• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

‘उपनिर्वाचनमा हाम्रालाई होइन, राम्रालाई मतदान गरौं’

आगामी मंसिर १४ गते देशभरिनै रिक्त रहेका पदहरु परिपूर्तीका लागि उप–निर्वाचन हुँदैछ । निर्वाचनको सरगर्मी बढेसंगै विभिन्न चिया पसलदेखि घर घरमा राजनीतिक माहोल बढ्दै गएको छ । केन्द्रदेखि स्थानीय तहसम्मका राजनीतिक नेता तथा कार्यकर्ताहरु आफ्ना मतदाताहरुको सूचि बनाउँदै मत गन्न थालिसकेका छन् । 

नयाँ सरकार गठन भएसंगै सत्तारुढ नेकपाले अघि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा पूरा होला, नहोला त्यो त हेर्न बाँकी नै छ तर चुनावले छोपेपछि समग्र जनताहरु त्यतातिरै रन्थनिने गरेका छन् । यो नयाँ समस्या होइन । सामान्य प्रलोभनमा परेर आफ्नो मतको सही सदूपयोग गर्न नसकेका मतदाताहरुले भने यो पटकको चुनावमा केही सोच्नैपर्ने बेला आएको छ ।

यो उप निर्वाचनले आगामी देशको राजनीति वा सत्ता समिकरणमै केही असर त नपार्ला, तर जनताले चुनेका जनप्रतिनिधिको नयाँ ‘इन्ट्रि’ले केही नयाँ राजनीतिक मोड त पक्कै लिन्छ । अझ भन्नुपर्दा कुनैपनि राजनीतिक दलको अबको यात्रा कसरी अगाडी बढ्छ भन्ने चाँही यो चुनावले पक्कै केही असर पार्दछ । 

दुई तिहाई मतका साथ सरकार संचालन गरिरहेको सत्तारुढ नेकपाले आफ्नो लोकप्रियता बढाउने वा कमजोर रुपमा प्रस्तुत भइरहेको प्रतिपक्षले गुमेको साख जोगाउने वा अझै कमजोर बन्ने भन्ने विषयको ऐना ‘उप–निर्वाचन’ हो भन्दा फरक नपर्ला ।

आजको यस लेखमा म आफूले मतदान गर्ने क्षेत्रका मतदातालाई सम्झेर केही विषय उठान गरेको छु । लामो समयपछि देशले पाएको स्थानीय तहका जनप्रतिनिधिले साँच्चै देश र जनताको विषयमा सोचे वा सोचेनन ? अपेक्षीत विकास निर्माणका कामहरुमा सहयोग गरे वा गरेनन् ?, हिजो तपाँईको घर वरपर सँधै देखिरहेको एक राजनीतिक युवालाई चुनावपछि आफ्नो घर आँगनमा देख्नुभयो ? सोच्नैपर्ने बेला आएको छ । 

सिन्धुपाल्चोक जिल्लाभरिमा नै एक ठाउँमा मात्र उपनिर्वाचन हुँदैछ । इन्द्रावति गाउँपालिका वडा नं ८ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । यसअघि नेपाली कांग्रेसले यस क्षेत्रमा आफ्नो विजयी र्याली मनाएको थियो । जिल्लाकै एकमात्र ठाउँमा हुन लागेको यस क्षेत्रको चुनावमा जिल्लातहका नेताहरुको चासो बाक्लो देखिन्छ । 

सत्तारुढ नेकपाका केन्द्रीय तहका नेताहरु, जिल्ला तहका नेताहरु, कार्यकर्ता लगायतको बाक्लो उपस्थिति यस निर्वाचनमा देखिन्छ । उता, प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय तहका नेतादेखि अन्य जिल्लासम्मका नेता कार्यकर्ताको ध्यान यस क्षेत्रमा परेको छ । यसको कारण, अरु केही होइन् । 

लामो समयदेखि नेकपाको विरासत मानिएको इन्द्रावती गाउँपालिका ८ मा यसअघि भएको झिनो मतान्तरको हार नेकपाले उतिबेला पनि सहन सहज भएको थिएन् । त्यसोत, यसअघि निर्वाचनमा विजयी भएको कांग्रेसलाई पनि आफ्नो साख जोगाएर वडा बलियो बनाउनपर्ने दुवै चुनौति छ ।

इन्द्रावति गाउँपालिकाको नेतृत्व नेपाली कांग्रेसबाट निर्वाचित भएका वंशलाल तामाङले अहिलेपनि गरिरहेका छन् । आफ्नै अध्यक्षतामा गाउँपालिकाका दैनिक काम कारबाही उनले चलाइरहेका छन् । उनी गाउँपालिका महासंघका महासचिव समेत हुन् ।

उता, प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल‘शरद’ को चुनावी क्षेत्र हो यो । गाउँपालिकामा यो चुनावे खासै ठूलो फेरबदल नल्याएपनि प्रतिद्वन्दी मानिएका दुवै दलका उम्मेदवारलाई चुनाव जित्ने चुनौति भने छ । त्यसैले पनि यो चुनावमा जित्नै पर्ने दबाबका साथ दुर्व दल होमिएको म एक स्थानीय मतदाताको बुझाइमा रहेको छ ।

उपचुनावको रापतापले गाउँ छपक्कै छोपेको छ । घर घरमा मत माग्नेको ओइरो छ । भूकम्पबाट थलिएर पुननिर्माणको चरणबाट मुक्ति पाउँदै गरेका सिन्धुपाल्चोक इन्द्रावतीवासिका लागि चुनावी लहर सामान्य भइसकेको देख्न सक्दछौं । सामान्य केही प्रलोभनमा पारेर सिधासादा जनताको मनोबल बिग्रनेगरि कतिपय दलका कार्यकर्ताहरु मत किन्ने लाइनमा होलान् । म यतिसम्म खुलेर किन भन्दै छु भने, देशको केन्द्रदेखि एक वडासम्म यसअघिको निर्वाचनमा देखिएको चित्रहरुको चित्रण मात्र यो लेखमा गरेको हुँ । 

यीनै राजनीतिक माहोलकाबीच नेकपाका उम्मेदवार केदारनाथ आचार्य र कांग्रेसका उम्मेदवार राले तामाङ (अशोक)बीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । यसअघिका भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार धन बहादुर श्रेष्ठले ३६४ मतसहित विजयी हुनुभएको थियो । त्यस्तै, नेकपाका प्रतिद्वन्दी केदारनाथ आचार्य (यसअघि पनि उनी नै उम्मेदवार थिए) ले ३५५ मत प्राप्त गर्नुभएको थियो । त्यतिबेला  चुनावी माहोल अलि फरक थियो । 

दुई तत्कालिन कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको थिएन् । अर्थात, नेकपा एमालेले प्राप्त गरेको मत माओवादी केन्द्रका उम्मेदवार रहेका आचार्यले प्राप्त गरेका थिएनन् । स्थानीय नेताहरु पार्टी एक्ता भइसकेको, जनताले स्थानीय तहका जनप्रतिनिधिको कामको मूल्याकंन गरिसकेको भन्दै नेकपा चुनाव जित्ने निश्चित भइरहेको बताएको छ । त्यसोत, यसअघि पनि आफूहरुको विजयी भएको र जनताले सच्चा राष्ट्रप्रेमीलाई भोट हाल्ने मनस्थितिमा रहेको भन्दै आफ्नो जित निश्चित भएको कांग्रेसका नेताहरुको तर्क छ । 

यसैबीच हामीले विगतका राजनैतिक इतिहास कोट्याउनै पर्छ । नेपालको राजनीतिक इतिहासलाई हेर्दा २०४८ सालमा बहुमत प्राप्त नेपाली कांग्रेस ०५१ सालमा अल्पमतमा पर्यो । २०६४ सालमा बहुमत प्राप्त माओवादी अन्ततः ०७० सालमा २६ सिटमा सीमित भयो । नेपालको राजनीतिक भागवण्डा वा चुनावी माहोललाई गहिरिएर सोच्दा विभिन्न उतारचढाव आएका छन् । 

यो चुनावले गाउँपालिकामा अध्यक्ष तामाङ साख जोगिने वा त्यही क्षेत्रबाट निर्वाचित सांसद दुलालको प्रभुत्व बढ्ने, भन्ने विषयको उजागर गर्छ । 
 

‘कसैको लोभमा मतको दुरुपयोग नगरौं’

इन्द्रावती गाउँपालिकाको सेरोफेरोरमा रहेको मैले केही कुराहरु प्रस्तुत गरिरहँदा देशैभरका स्थानीय तहमा चुनावी माहोलसंगै चर्चा हुने विषय यीनै हुन जस्तो लाग्छ । म एक सचेत मतदाताको हैसियतले यस लेखमार्फत सम्पूर्ण मतदातालाई आफ्नो मतको सही सदूपयोग गर्न अनुरोध गर्दछु । 

मेरो आफ्नो निर्वाचन क्षेत्रको विषयमा भन्दै गर्दा, हामीले यसअघि नै पाएका जनप्रतिनिधिको काम हेर्नै नपाई भएको असमायिक निधनलाई हामी अस्वीकार गर्न सक्दैनौं । त्यसोत, अब हामीले एक नयाँ जनप्रतिनिधि चुन्ने सु–अवसार पाएका छौं । देशैभरीका सबै निर्वाचन क्षेत्रमा यो अवसर दोहोरिएको छैन् । केही रिक्त रहेका पदहरुको परिपूर्तीको विषय भएकाले हामीले सोचेर मतदान गरौं । आगामी निर्वाचनमा उम्मेदवार हुनुभएका सम्पूर्ण उम्मेदवारलाई शुभकामना दिँदै मतदातालाई मतदातको तर्फबाट अनुरोध गर्न चाहन्छु –‘हाम्रालाई होइन, राम्रालाई मतदान गरौं ।’

(लेखक चौलागाईं समाजशास्त्रमा गहिरो अध्ययन राख्ने विद्यार्थी हुन् । साथै, उनी इन्द्रावती गाउँपालिका ८ का मतदाता समेत हुन् ।)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर