• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

अमेरिकी राष्ट्रपति ट्रम्पको भारत भ्रमण आजदेखि शुरु

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणमा आज भारत आउँदैछन्। उनी आज बिहान ११ः४० बजे अहमदावादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।

अहमदावादको कार्यक्रम सकेर ट्रम्प अगरा पुग्नेछन्। त्यहाँ उनले ताजमहलको अवलोकन गर्नेछन्। ताजमहलको अवलोकनपछि ट्रम्प नयाँ दिल्ली पुग्ने बीबीसी समाचारमा उल्लेख छ । 

ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एकसाथ २२ किलोमिटरको रोड शोमा सहभागी हुनेछन्। त्यसपश्चात् अहमदावादकै रंगशालामा आयोजित कार्यक्रममा ट्रम्पले सम्बोधन गर्ने कार्यक्रम रहेको भारतीय अधिकारीहरुले जनाएका छन्।

रंगशालामा ट्रम्पलाई स्वागत गर्न लाखौंको उपस्थिति हुने बताइएको छ। त्यहाँ ट्रम्प र मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

ट्रम्पको औपचारिक स्वागत मंगलबार हुने बताइएको छ। उनलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गर्ने भारतीय अधिकारीहरुले जनाएका छन्। ट्रम्प परिवारसहित भारत भ्रमणमा आउँदैछन्। भारत भ्रमण गर्ने अमेरिकाको उनी सातौं राष्ट्रपति हुन्।

नमस्ते ट्रम्प कार्यक्रमपछि उनी श्रीमतीसहित ताज महल अवलोकन गर्न जाने भएका हुन् । ताज महलमा ट्रम्पको टोली एक घण्टा रहने तालिका छ ।  

भ्रमणको दोस्रो दिन मङ्गलबार ट्रम्प दिल्ली फर्केर हैदरावाद हाउसमा विभिन्न चरणमा रक्षा, व्यापारलगायतका विषयमा छलफल गर्ने भएका छन् । ट्रम्प राष्ट्रपति भएपछिको भारतको पहिलो औपचारिक यो भ्रमण दुई दिन मात्रै हुने तय भएको छ । 

ट्रम्पले कार्यकालको अन्तिम वर्ष भारतको भ्रमण गर्न लागेका हुन् । उनको पहिलो कार्यकाल सन् २०२१ जनवरी २० मा सकिँदैछ । अमेरिकी संविधानअनुसार राष्ट्रपतिको कार्यकाल चार वर्षको हुने व्यवस्था छ । अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपतिको निर्वाचन हुने तय भएको छ । 

मोदी र ट्रम्पबीच पछिल्लो आठ महिनामा पाँचौं पटक भेट हुँदैछ । यसअघि यी दुई शीर्ष नेताबीच ओसाका, बायरिज, ह्यूस्टन र न्यूयोर्कमा गरी चारपटक भेट भइसकेको छ ।  

भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीस कुमारले ट्रम्पको स्वागतका लागि भारत सरकार र भारतीय जनता उत्सुकताका साथ प्रतिक्षा गरिरहेको बताएका छन् ।  उनका अनुसार सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारत भ्रमणमा आउन लागेका ट्रम्प अमेरिकाका सातौं राष्ट्रपति हुन् । 

यसअघि तत्कालीन राष्ट्रपति बाराक ओवामाले सन् २०१५ जनवरी २५–२७ मा तीन दिने भारत भ्रमण गरेका थिए । उनी आफ्नो दुवै कार्यकालमा भारतको भ्रमण गरेका थिए ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर