• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

‘लकडाउन’ का अवधिमा अभिभावक र विद्यार्थीले घरमा कसरी समय बिताउने ?

काठमाडौं । विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि जारी ‘लकडाउन’ का अवधिमा अभिभावक र विद्यार्थीले घरमा कसरी समय बिताउने ? बालबालिकालाई ‘बोर’ र अभिभावकलाई झर्काे लाग्न नदिने उपायहरु के–के हुन सक्छन् ? बालबालिकालाई मोबाइलको लतमा फस्न नदिन सिकाइका वैकल्पिक अवसरहरुको खोजी भइरहेको छ भने विकल्प खोज्न अन्यत्र भौतारिनुभन्दा घरपरिवारमै उपयुक्त काम र सिकाइ गरेर सहजरुपमा समय बिताउन पनि सकिन्छ ।

यस्ता संवेदनशील घडीमा शिक्षासम्बन्धी विभिन्न संस्था, मनोपरामर्शकर्ता र अनलाइन प्रविधिमा सिकाइ सामग्री उत्पादन गर्ने संस्था र व्यक्तिले स्वयंसेवीरुपमा गरेका प्रयासलाई पनि पछ्याउन सकिनेछ । सामान्य अवस्थामा शैक्षिकसत्रको अन्त्यमा वार्षिक परीक्षापछि बिदा हुने यस अवधिमा बालबालिकालाई छुट्टी हुने भए पनि अभिभावक आफ्ना काम र रोजगारीमा व्यस्त हुने गरेकामा अहिले कोरोना भाइरसबाट बच्न सबै जना घरमा बस्नुपर्ने भएकाले आपसी सिकाइको अवसरका रुपमा यसलाई लिन सकिन्छ ।

युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा बाबुराम अधिकारी बालबालिकाले अभिभावकसँग घुलमिल हुने यो उनीहरुको राम्रो अवसर भएको जनाउँदै अभिभावकले पनि उनीहरुको समस्या जिज्ञासाबारे जानकारी लिन सक्ने बताउनुभयो । डा अधिकारीले रासससँग भन्नुभयो, “यो बेला कुनै घोक्ने खालको पाठ्य सामग्रीभन्दा समसामयिक कुराबारे पढ्न र रचनात्मक कुरा खुला किसिमले सिक्न प्रेरित गर्नुपर्छ । घरमा बसेर गर्न मिल्ने खालका बालबालिकाको रुचिअनुसारको काम गर्न दिनुपर्छ ।” उनका विचारमा बालबालिकालाई गीतसङ्गीत, खेल, साहित्य  र राम्रा चलचित्र हेर्न दिन सकिन्छ भने खाना बनाउन र घर सफÞा गर्नेजस्ता उनीहरुले सक्ने काममा पनि अभ्यस्त बनाएर उनीहरुलाई बाहिरका कुरामा मानसिक तनाब हटाउन सकिन्छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालका महासचिव गुणराज मोक्तानले बिदाको यस अवधि बुबाआमाले छोराछोरीलाई सिकाउन पाउने सुनौलो अवसर भएकाले जीवनोपयोगी सीप, व्यवहारिक सिकाइ, घरायसी काम र मिदास संस्थाको पाठ्यक्रमअनुसारको शिक्षा लिन सकिने बताए । मोक्तानले भने, “छोराछोरीले बुबाआमालाई प्रविधि सिकाउने र बुबाआमाले छोराछोरीलाई व्यवहारिक एवं परम्परागत सीप सिकाएर दुई पुस्ता जोड्न यो एक मौका पनि हो । यसको सदुपयोग गरौँ ।”

विश्व शान्तिका लागि प्रशिक्षणका क्षेत्रमा कार्यरत ‘क्रोधरहित संसार’ संस्थाका अध्यक्ष देशमर्दन बस्नेतका विचारमा बालबालिकालाई उनीहरुको रुचिअनुसार चित्र बनाउन दिएर र उनीहरुले कार्टुनमा देख्ने चित्रसँग आफूले बनाएका चित्रको तुलना गर्न लगाउन सकिने बताउँछन् ।  बस्नेत भन्छन्, “बालबालिकाले कापीमा राम्रो अक्षर लेख्ने आदत बसाउन पनि यो बिदालाई उपयोग गर्न सक्नेछन् । यसका लागि बालबालिकालाई नै अभिभावकसमेतको दिनभरको योजना बनाउन दिन सकिन्छ ।

लकडाउनका समयमा शिक्षक र बालबालिकाको रुचि र उनीहरुको सहभागितामा सिकाइका अवसरमा जोडिइरहन इ–लर्निङका सामग्री सङ्कलन, उत्पादन र निःशुल्क प्रसारण गर्न अन्य संस्थागत पहल पनि शुरु भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र शैक्षिक सामग्री उत्पादक संस्था ‘कारखाना’बीच सहमति भएको छ ।
 
प्याब्सनका महासचिव कुमार घिमिरे र कारखानाका प्रमुख कार्यकारी अधिकृत पवित्रबहादुर गौतमबीच सो सहमतित्रमा आज हस्ताक्षर भएको हो । कारखानाका स्वयंसेवीले यसको उत्पादन गर्नेछन् । यसबाट अभिभावकले पनि लाभ लिन सक्नेछन् । कारखानाडट एशियाबाट पाउन सकिने यी सामग्रीमा ‘स्कूल सपोर्ट रिसोर्स’, ‘वेल बिइङ ः क्यारिङ फर द होल ह्युमन बिइङ, ‘किप लर्निङ’ खण्ड राखिएको छ ।
 
प्याब्सन र मिदास एजुकेशन प्रालिबीच मिदास इ क्लास एप बालबालिकाका लागि एक महिनासम्म निःशुल्क रूपमा प्रदान गर्ने सहमति पनि भएको छ । कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यालयका लागि उक्त एप निःशुल्क प्रदान गरिनेछ । प्याब्सनका अध्यक्ष टिकाराम पुरी र मिदासका प्रबन्ध निर्देशक छत्रहरि कार्कीबीच सो सहमतिपत्रमा हस्ताक्षर भएको हो । यो सुविधा सामुदायिक र निजी सबै विद्यालयका विद्यार्थीले प्रयोग गर्न सक्नेछन् ।

बालबालिकाले मिदास इक्लास एपको प्रयोग गरेर बालबालिका घरभित्रै पठनपाठन र रचनात्मक कार्यमा व्यस्त हुनसक्ने र विभिन्न कक्षाअनुसारको सिकाइ क्रियाकलापमा भाग लिइ सिकाइ उपलब्धि हासिल गर्न सक्ने जनाइएको छ । बालबालिकाले प्लेस्टोरबाट मिदास इक्लास एप डाउनलोड गरेर इन्स्टल गरी एप खोली एपको मेनुमा रहेको अर्डर थिचेपश्चात् सब्क्रिस्पसन कार्ड लिन सक्ने र भौचर कोडमा प्याब्सन कोड लेखेर आपूmले चाहेको कक्षाको मिदास इ क्लास एप प्रयोग सक्नेछन् । कास्कीमा कार्यरत कोपिला नेपालले यस अवधिमा बालबालिकालाई अनलाइन र फोनबाट आवश्यक मनोपरामर्श दिने जनाएको छ । (– प्रकाश सिलवाल रासस)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर