको प्रशोधन गरेर अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने सम्बन्धमा सम्भावनाको खोजी भइरहेको उनको भनाइ थियो । 

संस्थानका महाप्रबन्धक डा. भूपेन्द्र प्रसादले संस्थान अब खुला बजार प्रतिस्पर्धाका लागि तयार भइसकेको बताए । महाप्रबन्धक प्रसादले पनौतीजस्तै अन्य नगरपालिकामा समेत मिनरल वाटर प्लान्ट राख्ने तयारी भइरहेको जानकारी दिए ।

पनौती नगरपालिकाका नगर प्रमुख मेयर भीम न्यौपानले संस्थानलाई पानीको प्लान्ट क्षमता विस्तार गर्नका लागि आफूहरूले पुरा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

संस्थानको उक्त प्लान्ट २०७४ भदौदेखि सञ्चालनमा आएको हो । यसको पानी उत्पादन क्षमता प्रतिघण्टा २ हजार लिटर रहेको छ । संस्थानले यस प्लान्टबाट दैनिक ३८ हजारदेखि ४० हजार लिटरसम्म पानी उत्पादन गर्न सकिने जनाएको छ । अहिले दैनिक २ सय ६५ जार पानी उत्पादन हुँदै आएकोमा आगामी दिनमा यसको क्षमता विस्तार गरिने महाप्रबन्धक प्रसादको भनाइ छ । उत्पादनसँगै जारको संख्या बढाएर बजारमा प्रतिस्पर्धा गर्ने र बिक्री बढाउने रणनीति संस्थानले लिएको उनको भनाइ छ ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर