• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

महिला भलिबल टिमलाई उपराष्ट्रपतिको सम्मान

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई सम्मान गरेका छन् । उपराष्ट्रपति पुनले मंगलबार दिउँसो उपराष्ट्रपतिको भवन, हरितगृहमा आमन्त्रण गरेर उपाधि जित्ने राष्ट्रिय महिला भलिबल टिमका प्रशिक्षक र खेलाडीलाई सम्मान गरेका हुन् । 

उपराष्ट्रपति पुनले राष्ट्रिय महिला भलिबल टिमको नाममा कप्तान अरुणा शाही र प्रमुख प्रशिक्षक जगदीश भट्टलाई लिखित बधाई सन्देश हस्तान्तरण गरेका छन् । उनले एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा सहभागी खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई खादा लगाएर सम्मान गरेका थिए ।

खेलाडीहरूलाई सम्मान गर्दै उपराष्ट्रपति पुनले भलिबलको ४१ वर्षको अन्तर्राष्ट्रिय यात्रामा नेपाललाई पहिलो उपाधि दिलाएर राष्ट्रिय महिला भलिबल खेलाडीहरूले राष्ट्रको गौरव र प्रतिस्ठा बढाएको बताए । उनले आगामी दिनमा भलिबलमा अझै ठूला अन्तर्राष्ट्रिय उपाधि जित्ने अपेक्षासमेत व्यक्त गरे । 

उपराष्ट्रपतिले नेपालको सबै भूभागमा खेलिने भलिबल सबैभन्दा लोकप्रिय खेल भएको उल्लेख गर्दै भलिबलको विकासका लागि सरकारले छुट्टै बजेटको व्यवस्था गर्नुपर्ने बताए । उनले आसन्न साग प्रतियोगितामा उपाधीका लागि राष्ट्रिय महिला भलिबल टिमलाई शुभकामनासमेत दिए ।

सम्मान ग्रहण गर्दै राष्ट्रिय महिला भलिबल टिमका कप्तान अरुणा शाहीले भलिबलमा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय उपाधि दिलाउन पाउँदा अत्यन्त खुसी लागेको बताइन् । उनले उपराष्ट्रपतिबाट पाएको सम्मानले आगामी दिनमा खेलमा थप राम्रो गर्ने हौसला मिलेको बताइन् । 

प्रमुख प्रशिक्षक जगदशी भट्टले महिलो नेपाली चेलीहरूले भलिबलमा इतिहास रचेको बताउँदै आगामी दिनमा थप राम्रो गर्नका लागि राज्यले भौतिक पूर्वाधारलगायतको क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । 
 
नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले भलिबलमा राष्ट्रले ठूलो सफलता हासिल गरेको बताए । उनले भलिबलको विकासका लागि आफूहरू प्रयासरत रहेको भए तापनि राज्यको लगानी कम रहेको बताए । सो अवसरमा उपराष्ट्रपति पुनले नेपाल भलिबल संघका पदाधिकारीहरूलाई धन्यवाद दिएका थिए ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर