भारतले ल्याएर छाडिदिएका डेढ सय नेपाली कपिलवस्तुको दशगजा क्षेत्रमा अलपत्र

बुटवल । कोरोना भईरसका कारण लकडाउन लम्बिदै जाँदा नेपालीहरु भारतबाट नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन । मंगलबार मात्रै भारतको दिल्ली तथा मुम्बईबाट भारतीय प्रशासनले ल्याएर दशगजा क्षेत्रमा छोडेका डेढसय नेपाली अलपत्र परेका छन् । नेपाल तर्फ प्रवेश गर्न लकडाउनका कारण नेपाल सरकारले अनुमति दिएको छैन । भारत पक्षले सीमा क्षेत्रमा ल्याएर छाडिदिने नेपाली पक्षले भित्रन नदिने अवस्थाका कारण नेपाली नागरिक अलपत्र परेका हुन् ।

कपिलवस्तुको खुनुवा, कृष्णनगर कुसहवा लगायतका नाकाका दशगजा क्षेत्रमा दर्जनौंको संख्यामा नेपालीहरु बसेका छन् । कपिलवस्तुका संघीय संसदका जनप्रतिनिधि सांसद अतहरकमाल मुसलमानले नेपाली नागरिक अलपत्र परेपनि स्थानीय प्रशासनले आवश्यक कदम नचालेको बताए ।

समाचार दैनिकसँगको कुराकानीमा उनले भने, उता भारतीय पक्षले नेपालीलाई सीमा क्षेत्रमा ल्याएर छाडेको छ, यता नेपाली पक्ष लकडाउन छ भन्दै भित्र्याउन मान्दैन । जसका कारण नेपाली नागरिक अलपत्र परेका छन् । नेपाल सरकारले आवश्यक निर्णय गरेर स्थानीय प्रशासनलाई नेपाली नागरिक नेपाल भित्र्याएर क्वारेन्टीनमा राख्ने व्यवस्था गर्न म माग गर्दछु । अलपत्र परेका नेपालीको उद्दारका लागि आफूले पहल गरेपनि स्थायीय प्रशासनले साथ नदिदा सफल हुन नसकेको उनले बताए । 

प्रमुख जिल्ला अधिकारी दिर्घराज पौडेलले भने लकडाउनका बेला नेपाल प्रवेश गर्न दिने अनुमति आफूहरुसँग नभएका कारण उनिहरुलाई नेपाल भित्र्याउन नसक्ले प्रतिक्रिया दिएका छन् । भारतमा कोरोनाको संक्रमण बढिरहेको र लकडाउनका कारण जनजिवन ठप्प भएपछि नेपालीहरुलाई सीमा क्षेत्रमा ल्याएर छाडिदिने गरेको छ ।

यसअघि सुदुरपश्चिममा पनि ५ सय भन्दा धेरै नेपाली दशगजा क्षेत्रमा अलपत्र परेका थिए । उनिहरुलाई दशगजामै क्वारेन्टिनको व्यवस्था गरेर १४ दिनपछि मात्रै नेपाल प्रवेशाज्ञा दिईएको थियो । अहिले कपिलवस्तुमा आएका नेपालीलाई नेपाल तथा भारत दुवै तर्फ बस्ने खाने कुनै व्यवस्था गरिएको छैन । 

सवारी साधन आवतजावत गर्ने जिल्लाका ठूला नाका कृष्णनगर र मर्यादपुर, चाकलचौडा बन्द गरिएको छ । अन्य चल्तीका साना नाका रंगपुर, हदौना र कुशहवा–बढनी पनि बन्द गरिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर