• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

महाशिवरात्रिका साधुसन्तलाई दक्षिणासहित बिदाइ

काठमाडौं । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आएका देश विदेशका साधुसन्तलाई बिदाइ शुरु गरिएको गुठी संस्थानले जनाएको छ । फागुन कृष्ण एकादशीदेखि औँसीसम्म संस्थानले धुनीका लागि दाउरा र खानाको व्यवस्था गरी साधुसन्तलाई बिदाइ गर्न लागिएको पशुपति गोश्वारा कार्यालय प्रमुख उमा आचार्यले जानकारी दिए ।

साधुलाई श्रीमहन्त, महन्त, लालमोरिया नागाबाबा, सामान्य जोगीलगायत वर्गमा वर्गीकरण गरी रु ९५१ देखि रु १५१ सम्म दक्षिणा दिन शुरु गरिएको छ । आज सम्भव नहुनेलाई भोलिसम्म पनि दक्षिणा दिएर बिदाइ गरिने उनले बताए ।

यसवर्ष पशुपतिमा करिब चार हजार साधुसन्त आएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए । संस्थानले दक्षिणासहित बिदाइ गरेसँगै कोषका तर्फबाट पनि थप दक्षिणा दिइने उनले सुनाए ।

संस्थानले वर्गीकरण गरेका साधुसन्तलाई कोषले रु एक हजार एकदेखि रु पाँच हजार एकसम्म दक्षिणा दिने जनाइएको छ । कोषका तर्फबाट रुद्राक्ष मालाले बिदाइ गरिनेछ । संस्थानले दिने गरेको दक्षिणा कम भएको गुनासो साधुसन्तले गर्न थालेपछि कोष स्थापनापछि थप गरिएको हो ।

विसं २०६४ अघिसम्म कालमोचनघाटबाट दक्षिणा दिई साधुसन्तको बिदाइ हुँदै आएकामा त्यसयता दोहोरो नपरोस् भनी पशुपति परिसरबाटै बिदाई गर्न थालिएको संस्थानका सूचना अधिकारी सरोज थपलियाले राससलाई जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर