विद्यालय भवनमा अस्पताल

गलेश्वर ।  कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारीका लागि म्याग्दीको सदरमुकाम बेनीको एक निजी विद्यालय भवनमा आइसोलेसन कक्षसहितको अस्पताल सञ्चालन गरिने भएको छ ।

बेनी नगरपालिका–८ हिलसाइडमा अवस्थित माउण्ट एभरेष्ट आवासीय माविको भवनमा रहेका ३३ कोठामध्ये हाललाई दश कोठमा बेनी अस्पतालले आइसोलेसन कक्ष बनाउने भएको हो । 

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले अस्थायी अस्पताल बनाउने निर्णय गरेको हो । आज बेलुकासम्म अस्पताल तयार हुने प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । विद्यालयको सामाजिक उत्तरदायित्वअन्तर्गत हाल खाली अवस्थाको विद्यालय भवनलाई आइसोलेसन अस्पतालको रुपमा प्रयोग गर्न दिने निर्णय भएको माउन्ट एभरेष्ट आवासीय माविका अध्यक्ष चन्द्रकुमार केसीले बताए ।

बेनी नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्याग्दी उद्योग वाणिज्य सङ्घ र बेनी अस्पतालका प्रतिनिधि सम्मिलित बैठकले म्याग्दी बहुमुखी क्याम्पस नजिक रहेको माउन्ट एभरेष्ट बोर्डिङ स्कूलको पुरानो भवनलाई मर्मतसम्भार र रङरोगन गरी अस्थायी अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय गरेको हो ।

भवनको सरसफाइ र आवश्यक पूर्वाधार निर्माण गर्न नेपाली सेनालाई जिम्मेवारी दिइएको छ । नेपाली सेनाले आज बेलुकासम्म अस्पताल तयार पार्ने छ । भाइरस सङ्क्रमितको उपचार सहज होस् भनेर छुट्टै अस्पताल बनाउन लागिएको बेनी अस्पतालका डाक्टर मनोज घिमिरेले बताए ।

आकस्मिकरुपमा सङ्क्रमित देखा परेमा तत्काल राखेर उपचार गर्न सहज होस् भनेर अस्पताल बनाउन लागिएको डाक्टर घिमिरेले बताउनुभयो । अस्पतालमा १० श्ययाको आइसोलेसन कक्ष हुने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर