• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

१३ औं साग : नेपालले जित्यो ११ स्वर्ण

काठमाडौं । नेपालले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा हालसम्म ११ स्वर्ण हात पारेको छ । पोखरा र ललितपुरको सातदोबाटोमा भएको खेलमा नेपालले उक्त पदक हासिल गरेको हो ।  

नेपालका लागि मण्डेकाजी श्रेष्ठले कराँतेमा स्वर्ण जित्दै नेपालका लागि पहिलो स्वर्ण पदक दिलाएका थिए । 

त्यस्तै कराँतेको महिलातर्फको टिम काताबाट नेपालले दोस्रो स्वर्ण हात पार्यो । महिला टीम कातामा नेपालले फाइनलमा पाकिस्तानलाई पराजित गर्दै स्वर्ण जितेको हो । टिम कातामा निर्मला तामाङ, सरु कार्की र संगिता मगर रहेका छन् ।  

त्यसैगरी, महिला ट्रायथोलनमा नेपालले तेस्रो स्वर्ण पदक जितेको छ । सोमबार पोखरामा भएको महिला ट्रायथोलनमा नेपालकी सोनिका गुरुङले स्वर्ण पदक दिलाएकी हुन् । 

त्यस्तै तेक्वान्दोमा नेपालले दुई स्वर्ण पदक जितेको छ । सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको प्रतियोगितामा नेपालका लागि गोविन्दबहादुर आले र कमल श्रेष्ठले स्वर्ण पदक जितेका हुन् । गोविन्दले पुम्सेको ५८ केजीमा स्वर्ण जितेका हुन् भने कमलले पुरुष एकलतर्फ स्वर्ण पदक जितेका हुन् । 

त्यस्तै, १३ औं दक्षिण एसियाली खेदकुद (साग) मा सोमबार भएको महिला क्रिकेटमा पनि नेपालले शानदार जित निकालेको छ । महिला क्रिकेटको पहिलो प्रतियोगितामा माल्दिभ्सले दिएको लक्ष्य नेपालले ५ बलमा नै भेट्टाउँदै १० विकेटले हराएको छ ।  पोखरामा टस जितेर व्याटिङ थालेको माल्दिभ्सले १०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १६ रन बनायो । कमजोर प्रदर्शन गरेको माल्दिभ्स १६ रन बनाउँदै अल आउट भएपछि नेपालले पहिलो ओभरमै उक्त लक्ष्य पुरा गर्यो ।  आजको खेलमा नेपालकी अञ्जली चन्दले कीर्तिमान बलिङ गरेकी छन् । चन्दले २ मेडन राख्दै २.१ ओभरको खेलमा ६ विकेट लिइन ।  

कराँतेको पुरुष कुमुतेमा  नेपालको लागि लक्ष्मण तामाङले स्वर्ण जितेका हुन् ।  ५५ केजी तौल समूहमा लक्ष्मणले बंगलादेशका मोहम्मद मस्तोफालाई १-० ले पराजित गरे ।

तेक्वान्दो खेलाडी आयशा शाक्य १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दुई स्वर्ण जितेकी छिन् । उनले पुम्सको एकल र टिममा स्वर्ण जितेकी हुन् । आयशाले ३० वर्षमाथि प्रतिस्पर्धा गरेकी हुन् । यता, २३ वर्षमाथि २९ वर्षमुनिमा पुम्से महिलामा नेपालका लागि पार्वती गुरुङले स्वर्ण पदक जितेकी हुन् ।

त्यस्तै महिला ४५ केजीमुनीको समूहमा कुसुम खड्काले स्वर्ण पदक जितेकी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर