• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

युरोकप छनोटमा बेल्जियमको शतप्रतिशत जित

एजेन्सी । युरोकप छनोटअन्तर्गत मंगलबार राति भएको खेलमा पनि बेल्जियमले शानदार जित निकालेको छ । यससँगै बेल्जियमले युरोकप छनोटका सबै खेल जितेको छ । बेल्जियमले सबै खेलमा शतप्रतिशत नतिजा पस्किँदै ३० अंक जोडेको छ । 

बेल्जियम यसअघि नै युरोकपमा छनोट भइसकेको छ । युरोकप छनोटमा बेल्जियमले औसतमा ४ गोल गरेको छ । उसले छनोट चरणका १० खेलमा ४० गोल गरेको हो ।

मंगलबार राति भएको खेलमा बेल्जियमले साइप्रसलाई ६–१ गोल अन्तरले हराएको हो । समूह चरणको अन्तिम खेलमा बेल्जियमले शानदार जितको नतिजा आत्मसात् गरेको हो । 


मंगलबार राति भएको खेलमा बेल्जिमयका लागि केभिन डी ब्रुइन र क्रिस्टियन बेनटेकले समान २ गोल गरेका हुन् । बेल्जियमले एक गोल आत्मघातीका रुपमा उपहार पाएको हो भने अर्को गोल यानिक कारास्कोले गरेका हुन् । 

बेल्जियमले साइप्रसलाई भारी गोलअन्तरले पराजित गरे पनि खेलमा अग्रता भने साइप्रसले गरेको थियो । साइप्रसका लागि निकोलस एनोउसले १४औं मिनेटमा गोल गरेका हुन् । 

तर, त्यसको दुई मिनेटपछि नै बेनटेकले गोल गर्दै बेल्जियमलाई खेलमा फर्काएका थिए । त्यस्तै, ब्रोइनले ३५औं मिनेटमा बेल्जियमलाई अघि बढाउने काम गरे भने ४१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले बेल्जियमलाई ३–१ को स्थितिमा ल्याए । ४४औं मिनेटमा कारास्कोले गोल गर्दै खेललाई ४–१ ले अग्रता दिलाए । 

साइप्रसका क्रिस्टोफोरोले ५१औं मिनेटमा आत्मघाती गोल गरेपछि बेल्जियम अग्रता झन् फराकिलो बन्यो । ६७औं मिनेटमा बेनटेकले पुनः गोल गर्दै टोलीलाई ६–१ ले जित दिलाए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर