• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

मेडिकल सामग्री लिन वाइडबडी ग्वाङ्जाओ उड्दै

 काठमाडौं । छिमेकी मुलुक चीनबाट मेडिकलजन्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज आज मध्याह्न त्यसतर्फ जाँदैछ ।

वाइडबडी ए–३३० जहाज मध्याह्न १२ः३० बजे चीनको ग्वाङ्जाओ पठाउने तयारी गरिएको निगमले जनाएको छ । मेडिकल कार्गो उडानका लागि निगमको वाइडबडी जहाजले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाइसकेको छ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले निगमको वाइडबडी जहाज ग्वाङ्जाओ पठाउने सबै प्रक्रिया पूरा भएको राससलाई जानकारी दिए । उनका अनुसार वाइडबडी जहजा काठमाडौँबाट खाली जाने र आजै राति चीनबाट मेडिकल सामग्री लिएर फर्कने छ । करिब ३० टन मेडिकल सामग्री रहेको बताइएको छ ।

निगमका अपरेशन विभाग प्रमुख क्या दिपु ज्वार्चनले निगमको वाइडबडी जहाज आज मध्याह्न चीन जाने र उताबाट मेडिकल सामग्री लिएर राति १०ः३० बजे नेपाल फर्कने जानकारी दिए । निगमको यो उडानमा चालकदलसहित १० प्राविधिक जनशक्ति खटिने उनले बताए । ज्वार्चनले स्वास्थ्य मन्त्रालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह भएबमोजिम निगमले उक्त निर्णयलाई कार्यान्वयन गरेको उल्लेख गरे । 

वाइडबडी जहाजले कोभिड–१९ परीक्षण गर्ने किट र पिपीइलगायतका औषधिजन्य सामग्री ल्याउनेछ ।    चीनको वुहानमा रहेका नेपालीलाई उद्धारका लागि पनि निगमकै वाइडबडी जहाज प्रयोग गरिएको थियो ।

सरकारले कोभिड–१९ परीक्षण तथा उपचारका लागि अत्यावश्यक सामग्री चीनबाट ल्याउने यसअघि नै निर्णय गरेको थियो ।¬ कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले यही चैत ११ देखि १८ गतेसम्म देशभर लकडाउन गरेको छ । यो अवस्थामा आपतकालीन, कार्गो, उद्धारलगायत उडान मात्र हुनेछ । अहिले आन्तरिकतर्फ पनि लुक्ला पोखरालगायत गन्तव्यबाट विदेशी नागरिकको उद्धार उडान भइरहेको छ । सिवी अधिकारी
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर