• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

हामीले जिन्दगी बितायौं सरकार बनाएर !

मर्नलाई विष पनि किनेर खान्छ तिम्रो शहरले
जडिबुटी बाँडेर बाँच्छ मेरो गाँउ विचार गर ।

मान्छेले सुख प्राप्तिका खातिर अनेक अनेक काम गर्नुपर्छ । मलाई पनि एक सुखानुभूतिको लागि एउटा बेग्लै तिकडम गर्न मन लागेको छ । कस्तो तिकडम भन्नु होला र झ्वाट्ट केही मगजमा परिकल्पना पनि गर्नु भयो होला, आफ्नै बनावटी कथानकमा लीन हुनुभयो होला तपाईं । पक्कै पनि नौलो तिकडम अप्नाउन खोजेको छु । कस्तो तिकडम भन्नु हुन्छ भने जासुसी हुन बेहद मन लाग्यो । आज किन–किन कसैको जासुसी गर्न मन लाग्यो । त्यो पनि निर्वाधरूपमा । 

परन्तु म पेशेबर जासुस होइन । कहिलेकाहीँ समयले जासुसी गर्न बाध्यकारी बनाउँछ । त्यही समयको माग अनुसारको जासुस अवश्य भएँ ।

जीवनमा जासुसी कमै गरियो । जति गरियो दोस्रो पक्षलाई हानी नहुने तरिकाले गरियो । कसको जासुसी गरेर कसलाई बिगार्नु छ र ? त्यसैले दुबै पक्षलाई हानी नहुने तर मलाई आनन्द हुने तरिकाले जासुसी गर्ने सोंच आयो । भूपि शेरचनको यो चिसो एष्ट्रे जस्तो चार भञ्याङ्ग खाल्डोमा केही उद्गम सपना लिएर आएको थिएँ । परन्तु यो कोरोना कहरले सपना पूरा हुने छाँटमा तारन्तार हमला गरिरहेको छ । मेरा विगतका दिनहरू बारे कवि भूपिले यकिन गरेर नै चिसो एष्ट्रे कविता लेखेका हुँदा हुन् कि ! यस्तै सोंच यो जासुसी मथिङ्गलमा घुमिरह्यो । सायद अब गाउँ फर्किंदा पोल्टाभरि ठुटा सपना लिएर जानुपर्नेछ । मनोकामना छ, यस्तो नहोस् ! कृपया ! यस्तो हुँदै नहोस् !!

यो कोरोना कहरको एकान्तिक एकालापमा कति गुम्सिएर बस्नु ? मन एक तमासले छट्पटीमा लीन भयो । छट्पटीमा बेचैनी मनले एकै ठाउँमा हमेशा दिन काट्न सकिएन । अशान्त मन लिएर बस्नु भन्दा कसैको जासुसी गर्नु श्रेष्ठकर लाग्ने कुराको ठहर यो जासुसी मथिङ्गलले निर्क्यौल र्गयो । यसो हुँदा निकै साधारण जिउमा तर असाधारण व्यक्तित्वको जासुसी गर्न मन लाग्यो । जासुसी आफुलाई फाइदा होओस् भनेर नै गरिन्छ । अनि म जासुसी गर्न हिँडेँ ।

म जतिकै कालो वर्णमा झण्डै पातला जिउमा मैले खोजेका महानुभावको आत्मा उनको फेसबुक वालको ढोकैमा सल्बलाइरहेको भेटेँ । मेरो भेट आत्मासँग भयो । वालमा उनको देहको उपस्थिति थिएन । केबल आत्मा थियो ।

जिवित आत्माको वालको ढोकामा सूचना जस्तै टाँसिएको एक शेरमा तीव्र गतिमा सवार मेरो आँखा हठात्  ठोक्कियो–

पत्थरले बनेको मजबुत पर्खाल हो यो छाती
यहाँ ठोक्किने जो कोही आफ्नो औकातमा फर्किन्छ ।

जिवित आत्माको देहको छातीमा नठोक्किए पनि यो शेरमा ठोक्किएर म आफ्नो औकातमा फर्केको थिएँ । आत्मासँग चिनापर्ची भयो । कोरोना कहरले थकित तथा चकित मेरो देहतिर अर्धमुदित नजरमा आत्माले मलाई भन्यो–

जल्नु त यसै पनि छँदै थियो सिगरेट जस्तो जीवन
चाहना यति थियो, पराइको हातमा सखाप नहोस् ।

हो, हो ! अहिलेको अवस्थामा जीवन कोरोनाको हातमा सखाप नहोस् ! जीवन यो चार भञ्ज्याङ्ग खाल्डोको चिसो एष्ट्रेमा सखाप नहोस् । आत्माले सही कुरा गर्यो । मृत देहको प्रेतात्मा होइन यो । यो हो, जिवित देहको प्रिय आत्मा !

जिवित आत्माले मलाई आफ्ना दर्जन भन्दा बढी उत्कृष्ट गजलका मतला र शेरहरू सुनाउन राजी भयो । ऊ उर्फ आत्माले हौसिदै मलाई दोस्रो शेर सुनायो–

एक तिमी थियौ दिलकै मान्छेमा विश्वास नगर्ने
एक म, घरमा शत्रुलाई पनि चौकिदार राखेर हिड्छु ।

वाह ! कसैले दिलको मान्छेलाई पनि विश्वास नगरिरहेको अवस्थामा उनले शत्रुलाई पनि विश्वास गरेर घरको चौकीदार राख्ने कुराले शुरूमा मेरो जासुस मथिङ्गल रन्थनियो । यसो गमेँ । हो त, शत्रुता भएको मानिसमा पनि कमसेकम विश्वास गर्न लायक गुण रहेको कुरामा ऊ उर्फ आत्माको खुलासा थियो । उनको यो अनौठो बानीसँग बिस्तारै परिचित हुँदै थिएँ म । सञ्चो बिसञ्चोको बातचित भयो । कुरैकुरामा देशको चाबी हातमा लिएका नेताहरूको कर्तुतप्रति तीब्र व्यङ्ग्य पस्किँदै उनले आजित स्वरमा यतिमात्र भने–

कुनै बेला बहुमूल्य खनिजको खानी म पनि हुँ
आज तिम्रो दिलमा नपर्ने कालापानी म पनि हुँ ।

उनको गजलमा सरलतासँगै मिठास थियो । प्रहार कठोर थियो । जनताप्रति नेताको चरम बेवास्ताको सुन्दर नमुना थियो । उनको गजलमा लठ्ठिँदै गएँ म । कुटिल मानसिकताका अभद्र शासकद्रष्टालाई कटाक्ष गर्दै अर्को शेर भने–

गह्रौं भएकै कारण ढुङ्गाले ओरालो लाग्नुपर्छ
आफ्नो वजन यति धेरै नबढाऊ, विचार गर ।

आफ्नो सुनसान फेसबुक वालमा सल्बलाइरहेको जिवित आत्माले देह बिनाको यो कोरोना कहरमा कलेँटी परेको ओठ जिब्रोले भिजाउँदै मेरो अनुरोधमा आफ्ना केही थान गजल सुनायो । गजलका केही मतला र शेर यहाँ राखें–

(क)
कसैले सोध्यो, सबैभन्दा घातक रोग के हो
प्रश्न नटुङ्गिदै दिमागमा तिम्रो नाम आयो ।

(ख)
जिन्दगी यही हो यसैमा संसार पर्छ खुसी मान्नुपर्छ
औंला गुमाएपछि औंठी उपहार पर्छ खुसी मान्नुपर्छ ।

(ग)
म मर्नकै लागि भनेर राजधानी आएको हूँ !
आमालाई पनि पशुपति हेर्ने अवसर चाहिन्छ ।

लाग्दै थियो, यो सुनसान कोरोना कहरमा, भूतप्रेत सल्बलाउने कोरोना च्याम्बरमास यो जिवित आत्मासँगको साक्षात्कार र बसिबियाँलो उत्तम हुने ठहरमा पुगेँ । म कुन प्रयोजनको लागि जासुसी गर्न आएको हुँ, यसबारे यो जिवित आत्मा बेखबर छन् ।

उनीसँग उनको वाल सर्च गर्न गएँ । अहिलेको विषम परिस्थितिको कुरा जब निस्कियो उनले आफ्नो कलेटी परेको ओठ लेप्राउँदै भने–

कुर्सीमा बुख्याँचा राखेर देश चलाउनू
बरू सरकार भएको झैं आभास रहन्छ ।

उनको आश्य थियो, नालायाक शासकले शासन गर्नुभन्दा कुर्सीमा बुख्याँचा राखेर देश चलाउनु श्रेष्ठकर भएको कुरा जिवित आत्माले स्विर्कायो ।

प्रदुषण, धुलो, धुवाँ, छलकपट, दलाली, राजनीतिक कु–प्रथा, शासनको अकर्मण्यताप्रतिको तीव्र आक्रोश उनका गजलमा यत्रतत्र छरिएका थिए । र, अर्को उदाहरण–

तिम्रो दिल राजधानीको एक व्यस्त गल्ली थियो
जहाँ कदम–कदममा हरेक दिन लुटिएको थिएँ म  ।

बाँच्नु ठूलो कुरा हो । त्यसमा पनि शहरी जीवनको कृतिमता भन्दा गाउँको प्राकृतिक जीवनशैली श्रेयष्कर हुने ठोकुवा उनी यसरी गर्छन्–

मर्नलाई विष पनि किनेर खान्छ तिम्रो शहरले
जडिबुटी बाँडेर बाँच्छ मेरो गाँउ विचार गर ।

समय परिवर्तन छ । युग अनुसार विचारमा फरक आउँछ । सामाजिक जीवनयापनको लागि मानिसबीच आत्मिक सह–सम्बन्ध दरिलो भएको खुलाशा–

घाइते बनाएर छोडेको पनि काम आयो
आज बैसाखी टेकेर साथी मलाम आयो

छरछिमेक, साथीभाइ, इष्ट सब पलपलमा चाहिन्छ । यहाँ कुनै बेला घाइते बनाएको साथी पनि बैसाखी टेकेर मलाम आएको सुन्दर भाव पोखिएको छ । जसले गजलकारको बेजोड् प्रतिभाको मापन गर्दछ ।

जिवित आत्माले मलाई आफू बाँचेको धरातलमा हुने छलछाम, वैमनस्यताप्रति कठोर प्रहार गरिएको मतला र शेरहरू सुनायो । उनका गजलका प्रत्येक मतला, शेरमा म डुब्दै गएँ । मभित्रको तरन्नम झङ्कृत भइरह्यो ।

(क)
यसकारण मलाई मृत्यु असाध्यै मन पर्छ  ।
मेरो घाट जाने बाटोमा तिम्रो आँगन पर्छ  ।

(ख)
निस्किएर उसैलाई उपहार मोती दिने मन छ
जस्ले सागरमा धकेलेर मार्ने इन्तजाम गरेको हो ।

माथिको मतलामा कुनै एक पात्रको आँगन हुँदै घाट जान पाइने भएकोले आफूलाई मृत्यु पनि प्यारो भएको बताएका छन् ।

दोस्रो शेरमा छलमा पारेर मार्नको निमित्त आफूलाई सागरमा धकेल्नेहरूलाई प्रतिरोध, रोषको बद्लाभाव नलिई बरु सागरबाट मोती टिपेर उपहार दिन राजी रहेको सुन्दर अभिव्यक्तिले मानवीय संवेदनाको उत्कृष्ट नमुना हो । यसले मलाई हदैसम्म तान्यो ।

जिवित आत्माको वालमा बेहद सुन्दर शेर सुनियो । मद्वारा जासुसी गरिँदै गरिएका जिवित आत्माका गजल निकै मन पराइएका हुन् । नेपाली वाङ्मय आकाशमा बेहद रुचाइएका गजलकार हुन् । उनलाई पनि मैले सशरीर चिनेको छैन । उनलाई उनकै सृजनामार्फत चिनेको हुँ । प्रदिप रोदनलाई युट्युबमा देखेकै दिनमा यी गजकारलाई पनि देख्न र सुन्न पाएँ । यिनका गजलमा निकै शक्तिशाली शेर प्रयुक्त पाइन्छन् । जसले मेरो शान्त मनको तलाउमा आफ्ना मतला र शेरले एउटा तरङ्ग ल्याइदियो । म उनका सुन्दर मतला र शेरमा तरङ्गिन थालेँ ।

गजलमा मतला र शेर शक्तिशाली हुनुपर्छ । कवितामा श्लोक शक्तिशाली । गजलमा दुई पाउको एक मतलारशेर । कवितामा चार पाउको एक श्लोक । गजलमा मतलारशेर कमजोर भयो भने गजल, गजल हुँदैन । कवितामा श्लोक कमजोर भयो भने कविता बन्दैन ।

बा–आमा गाउँको होचो झुपडीमा राखेको छु
जहाँ मृत्युले पस्दा पनि झुकेर जानुपरोस् । 

यो शेर सुने पश्चात् जिवित आत्मालाई छोडेर मलाई उनको देहसँग बातचित गर्न मन लाग्यो । कल गरेँ उठाएनन् । दुई दिनका मेरा कललाई अनाहकमा मिसकलमा अनुवाद गरिदिए उनले । तेस्रो दिनको कलमा उनको देह सकुशल बोल्यो– हेलो !

जीवित आत्माको देहलाई म अलाना, फलाना र ढिस्काना भएको परिचय दिलाएँ । मेरो परिचय पाएपछि बल्ल खुलेका थिए उनी । उनी अर्थात् जीवित आत्माको देह उर्फ चर्चित गजलकार ईश्वर दाहाल ।

आफू भर्खर कामबाट फर्केको उनले बताएका थिए । गाउँमा तथानाम काम हुन्छन् । धनकुटा निवासी गजलकार दाहालसँग बातचित गर्दा उनकै प्रिय गजलको एक शेर याद आयो–

मेरो जिन्दगीबाट कहिल्यै दूर रहन चाहेनन्
मानौं यी दुःखहरूसँग पुरानो चिनजान छ !

आफूले एक्लै गजल लेखिरहेको भए सायद साधारण गजल लेखनमा सिमित हुने कुरा गजलकार दाहाल बताउँछन् । ०७० आसपासमा जब उनले गजल लेख्न थाले त्यही बेलादेखि फेसबुक चलाउन शुरू गरेको उनी बताउँछन् । बेलैमा उनी आफ्ना अछाम जिल्ला र पश्चिमतिरका साथीहरुसँग जोडिन पाएको उनी बताउँछन् । धनकुटातिरकै अनन्त अनुराग, रोशन परियार आदिसँग भेटघाट र फेसबुकमा जोडिए पश्चात् काफिया मिल्दैमा गजल नहुने रहेछ भन्ने बोध भएको उनी सहजै स्विकारे ।

पछि गजलकार प्रदिप रोदनहरूसँग पनि जोडिएको उनले बताए । कोही गैरबहर बाट बहर लेखनमा गएको र कोही बहरबाट गैरबहरमा लागेको बेला उनी गैरबहरमा नै रहेको बताउँछन् । उनले भने– ‘पहिलेदेखि नै गैरबहरमा लेखियो । त्यही लेखाइले यहाँसम्म आउन सकियो । सबैमा माया पाइयो । बहरमा प्रयास गरिएको छैन ।’

देशका करिव–करिव प्रायः स्टेजमा आफ्नो गजल वाचन गर्न भ्याएका गजलकार ईश्वर दाहालसँगको छोटो कुराकानी बिट मारेर म फेरि उनको फेसबुक वालमा छिरें । वालमा उनको आत्मा मलाई आफ्ना गजल सुनाउँदै गए–

(क)
तिमी स्वास्थ्य सम्बन्धि पुस्तक थियौ
छपाईको एउटा त्रुटीले मेरो ज्यान गयो ।

(ख)
मृत्यु पनि कुनै बेला त अवसर बन्दो रहेछ
गरिबको सहिद हुने बेलामा युद्धविराम आयो ।

(ग)
हरेक पटक खुशी त्यही समय ढोकामा आइदिन्छ  ।
जब जिन्दगीले ताला लाइदिन्छ,चाबी हराइदिन्छ ।

(घ)
नदीमा बचाउँन आउनेहरूले प्रस्ताव राखेका छन्
तैंले दुइवटै खुट्टा फरक–फरक नाउमा राख्नुपर्छ ।

(घ)    
तिमी भन्छौ अञ्जुलीभित्रै सिङ्गो सागर चाहिन्छ
यार, सपना पनि आफ्नो हैसियत बराबर चाहिन्छ

समय ढल्कियो । मलाई यो वालबाट उम्किनुपर्ने थियो । उनका बेजोड गजलको तरन्नममा म झुमिरहेँ । अब म, आफ्नो दैन्दिन्य सामान्य जीवनमा फर्किनु थियो । जति सुने पनि धीत् नमर्ने उनका गैरबहर गजल सुन्ने र उनको जासुसी गर्ने अवधि आज पूर्णिमा बुद्धजयन्तिका दिन २५ बैशाख ०७६ साल तद्नुसार मे ७ तारिख २०२० देखि समाप्त भयो । 
क्लोज अफ

ईश्वर दाहालको जीवित आत्मालाई उनकै वालमा छोडेर म सकुशल फिर्ती सवारी भएँ । कोरोना कहरको यो आतंकमय प्रछायाभित्रको राजनीतिक कु–प्रथा र सरकार संरचनाप्रतिको चलखेलप्रति बेजोड व्यंग्य गजल शेर मेरो जासुस मथिङ्गलमा अझै घन्किरहेको छ–

अरू दुनियाँ बनाउँछन्, देश बनाउँछन्
हामीले जिन्दगी बितायौँ, सरकार बनाएर ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर