विराटनगरका चोकहरुमा चार आकाशे पुल बन्ने पक्का

विराटनगर । विराटनगरको प्रमुख तीन चोकमा आकाशे पुल बन्ने भएको छ । महानगरपालिकाले आकाशे पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तथा ग्राफिक डिजाइन स्वीकृतीका लागि सडक विभागमा पठाइसकेको छ । केही दिन भित्रै महानगरपालिकाले आकाशे पुल निर्माणकालागि बोलपत्र आव्हान गर्ने तयारी गरेको छ । 

विराटनगर–धरान सडक खण्ड अन्तरगत पर्ने कञ्चनबारी चोक, बरगाछी चोक र महाबीर चोक (घाँस चोक) मा आकाशे पुल निर्माण हुने विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले जानकारी दिए । 

रानी –इटहरी– धरान छ लेन सडक अन्तरगत पर्ने यि चोकहरुमा अधिक भिडभाड हुने गरेको छ । सवर्वसाधारणलाई सडक वारपार गर्न कठिनाई भएको र आकाशे पुल नहुँदा जथाभावी  बाटो काट्नुपर्ने अवस्था छ । ट्राफिक व्यवस्थापनमा कठिनाई हुनुका साथै दुर्घटनासमेत बढेपछि महानगरपालिकाले आकाशे पुल निर्माणको प्रकृया अघि बढाएको हो । चालु आर्थिक वर्षको बजेटमा आकाशे पुल निर्माणकालागि महानगरले तीन करोड रुपियाँ विनियोजन गरेको छ । 

विराटनगरमा निर्माण गर्न लागिएको आकाशे पुल पूर्ण ‘स्टिल स्ट्रक्टर’मा आधारित रहेको इन्जिनियर अर्जुन थापाले जानकारी दिए,  कुनै कारणले पुल अन्यत्र सार्नु परेमा वा मोनोरेल सञ्चालनका क्रममा हटाउनु पर्ने अवस्था उत्पन्न भएमा पुनप्र्रयोगमा ल्याउन सकिने भएकोले महानगरपालिकाले स्टिल स्ट्रकचरमा जोड दिएको हो । ईटा र सिमेन्टको प्रयोग गरेर आकाशेपुल बनाउँदा बढी खर्च हुने र पछि हटाउनु पर्दा पुनर्प्रयोग गर्न नसकिने भएकोले स्टिल स्ट्रक्चर रोजिएको महानगरपालिकाले जनाएको छ । तयार गरिएको डिपिआर अनुसार एउटा स्टिल स्ट्रक्चरको आकाशे पुल ९३ लाख ९० हजार रुपियाँमा तयार हुने उल्लेख छ । आकाशे पुल चालु आर्थिक वर्ष भित्रैमा सम्पन्न गर्ने महानगरपालिकाले जनाएको छ । 

तीस मिटर चौडा सडकमा दुवै तर्फ गरी ५ मिटर फुटपाथ छोडेर  २५ मिटर लम्बाइका  आकाशे पुल निर्माण हुने छन् । त्यसको उचाई ६ मिटर रहेको इन्जिनियर थापाले जानकारी दिए ।  आर.आर. इन्जिनियरिङ्ग कन्स्ट्रक्सन प्रा. लि.को तर्फबाट स्ट्रक्चर इन्जिनियर डा. राजन सुवालले आकाशे पुलको डिजाइन गर्नुभएको हो । सोही कम्पनीले डिपिआरसमेत तयार गरेको बताइएको छ । 

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले दुई तीन दिन भित्रै आकाशे पुल निर्माणकालागि बोलपत्र आव्हान गर्ने जानकारी दिए ।  सडक विभागसँग आकाशे पुल निर्माणकालागि स्वीकृती माग गर्दै पत्राचार गरिसकेको र स्वीकृती आउन केही समय लागेपनि बोलपत्र आव्हानको प्रकृया महानगरले अघि बढाउने अधिकारीले बताए । 

विराटनगरको बसपार्क क्षेत्रमा  एउटा आकाशे पुल बनाउन महानगरपालिकाले निजी क्षेत्रसँग प्रस्ताव गरेको छ । महानगरपालिकासँग बजेटको सिमितता रहेको भन्दै उसले सर्वसाधारण आवतजावतमा सबैभन्द धेरै चाप हुने विराटनगर बसपार्कमा स्टिल स्ट्रक्टरमै आधारित आकाशे पुल बनाउन अनुरोध गरेको अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर