• बुधबार ८-२५-२०७६/Wednesday 12-11-2019/ 01:53 pm

...अनि तपाईं सोध्नुहुन्छ रंगभेद कहाँ छ भनेर ?

यस ‘रंगभेद विरुद्ध एकता सभा तथा सांस्कृतिक विविधता झाँकी प्रदर्शन कार्यक्रम’ का सभापति महोदय, मञ्चमा आसीन मेरा साथीहरू तथा यहाँ उपस्थित समस्त जनसमुदाय,

काठमाडौंको मुटुमा आज २०७६ साल मंसीर ७ गते हामी यसरी जम्मा भएका छौं। यो ऐतिहासिक पल हो। यो अभूतपूर्व परिघटना हो । यो इतिहासको रचना हो ।

र आज हामी यहाँ जम्मा भएका छौं, हातमा हात मिलाएर आएका छौं, कुममा कुम जोडेर आएका छौं, पाइलामा पाइला मिलाएर आएका छौं, नजीकबाट आएका छौं, टाढाबाट आएका छौं, मेचीबाट आएका छौं, महाकालीबाट आएका छौं, शहरबाट आएका छौं, गाउँबाट आएका छौं, बस चढेर आएका छौं, उकाली ओराली हिँडेर आएका छौं, तर हामी आएका छौं, एक उद्देश्यका साथ, एक सपना का साथ, एक अठोठका साथ, एक प्रणका साथ, एक प्रतिज्ञाका साथ—कि रंगभेद अब सहँदैनौं, रंगभेदको अब अन्त्य हुनै पर्छ, रंगभेदको ठाउँ सद्भावले लिनै पर्छ ।

हामी जम्मा भएका छौं — त्यो ऐतिहासिक विभेदलाई अन्त्य गर्न । हामी जम्मा भएका छौं — त्यो कुरुप मानसिकतालाई आगोमा झोस्न । हामी जम्मा भएका छौं — त्यो मानवताको कलंकलाई सदाका लागि मेटाउन । हामी जम्मा भएका छौं — त्यो इतिहास रच्न ।

किनकि हाम्रा पूर्वजले, हाम्रा वीर शहीदहरू ले, हाम्रा अग्रजहरूले रंगभेद होस् भनेर त्याग गरेका थिएनन्, एक माथि अर्कोले हेय भावले हेरोस् भनेर बलिदानी दिएका थिएनन्, एकमाथी अर्कोले विभेद गरोस् भनेर रगत बगाएका थिएनन् । हाम्रा पूर्वजले, हाम्रा शहीदहरूले, हाम्रा अग्रजहरूले समानताका लागि आहुति दिएका थिए, समताका लागि बलिदानी दिएका थिए, सम्मानका लागि ज्यानको बाजी थापेका थिए ।

आजको यस ऐतिहासिक घड़ीमा यस माटोका सम्पूर्ण पूर्वजहरूलाई, सम्पूर्ण वीर शहीदहरूलाई, सम्पूर्ण राजनैतिक योद्धाहरूलाई, सम्पूर्ण क्रान्तिवीरहरूलाई कोटि कोटि नमन गर्न चाहन्छु । र यो वाचा हाम्रो उहाँहरूसँग पनि छस् कि तपाईंले देखेको समानताको सपना, तपाईंले देखेको रंगभेदरहित समाज, तपाईंले देखेको सद्भावयुक्त समाज हामीले पूरा गर्छौं, त्यो पूरा गर्ने जिम्मेबारी हामीले लिन्छौं, त्यो साकार गर्ने अभिभारा हामीले बोक्छौं ।

काठमाडौंको केन्द्रमा आज हामी जम्मा भइराख्दा केही मान्छेहरूले बुझपचाएर सोध्दै छैन् ... हैन, नेपालमा रंगभेद कहाँ छ ? पूर्वाग्रहको पट्टी बाँधेर उहाँहरूले सोध्न सक्नुहुन्छ ? दिनमा सूर्यको प्रकाश कहाँ छ ? उहाँहरूले सोध्न सक्नुहुन्छः यहाँ हावा कहाँ छ ? हामीले उहाँहरूलाई भन्छौं, तपाईं आफ्नो पूर्वाग्रहको चश्मा त फुकालेर हेर्नोस्, अज्ञानताको हिरण्मयेन पात्रेणलाई उघारेर त हेर्नुस्, आफ्नो ज्ञानचक्षुलाई खोलेर त हेर्नुस् । यो रंगभेद टुँडिखेलमा घाम तापी राखेको छैन्, यो रंगभेद दरबारमार्गको डिस्कोबारमा नाची राखेको छैन, यो रंगभेद रत्नपार्कमा कतै डुलिराखेको छैन । यो रंगभेद कतै बाहिर छैन, रंगभेद तपाईंको मस्तिष्कमा छ, तपाईंको मनमा छ, तपाईंको दृष्टिमा छ, तपाईंको सोचमा छ, तपाईंको पूर्वाग्रहमा छ। रंगभेद अस्वीकार गर्नु नै सबभन्दा ठूलो रंगभेद हो । रंगभेद अस्वीकार गर्नु मानवतामाथिको अपराध हो । रंगभेद अस्वीकार गर्नु विभेदको प्रथम बीजारोपण हो । हुँटिट्याऊँले आफ्नो टाउको बालुवामा लुकाउँदैमा संसार समाप्त हुँदैन ।

तपाईं सोध्नुहुन्छ रंगभेद कहाँ छ ?  हामी सोध्छौं, कुन पाइलामा रंगभेद छैन ? जहाँको लोकोक्ति नै छ “मनु मखु मर्स्या खः” त्यहाँ सोध्नुहुन्छ रंगभेद कहाँ छ ? जहाँ कुरै पिच्छे, रंगभेदी गाली दिइन्छ, त्यहाँ सोध्नुहुन्छ रंगभेद कहाँ छ ? जहाँ हरेक टिकट काउन्टरमा, हरेक कार्यालयमा, हरेक पसलमा मधेशीलाई “तपाईंसँग नागरिकता छ ?” भनेर सोधिन्छ, त्यहाँ सोध्नुहुन्छ रंगभेद कहाँ छ ? जहाँ रंगभेदी नारा दशरथ रंगशाला गुञ्जिन्छ, त्यहाँ सोध्नुहुन्छ रंगभेद कहाँ छ ? जहाँ बाँके बैजापुरबाट काठमाडौं घुम्न आएका राजेश चौधरीलाई रत्नपार्कमा पिटेर मारिन्छ, त्यहाँ सोध्नुहुन्छ रंगभेद कहाँ छ ? जहाँ प्रोफेसरले मलाई कक्षामा उठाएर धोतीहरूले त यहाँ पनि टप गर्ने भए, हाम्रा सबै अवसर खोसेर लाने भए भन्नुहुन्छ, त्यहाँ सोध्नुहुन्छ रंगभेद कहाँ छ ? जहाँ काठमांडूको गल्लीमा कोही मधेशी धोती लगाएको मान्छे आउँदा खेरि धोतीनै फुस्काइन्छ, त्यहाँ सोध्नुहुन्छ रंगभेद कहाँ छ ? जहाँ ५० वर्षको वयस्कले १५ वर्षको मधेशी ठिटोलाई ओ भैया भन्दै हेपेर बोलाउँछ, त्यहाँ सोध्नुहुन्छ रंगभेद कहाँ छ ? जहाँ कुनै काउन्टरमा मधेशी गएपछि “क्या चाहिए भैया” भन्दै संवोधन गरिन्छ, त्यहाँ सोध्नुहुन्छ रंगभेद कहाँ छ ? जहाँ लोकस्टार जस्ता कार्यक्रममा मधेशी कलाकारलाई दुर्व्यवहार गरिन्छ, त्यहाँ सोध्नुहुन्छ रंगभेद कहाँ छ ? जहाँ हाम्रा फिल्म डाइरेक्टरलाई कफीसपमा मधेशी भनेर कफी खान दिइदैन, त्यहाँ सोध्नुहुन्छ रंगभेद कहाँ छ ? जहाँ कुरिंगटारको काउन्टरमा “नागरिकता छरु” भनेर प्रमाण मधेशी सँग बारम्बार माँगिन्छ, त्यहाँ सोध्नुहुन्छ रंगभेद कहाँ छ ? जहाँ साइकलमा तरकारी बेचेर गुजारा गर्नेको तरकारी फालिन्छ, त्यहाँ सोध्नुहुन्छ रंगभेद कहाँ छ ? जहाँ सैलूनमा आएर वित्थामा दसवटा गाली गरेर भद्रहरू जान्छन्, त्यहाँ सोध्नुहुन्छ रंगभेद कहाँ छ ?

जहाँ लोकतन्त्र बहाली पछि गजेन्द्र नारायण सिंहले काठमाडौंमा आमसभा गर्न खोज्दा मधेशी जनतामाथि ईंटा, ढुंगा र शीशीको वर्षा गरेर आक्रमण गरिन्छ, त्यहाँ सोध्नुहुन्छ रंगभेद कहाँ छ ? जहाँ ऋतिक रोशनले केही बोल्यो भन्दैमा काठमाडौंमा पार्टी कार्यालय जलाइन्छ, मधेशीको पसलहरूमा आगो लगाइन्छ, घर(घरबाट मधेशीहरूलाई निकालेर पिटिन्छ, नागरिकता खोसेर आगोमा झोसिन्छ, त्यहाँ सोध्नुहुन्छ रंगभेद कहाँ छ ? जहाँ इराकमा कुनै समूहले केही घटना गर्यो भन्दैमा काठमाडौंको मस्जिदमा आगो लगाइन्छ र घरघरबाट मधेशीलाई निकालेर पिटिन्छ, त्यहाँ सोध्नुहुन्छ रंगभेद कहाँ छ ?

जहाँ काठमाडौं वा पहाडमा व्यापक तोडफोड गर्ने आन्दोलनकारीहरूमाथि पानीको फोहरा बरसाइन्छ, र मधेशीहरू सडकमा आयो भन्दैमा गोली बरसाइन्छ, त्यहाँ सोध्नुहुन्छ रंगभेद कहाँ छ ? जहाँ न्यूजबिटहरूमा मधेशका सबै लेख र समाचारहरू काटिन्छ, त्यहाँ सोध्नुहुन्छ रंगभेद कहाँ छ ? जहाँ विदेशीहरू अमेरिकी, अफ्रिकी, यूरोपियन न भएर ुखैरेु वा ुहप्सीु हुन्छन्, त्यहाँ सोध्नुहुन्छ रंगभेद कहाँ छ ? जहाँ भारतीय शब्दलाई धोती शब्दले पर्यायवाची शब्दको रुपमा विस्थापित गरिसकेको छ, त्यहाँ सोध्नुहुन्छ रंगभेद कहाँ छ ? जहाँका शासकवर्ग आफूलाई हिटलरकै जात शुद्ध आर्य भएको भन्दै गौरव गर्दै हिँड्छन्, त्यहाँ सोध्नुहुन्छ रंगभेद कहाँ छ ? तत्कालीन् राष्ट्रपति रामवरण यादवलाई सडकमा रंगभेदी कुरुप गालीहरूको झरी खेप्नु पर्छ, र तपाईं सोध्नुहुन्छ रंगभेद कहाँ छ ?

जहाँ हामीले आज भन्दा ठीक ५ वर्ष अगाडी मंसीर १० गते सुन्धारामा जम्मा हुँदा छालाको रंग हेरेर ४०० जना मधेशीलाई राज्यले पक्राऊ गर्छ, त्यहाँ सोध्नुहुन्छ रंगभेद कहाँ छ ?

धर्मको ८४ लाख योनि भनौं वा विज्ञानको ८७ लाख प्रजातिमा रंगभेदको कलंग मानवमा मात्रै रहेको छ । रंगभेद कतै खेतमा उब्जेको हैन । रंगभेद कतै रूखमा फलेको हैन। रंगभेद कतै आकाशबाट झरेको पनि होइन । रंगभेद मानवनिर्मित हो । रंगभेदको खेत तपाईं हाम्रो संकीर्ण सोच हो, त्यसमा मलजल गर्ने खोक्रो राष्ट्रवादले हो, त्यसलाई जगेर्ना गर्ने राज्यले हो । मुलुकी ऐनले नेपालमा रंगभेद संस्थागत गरेकै थियो, र अहिले पनि घोषित अघोषित रुपमा राज्यले रंगभेदलाई प्रश्रय दिएकै छ । त्यसैले त भनिन्छ, रंगभेद कुनै खराब मानिसले हैन, खराब नीतिले कायम राखेको हुन्छ। राज्यले ने रंगभेदलाई संरक्षण गर्ने नीति लिने हो भने रंगभेद कसरी समाप्त हुन सक्छ ?

खोक्रो राष्ट्रवादीहरूले मधेशीमाथि प्रश्नचिन्ह उठाउनु भन्दा अगाडी, रंगभेदको शिकार बनाउनु भन्दा अगाडी म तिनीहरूलाई भन्न चाहन्छु । सन् १९४७ मा ‘गोर्खा भर्ती केन्द्र’ सम्झौता गरेर नेपाली युवालाई बेच्ने कुनै मधेशी थिएनन् । २००७ सालमा नेपाललाई पराधीन बनाउने सम्झौता गर्ने कुनै मधेशी थिएनन् । २००८ सालमा केबिनेटको बैठकमा विदेशी राजदूतलाई अनिवार्य रूपमा उपस्थित गराउने कुनै मधेशी थिएनन् । ललितपुरको जाउलाखेलमा विदेशी सेनाको ब्यारेक राख्न सम्झौता गर्ने कुनै मधेशी थिएनन् । २०१० सालमा विदेशी सेना बोलाएर दार्चुलाका आफ्नै नागरिक किसानहरूलाई हत्या गर्न लाउने कुनै मधेशी थिएनन् । नेपाली भूमिमा विदेशी सेनाको चौकी स्थापना गर्न दिने कुनै मधेशी थिएनन्। २०११ सालमा कोशी सम्झौता गर्ने र कोशी बेच्ने कुनै मधेशी थिएनन् । २०१६ सालमा राष्ट्रघाती गण्डक सम्झौता गर्ने कुनै मधेशी थिएनन्। कालापानीमा विदेशी सैनिक तैनाथ राख्ने सम्झौता गर्ने मधेशी थिएनन् । लिपुलेक लिम्पियाधुरा बेच्ने मधेशी थिएनन्। टनकपुर बेच्ने मधेशी थिएनन्। महाकाली संधि गर्ने मधेशी थिएनन् । १०,८०० मेगावाटको कर्णाली–चिसापानी परियोजना टाटपल्टेको एनरोनलाई सुम्पने कुनै मधेशी थिएनन् । माथिल्लो कर्णाली जिएमआरलाई बेच्ने कुनै मधेशी थिएनन्। अरूण तेस्रो सतलजलाई बुझाउने कुनै मधेशी थिएनन् । बिप्पा सम्झौता गर्ने कुनै मधेशी थिएनन् । २०७३ सालमा २५ बूँदे सम्झौता गरेर नेपालको परराष्ट्र नीति विदेशीको हाथमा बेच्ने कुनै मधेशी थिएनन् ।

यहाँसम्म कि मधेशकै जंगल कटाएर बेच्ने मधेशी थिएनन् । र अहिले मधेशको नदीनालाबाट बालुवा र गिट्टी बेच्ने, चुरिया कटाएर बेच्ने कुनै मधेशी होइनन् । हिजो मात्रै समाचारमा पढें, मंत्रीपरिषद्ले तीनजनाको नागरिकता खारेज गरेको भनेर । ती नेपाली नागरिकताहरू बेच्ने कुनै मधेशी थिएनन् ।

उल्टा मधेशी माथि प्रश्न चिन्ह उठाउने ? मधेशीको राष्ट्रियतामाथि औंला ठड्याउने ? मधेशीको बफादारितामाथि आंशका गर्ने ?

मधेशी त बिना बर्दीका सेना बनेर सीमानामा खड़ा छन् । बिना उर्दीका रक्षक बनेर तैनात छन् । सेनामा प्रतिबन्धित भए पनि सैनिक बनेर तैनात छन् । देवनारायण यादवजस्ता लाखौं मधेशीहरू आफू अपहेलित भए पनि सीमा रक्षाका लागि आफ्नो रगत बगाउन तैयार रहन्छन् । तिलाठीमा गएर हेर्नुस्, सुस्तामा गएर हेर्नुस्, साक्षी बनेर ठिंग उभिएका दशगज़ाका सैकडौं हजारौं स्तम्भहरूलाई सोध्नोस् । देश बेच्ने त तिनै खोक्रा राष्ट्रवादीहरू हुन्, हामी त सिंगो राष्ट्र निर्माण गरेका छौं ।

हामी मधेशी राष्ट्र निर्माता हौं । नागदहलाई बस्न योग्य मधेशीले बनाएको हो । यहाँको बस्ती मधेशीले बसाएको हो । ज्ञानको ज्योति मधेशीले फैलाएको हो । गुम्बामा कुदिएको दुई आंखाहरू मधेशीकै हुन् । भुक्तमानदेखि गोपालवंशी, महिषपाल वंशी, लिच्छवी, मल्ल सबै मधेशीहरूले यहाँको सभ्यता निर्माण गरेको हो । कान्तिपुरको कान्ति र ललितपुरको लालित्य मधेशीले गर्दा नै हो। येँइ यल ख्वपको सभ्यता मधेशीले गर्दा नै हो । यहाँको काष्टमण्डपहरू, यहाँका दरवारहरू, यहाँका पौवापाटीहरू, यहाँका पाटीको थाम, मेठ, टुँडाल र निदालहरू मधेशीले बनाउन लगाएका हुन् । यहाँको तलेजु भवानी मधेशीहरूकै कुलदेवी हो, सिमरौनगढ़बाटै ल्याएरै स्थापित गरिएको हो। रञ्जनालिपी तिरहुतालिपीकै छायाँ हो । १२००० तिरहुतिया सेनाले रक्षा गरेको यहीं हो । किर्तीपुरको युद्धमा पृथ्वी नारायण साहलाई जीवनदिने मधेशी नै हुन् । उनको ज्यान बचाएर डोलामा नुवाकोट सम्म छोडिदिने मधेशी नै हुन् । काठमाडौंमाथि पटक पटक विजय गर्ने डोयहरू मधेशी नै हुन् ।

मधेशीले चलाएको काल नेपाल इतिहासको स्वर्णकाल हो । मधेशीले चलाउँदा सम्म नेपाल मण्डल विश्वमा सम्पन्न राष्ट्र थियो, विदेशलाई ऋण दिन सक्ने राष्ट्र थियो। विश्वलाई जनकको तत्वज्ञान दिने मधेशी हुन् । विश्वलाई वैदेही दिने मधेशी हुन् । विश्वलाई गर्गी दिने मधेशी हुन् । विश्वलाई ज्ञानको ज्योति बुद्ध दिने मधेशी नै हुन् । आज सम्म पनि पहाड़का पाखा, पखेरा, कुना, कन्दरा तथा गाउँवस्ती गएर पढाउने र ज्ञान र सीपको ज्योति फैलाउने मधेशी नै हुन् । दुर्गम ठाउँहरूमा पुगेर उपचार गर्ने मधेशी नै हुन् । शिक्षा र चेतना फैलाउने मधेशी नै हुन् ।

त्यतिमात्रै हैन, आधुनिककाल खण्डका हरेक राजनैतिक परिवर्तनमा मधेशीको योगदान छ, मधेशबिना त्यो परिवर्तनको परिकल्पना पनि गर्न सकिँदैन । २००७ सालको आन्दोलन कुनै पहाडमा भएको थिएन, मधेशमा भएको थियो । मधेशीहरूले बलिदानी थिएका थिए, मधेशीहरुले त्याग दिएका थिए, मधेशीहरू बलि चढेका थिए । सप्तरीकै हनुमाननगर जेल कांडबाट शुरुवात् भएको थियो । काँग्रेसका नेताहरूलाई बासमती चामल र रहुमाछा खुवाएर पाल्ने त्यै मधेश हो । कम्युनिष्टका नेताहरूलाई प्रशिक्षण दिने त्यै मधेश हो । माओवादी आन्दोलनमा सेनाको बन्दुकको गोलीको चारो बन्दिने त्यै मधेशी हुन् । गणतन्त्रको ज्ञान ल्याउने त्यै मधेशी हुन् । तर आज काँग्रेस आऊन्, कम्युनिष्ट आउन्, राजतन्त्र रहून् वा गणतन्त्र रहून, मधेशीमाथि विभेद र रंगभेद जारी छ । शोषण जारी छ । दमन जारी छ ।

हामीले राजतन्त्रमा भोग्यौं, राणातन्त्रमा भोग्यौं, लोकतन्त्रमा भोग्यौं, गणतन्त्रमा भोग्दैछौं। आखिर हामीले भोग्नु पर्ने कहिलेसम्म ? मधेशी हेपिनु पर्ने कहिलेसम्म ? रंगभेद सहनुपर्ने कहिलेसम्म ? विभेद सहनु पर्ने कहिलेसम्म ? मौलिक अधिकारका लागि लडनु पर्ने कहिलेसम्म ? मारिनु पर्ने कहिलेसम्म ? विस्थापित हुनु पर्ने कहिलेसम्म ? हामी आँप बनेर झरिरहनुपर्ने कहिलेसम्म ?

हामी आँप हैनौं, हामी जीवित मान्छे हौं । आत्मसम्मान खोज्नु हाम्रो प्राकृतिक प्रक्रिया हो । किनकि आत्मसम्मान बिनाको जीवन हजारौं मृत्यु समान हुन्छ । सम्भावितस्य चाकीर्तिर्मरणादतिरिच्यते (गीता २÷३४)

त्यसैले अब हाम्रो चयन गर्ने बेला आएको छ, चयन गर्ने बाध्यता आएको छ, चयन गर्ने विकल्प आएको छ। हामी हातमा हात जोडेरै खोला तर्न सक्छौं, या अलग भएर खोलामा दुबैजना बग्न सक्छौं । चयन गर्ने काम हाम्रो हो । हिटलरको बाटो रोज्ने कि फ्रेडरिक क्लार्क बन्ने, चयन हाम्रै हो ।

सह नाववतु सह नौ भुनक्तु को वैदिक संस्कृति र परम्परा बोकेका हामी सद्भाव कायम राख्न सकौं, सहकार्य गरेर अगाडी बढन सकौं, सम्मान दिएर सम्मानपूर्वक वाँच्न सकौं । पशुपतिको आर्यघाटमा गएर जहिले म टोलाउँछु, कालो खरानी सिवा के नै देख्छु ? अन्ततः हाम्रो अन्तिम भौतिक पहिचान नै पञ्चतत्व हो । अनि हाम्रो दृष्टि पातलो छालामै अड्केको किन ?किताबको गाता मैं अड्केको किन ? शब्द मैं अल्झेको किन ?

अँध्यारोले अँध्यारो काटन सक्दैन, कुरुप मानसिकताले कुरुप मानसिकता जित्न सकिदैन । हामी प्रेमले जितौं । सद्भावले जितौं । सकारात्मकताले जितौं । सहकार्यले जितौं । सम्भावना आकाश सरी छ । मानवता सागर सरी छ । सागरको एक दुई थोपा फोहोर भयो भन्दैमा सागर फोहर हुँदैन ।

त्यही भएर हामीले जहिले पनि सद्भावको बाटो रोज्दै आएका छौं । हामीमाथि कैयन् लाञ्छना लगाइए, कैयन दमन गरिए, आफ्नो अधिकार माग्दा लाठी बरसाइए, आफ्नो आत्मसम्मान खोज्दा मेरो खुट्टा प्रहरीले भाँचिदिए, तैपनि हामी हाम्रो सद्भावको आस्थामाथि अडिग रह्ययौं, बुद्धको मार्गमाथि अडिग रह्यौं, गांधीको सिद्धान्तमाथि अडिग रहयौं । प्रहरीले गरेको दमनको प्रत्युत्तरमा हामीले फूल दिने सयपत्री आन्दोलन नै चलायौं । २०७२ साल वैशाख १२ गते पहाड़मा महाभूकम्प जाँदा खेरि हामीले भोको बसेर एक दिन उपवास गरी अन्नदान गर्ने आन्दोलन नै मधेशभरि चलायौं। हामीले हरेक पाइलामा सद्भावलाई रोज्यौं ।

तैपनि कैयन् साथीहरुले हामीलाई सोध्छन्, आखिर तपाईंहरूले खोजेको के ? यो रंगभेद दिवस हरेक वर्ष मनाएर गर्न खोजेको के ? हरेक वर्ष सैकडौं गिरफ्तारी दिएर भन्न खोजेको के ?

हामीले खोजेको यत्ति हो कि मधेशीलाई मानवको श्रेणीमा राखियोस् । मधेशीलाई मानव सरह व्यवहार गरियोस्, हामीले खोजेको यत्ति हो । उनीहरुलाई मानवको गिन्तीमा राखिओस्, हामीले खोजेको यत्ति हो । हाम्रा सन्तानहरू निर्भिक भएर आफ्नो शीर ठाडो पारेर यो भूमिमा हिँड्न सकून्, हामीले खोजेको यत्ति हो । हाम्रा सन्तानहरू निर्धक्क काठमाडौंका कलेज र स्कूलहरू जान सकून्, हामीले खोजेको यत्ति हो । कालो भएकै कारणले कक्षाकोठामा उनीहरू रंगभेदको शिकार नहोऊन्, हामीले खोजेको यत्ति हो । कालो भएकै कारण उनीहरू जागिरबाट वंचित न होऊन्, हामीले खोजेको यत्ति हो । कालो छाला देखेर कसैलाई रत्नपार्कमा मर्ने गरी न पिटिओस्, हामीले खोजेको यत्ति हो । काठमाडौंको गल्लीमा कसैलाई धोती न भनियोस्, कसैलाई मर्स्या न भनियोस्, कसैलाई काले नभनियोस्, हामीले खोजेको यत्ति हो । काठमाडौंको आँखीझ्यालबाट चियाएर मधेशीलाई देखाएर भूतप्रेत भनेर परिचय न गराइयोस्, हामीले खोजेको यत्ति हो ।

कसैको आत्मसम्मान पुलिस र सेनाको बूटले न कुल्चिउन्, हामीले खोजेको यत्ति हो । कसैको आवाज बन्दुकको नालले बन्द नगरिओस्, हामीले खोजेको यत्ति हो । कसैको स्वतन्त्रतता हाथमा हथकडी लगाएर अपहरित नहोस्, हामीले खोजेको यति हो। कसैलाई आफ्नै भूमिमा कमैया कमलरी र दास नबनाइयोस, हामीले खोजेको यत्ति हो । कसैलाई आफ्नै भूमिबाट, आफ्नै घरबाट निकालेर विस्थापित नगरियोस्, हामीले खोजेको यत्ति हो ।

हामीले कुनै याचना गरेका छैनौं, हामीले कुनै भीक्षा माँगेका छैनौं, हामीले कसैसँग दयाको अपेक्षा गरेका छैनौं । रंगभेद जघन्य अपराध हो, हामीले अपराध निर्मूल गरौं भनेका हौं, अपराध रोकौं भनेका हौं । रंगभेद हटाएर तपाईंले हामीमाथि कुनै उपकार गर्ने हैन, तपाईंले आफूमाथि गर्ने ठूलो उपकार हो, आफ्नो क्यान्सर ग्रष्त रंगभेदरूपी मानसिक ग्रन्थीलाई काटेर तपाईंले आफ्नो जीवन रक्षा गर्ने हो, आफ्नो व्यक्तित्व रक्षा गर्ने हो, राष्ट्र रक्षा गर्ने हो ।

त्यही भएर आज हामी यहाँ उभिएर प्रण गरौं, यो माटो छोएर प्रण गरौं, मुटुमा हात राखेर प्रण गरौं, पूर्खाको बलिदानीलाई साक्षी राखेर प्रण गरौं कि आज देखि कुनै पनि मनुष्यलाई हामी रंगभेदको शिकार बनाउने छैनौं, कसैलाई त्यस कुरुप मानसिकताको चश्माले हेर्ने छैनौं, कसैलाई होच्याउने र विभेद गर्ने छैनौं । हामी यहाँ उभिएर प्रण गरौं कि हामी रंगभेद सहँदैनौं, र रंगभेद गर्न पनि दिँदैनौं। हामी यहाँ उभिएर प्रण गरौं हामी विभेदरहित समाज निर्माण गर्नेछौं, रंगभेदरहित समाज निर्माण गर्नेछौं, सद्भावयुक्त समाज निर्माण गर्नेछौं । यसको अलावा

न त्वहं कामये राज्यं न स्वर्गं न पुनर्भवम् ।

कामये दुःखतप्तानां प्राणी नामार्ति नाशनम् ।।

यसको अलावा मलाई कुनै राजगद्दीको कामना छैन, मलाई कुनै स्वर्गको कामना छैन, मलाई आफ्नो आत्मसम्मान प्यारो छ, मलाई समता प्यारो छ, मलाई स्वतन्त्रता प्यारो छ । यहाँ कोही पनि पीडित छन्, कसैमाथि विभेद छ, शोषण छ, दमन छ भन्ने त्यसलाई नाश गर्नु नै हाम्रो कर्तव्य हो । हामी पाइलामा पाइला मिलाएर अगाडी बढौं, हातमा हात मिलाएर अगाडी बढौं, आवाजमा आवाज मिलाएर अगाडी बढौं, र विभेदरहित समाज निर्माण गरौं ।
जय जनमत, जय स्वराज !

(नेपाल जनमत पार्टीको नेतृत्व गरिरहेका डा.सि.के राउतले शनिबार गरेको सम्बोधन)

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

'मानव अधिकार हाम्रो प्रतिवद्धताको मात्र विषय होइन, हाम्रो आस्था र निष्ठाको विषय हो।'

  • २४ मङ्सिर, २०७६

आज भन्दा ७१ वर्ष अगाडि अर्थात् १० डिसेम्बर १९४८ का दिन संयुक्त राष्ट्र संघको महासभाले मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र जारी गरेको थियो।

नेपाली नेतामा सीमा समस्या हल गर्ने रूची छैन–श्याम शरण

  • १२ मङ्सिर, २०७६

नेपालीहरू सीमाविवादलाई लोकप्रियता र आन्तरिक खपतको उद्देश्यले मात्रै उठाउँछन्, तर गम्भीर वार्तामार्फत सल्टाउनमा उनीहरूको रुचि हुँदैन सिमानालाई

‘उपनिर्वाचनमा हाम्रालाई होइन, राम्रालाई मतदान गरौं’

  • ८ मङ्सिर, २०७६

आगामी मंसिर १४ गते देशभरिनै रिक्त रहेका पदहरु परिपूर्तीका लागि उप–निर्वाचन हुँदैछ । निर्वाचनको सरगर्मी बढेसंगै विभिन्न चिया पसलदेखि घर घरमा