प्रदेश पाँच : प्रदेशसभामा अडियो काण्डदेखि असिना पानीसम्मको चर्चा

बुटवल । प्रदेश नं ५ को प्रदेश सभामा कलाकारको अडियो काण्ड देखि,असिना पानीले पु¥याएको क्षति र  कोरोनाको जोखिम सम्मको चर्चा भएको छ ।

आफूलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट रहेको कलाकार बताउने एक कलाकारले कम्युनिस्ट सरकारको पैसामा कांग्रेसका कलाकारलाई स्टेजमा उफारेकाले बुटवलको मेला बन्द गराएको भन्ने फोन संवाद काण्डले प्रदेशसभामा प्रवेश पाएको हो ।

मंगलबार बसेको प्रदेशसभा वैठकमा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरु वीरबहादुर राना र फखरुद्दिन खानले उक्त अडियो काण्डमा प्रदेश सरकारका दुईजना मन्त्रीहरुको नाम समेत जोडिएकाले निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरे ।

प्रदेश सभा सदस्य बीरबहादुर रानाले सत्तारुढ पार्टी सम्वद्ध कलाकारको अडियो सुन्दा मुलुकमा कोरोना भाइरसभन्दा पनि खतरानाक रुपमा कम्युनिस्ट कार्यकर्तामा बहुमतको आडमा मनपरी गर्ने मनोवृत्तिले सीमा नाघेको आभास भएको बताए ।

‘कम्युनिस्ट कार्यकर्ताले मन्त्री र सीडीओलाई थर्काउने, युवा संघ परिचालन गरेर मेला बन्द गराउनेसम्मका हर्कत गर्नु कोरोना भाइरसभन्दा खतराको विषय हो,’ सांसद रानाले भने, ‘मन्त्रीहरुको समेत नाम मुछिएको छ, छानबिन गरेर सत्य तथ्य बाहिर ल्याउनुपर्छ ।’ 

प्रतिपक्ष दलले सुशासन, सम्वृद्धि, विकास चाहेको भन्दै सांसद रानाले प्रदेशको  स्थायी राजधानी र प्रदेशको नामाकरण पनि माग गर्दै आएको बताए । 

अर्का प्रदेश सभा सदस्य फकरुद्दिन खानले नेकपा निकट कलाकार नारायण खनाल (लेकाली)ले सत्ता र शक्तिको आडमा राज्य आतंक मच्चाएको चर्चा गर्दै यस्तो छुट कसैलाई हुन नहुने टिप्पणी गरे ।

जनताको करबाट उठेको रकमलाई कम्युनिस्ट सरकारको पैसा भनेर भन्नु आपत्तिजनक भएको भन्दै उनले यो विषय छानविन हुनुपर्ने बताए । 

नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति प्रदेश ५ ले फागुन २१ गतेदेखि चैत २ गतेसम्म सञ्चालन गर्ने गरी सुरु गरेको मेला एकहप्ता नहुंदै स्थगित भएको थियो ।

आजको प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्यहरुले गत फागुन ३० गते र चैत १ गते परेको असिना पानी र चट्याङ्गका कारण प्रदेशका बिभिन्न जिल्लामा भएको जन धनको क्षतिबारे जानकारी गराउदै स्थलगत अनुगमन गरी पीडित परिवारलाई उचित क्षतिपूर्ती उपलब्ध गराउन माग गरे ।

प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले असिना पानीले अर्घाखाँचीमा मानविय क्षतिका अतिरिक्त अन्नबालीमा ठूलो क्षति भएको भन्दै राहत तथा क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराए । 

अर्का प्रदेशसभा सदस्य कूलप्रसाद पोखरेलले बर्दियामा असिनापानीसँगै चट्याङ पर्दा दुईजनाको मृत्यु भएको र अन्नबाली नष्ट भएकोले स्थलगत अवलोकन गरी राहत तथा क्षतिपूर्ति दिन माग गरे ।

त्यसैगरी प्रदेशसभा सदस्य बिर बहादुर रानाले पाल्पा ,धमकली चौधरीले दाङ, धर्मबहादुरलाल श्रीवास्तवले कपिलबस्तु जिल्लामा असिना पानीले पु¥याएको क्षति बारे जानकारी गराउदै उचित क्षतिपूर्ती उपलब्ध गराउन माग गरेका थिए ।

बैठकमा प्रदेश सभा सदस्यहरु डिल्लीबहादुर चौधरी, भोजप्रसाद श्रेष्ठ, दीपा विक, विजयबहादुर यादवले बिभिन्न बिषयमाा प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।

आजको बबैठकमा प्रदेश सभा बैठकमा सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेश सभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए भने भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले ‘सडक निर्माण,मर्मत–सम्भार तथा बिस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको’ विधेयक पेश गरेका थिए ।

प्रदेश सभाको अर्को बैठक यही चैत ५ गते दिउसो १ बजे बस्नेगरी स्थगित भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर