• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

इन्द्रावति गाउँपालिकाकाे राहत कोषमा सिन्धु उत्थानकाे सहयोग, महामारीमा जनतासँगै हुने प्रतिवद्धता

काठमाडौं । सिन्धु उत्थान केन्द्र (सुक)ले इन्द्रावती गाउँपालिकाको कोरोना विपद् रोकथाम तथा नियन्त्रण कोषणमा पचास हजार पाँच सय पचास रुपैयाँ रकम जम्मा गरेको छ । 

महामारीको रुपमा विश्वभर फैलँदै गएको कोभिड १९ नियन्त्रणका लागि सहयोगस्वरुप गाउँपालिकामा उक्त रकम हस्तान्तरण गरिएको छ । संस्थाका सचिव वासुदेव अधिकारीले गाँउपालिका अध्यक्ष वंशलाल तामाङलाई बिहीबार सो रकम बरावरको चेक हस्तान्तरण गरेका हुन् ।

युएनडिपिको सामुदायिक विपद् न्यूनिकरण तथा व्यवस्थापन कार्यक्रम सुकका कर्मचारीहरुको तिन दिन वरावरको तलव स्वेच्छिक रुपमा उठाएर उक्त कोषमा रकम जम्मा गरिएको अधिकारीले जानकारी दिए ।

चेक बुझ्दै गाँउपालिका अध्यक्ष तामाङले सहयोगीप्रति आभार प्रकट गरेको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीकृष्ण पौडेलले समाचार दैनिकलाई जानकारी दिए । कोभिड १९ लाई फैलन नदिन पूर्व तयारीका लागि इन्द्रावती गाउँपालिकाले ५० लाख रुपैयाँको कोष खडा गरेर भाइरस रोकथाममा जुटेको छ ।

यो रकम कोरोना रोकथामकै लागि खर्चिने बताइएको छ । गाउँपालिका राष्ट्रिय महासंघका महासचिवसमेत रहेका गाउँपालिकाका अध्यक्ष तामाङले विभिन्न स्वास्थ्य सामग्री खरिद गर्नेदेखि संक्रमण फैलन नदिनका लागि पूर्व तयारीका लागि कोषको रकम खर्च गरिने जानकारी दिए ।

यसअघि गाउँपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधावापतको रकम स्वेच्छिक रुपमा ‘कोभिड १९ सक्रमण रोकथाम तथा उपचार कोष’ मा जम्मा गर्ने निर्णय गरेका थिए ।

सुकले यसअघि पनि इन्द्रावती गाउँपालिकामा विभिन्न सहयोगी कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । ०७२ वैशाखको महाभूकम्पको बेलामा पनि सुकले पालिकामा घर निर्माणको काम गरेको थियो । 

आफूहरु महामारीको समयमा जनतासँगै हुने प्रतिवद्धता संस्थाले जनाएको छ । संस्थाका सचिव अधिकारीले भने,‘हामीले यसअघि पनि आइपरेका विभिन्न विपद्का समयहरुमा सहयोग गर्दै आइरहेका छौं । यो महामारीको समयमा पनि पालिकामा पर्ने सहयोग गर्न संस्था तयार छ । हामी जनतासँगै हुन्छौं ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर