• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

इटालीमा कोरोना ( कोभिड–१९) बाट ४०० जना संक्रमित

एजेन्सी । इटालीमा नोवेल कोरोना भाइरसको संक्रमणले थप संक्रामक रुप लिँदै गएको छ । युरोपमा सबैभन्दा बढी प्रभावित भएको इटालीमा कोभिड–१९ बाट संक्रमितको संख्या चार सय पुगेको छ ।

इटालीमा हालसम्म कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ । ११ वटा बजार क्षेत्र संक्रमणको केन्द्रमा छन् र त्यहाँका ५५ हजार मानिसलाई क्वारेन्टाइनमा राखिएको इटालीका स्वास्थ्य अधिकारीले बताएका छन् ।

इटालीमा पछिल्लो २४ घण्टामा संक्रमितको संख्या २५ प्रतिशतले बढेको छ । यस्तै युरोपको अन्य देशमा पनि नयाँ संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् । अस्ट्रिया, क्रोएसिया, ग्रीस, नर्वे, स्वीट्जरल्याण्ड, जर्जिया र उत्तरी मेसेडोनियामा पनि संक्रमण फैलिएको छ । यस्तै स्पेन, फ्रान्स र जर्मनीमा थप मानिसमा संक्रमण पुष्टि भएको छ । 

विश्व स्वास्थ्य संगठनले बुधबार चीन बाहिर पहिलोपटक तीव्र गतिमा कोरोना भाइरसको संक्रमण बिस्तार भएको बताएको थियो । साथै विश्व स्वास्थ्य संगठनले सबैलाई सचेत हुन आग्रह गरेको छ । 

गएको डिसेम्बरमा चीनको हुबेइ प्रान्त स्थित वुहानमा पहिलो पटक नोवेल कोरोनाको संक्रमण देखिएको थियो । अहिलेसम्म चीन बाहिर झण्डै ४० देशमा संक्रमण फैलिएको छ । युरोपबाहिर अल्जेरिया, ब्राजिल र पाकिस्तानमा पनि संक्रमण देखिएको छ । ब्राजिलमा एकजनामा संक्रमण पुष्टि भएसँगै नोवेल कोरोना दक्षिण अमेरिकी क्षेत्रमा पनि पुगेको छ ।

मध्य पूर्वको इरानमा अहिलेसम्म १३९ जनामा संक्रमण पुष्टि भएको छ भने १९ जनाको ज्यान गइसकेको छ । यस्तै दक्षिण कोरियामा अहिलेसम्म १२ सयजनामा संक्रमण भएको छ भने १२ जनाको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर