• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

रेट्न केही बाँकी छाडेको थियो सायद छुराले

यता भास गहिरो उता डिल छ सायद
जहाँ छु, त्यहीँ अड्न मुश्किल छ सायद

बन्दाबन्दीले जीवन जर्जर भयो । कोरोना समयका बदनाम छालहरूले मलाई हुत्याएर आफ्नै अस्तित्वको किनारामा पछारे । म पछारिइरहेँ । सायद पछारिइरहने छु । जीवनको अमूल्य निधि किनारापारि छ । म बेकम्मा भएर किनारावारी छट्पटाउँदो छु । कोरोनाको महाव्याधीमा मेैंले टेकेको धर्ती भासिने गरी बग्दो छ । जसले मेरा मनका मुराद बगाउँदो छ । मुरादसँगै मेरो बाँकी रहेको जीवनको उदय अस्ताउँदो छ । किनारापारि तैरिने मेरो इरादा अनिश्चित छ ।
 
नयाँ र ताजा सबै सबै चीज खोसिएका छन्
बाँकी जे छन् उनै पुराना र ओसिएका छन्

अर्धउराठ लाग्दो मन गजलविद् तथा गजलकार आवाज शर्माका गजलहरूमा डुब्दै रहे । यतिबेला किताबको अभावले गर्दा म कुनै पनि साहित्यकारको फेसबुक वालमा डुबुल्की मार्नुको विकल्प थिएन । छैन । गजलकार आवाज भन्छन्ः

न त्यो मेरो न तिम्रो आफ्नो रहेछ
समय सबलाई छल्दै भाग्दो रहेछ।

यो विषादयुक्त कहरको किनारावारी अर्धउराठ लाग्दो र दिक्दार दिनहरूले म हरबार चिथोरिँदैछु । दमित छु । तैपनि जीवनको अस्तित्व सम्हालिरहेको छु । कोरोना कहर पनि एक मौंका हो । पीडामा बाँच्न सिक्ने मौंका ! बर्बादीमा जीवन थेग्न सिक्ने एक मौका ! समयको महत्व बुझ्नैपर्ने एक अलौकिक मौंका ! आवाज लेख्छन्ः

जिन्दगी नै सुम्पिनेले के दिएको छैन ?
पाउनेले पो महत्व सम्झिएको छैन।
(रमल अबतर)

आवाज शर्माका फेसबुकमा मेरो पठन गजलमा केन्द्रित भयो। उनको वालमा सयर हुँदा मलाई २०७६ फागुनमा भएको हाम्रो भेटको स्मरण आँखामा घुम्यो । जतिबेला छोटो संस्मरण लेखेको थिएँ । जुन यस्तो थियो–

ढोका कुइँक्क गर्‍यो । आवाजले मुन्टो उठाए । मुन्टोसँग जोडिएको टाउको पनि उठ्यो भन्दा फरक नपर्ला । अर्धनयन उघारेर अर्ध सुरमा मलाई हेरे । बेसुर भन्दा पनि हुन्छ । म मुख धोएर भित्र छिर्दै गरेको बेला उनले ढोकाको आवाज सुनेर आँखा उघारेका हुन् । पुनः आँखा बन्द गरें । आंशिक समाधिमा लीन भएँ । अनि बाघ झै घुर्न थाले । घुर्नुको मजा लिँदै घुरेँ । घुर्दा पनि लयमा घुरे जस्तो लाग्यो । तालमा घुरे जस्तो । गजल विद् हुन्, सायद बहरमा घुरे हुनन् कि झैँ लाग्ने । उनले अघिल्लो दिन एउटा गजल गाएका थिए । जसलाई भिडियो बनाएको थिएँ, त्यही सुन्दै बसेँ ।

रेट्न केही बाँकी छाडेको थियो सायद छुराले
बाँकी केही नि नराखी रेटियो मीठा कुराले

बन्चराको मार पर्ने त्रासदी फैलेछ सायद
बाङ्गो बन्दै फाइदा छ, सोच्न थाल्यो आँकुराले

यो उनको मभित्र गढेको प्रभाव हो । गजलमा पोखिएको दर्शनसँग मेरो सहमति असहमति जेसुकै भए पनि म उनको विद्वता र गायनले लठ्ठिएको पक्कै हो । म उनी घुरेको बेडको कुनापट्टि उनको घुराइ सुन्न अभिशप्त भएँ । यतिबेला बिहानको ठिक साढे पाँच बजेको थियो ।

म उनले सेरिटमार्फत हालिदिएको मल्टी सेटिङ्गको किंबोर्डमा औँलालाई बानी पार्न केही कुरा लेख्छु । मेरो बानी बसिसकेको हाम्रो किंबोर्डमा भन्दा यसमा केही सुबिधा देखेर नै यो किंबोर्ड राख्न उत्सुक भएको हुँ । हाम्रो किंबोर्डमा दौडिन बानी परेको औँला यो किंबोर्डमा बिरानो भयो । कुनै कुनै रहरहरू झिझ्याटलाग्दा हुँदाहेछन् । मलाई यो नौंलो किंबोर्डसँग यस्तै भएको छ । तर भर्खर नाता गाँसेको किबोर्डसँग अहिल्यै गुनासो गरिहाल्ने पक्षमा थिइनँ ।

गजलबारे केही गफगाफ गर्ने मनसायले नै एकरात सँगै बस्न कर गरेको हुँ मैंले उनलाई । यतिबेला हामी पोखराको ढ्यामसाइडको चारतले घरको तेस्रो तल्लाको दक्षिण पूर्वी मोहदाको अघिल्लो कोठामा छौं । यो कविता र गजलमा निकै उत्सुक रहेका स्रष्टा मेघराज आचार्यको घरमा पाहुना भएर गएको बेला हो ।

अघिल्लो दिन मेघराज आचार्यले मलाई लिन आएँ । उनकै निजी गाडीमा । म कर्म फ्लाइट्सका मित्र प्रेम बहादुर कुँवरको घरबाट निस्केर तल सडकमा ओर्लिसकेको थिएँ । मेघराजजीले आफ्नो गाडीको रङ्ग समेत बताएका हुँदा चिन्न गाह्रो भएन । मलाई देखेर मेघराजजी आफ्नो निलो गाडीको गति कम गरे र म उभिएको छेउ आएर रोकिए । हामी थियटर हल जान मोडियौं ।

सृजनाचोकदेखि गाडी दायाँ मोडियो । अलि तल पुगेर उनले गाडी रोकेर मोबाइलमा महिला आवाजसँग कुरा गरे ।

केही समय पश्चात् शुभप्रभातकी लक्ष्मी शाही ठकुरी र उनको साथी गाडीमा चढिन् । गाडी सृजनाचोक हुँदै महानगरपालिकाको बाटो हुइँकियो । एक ठाउँमा लक्ष्मीले माला किनिन् । उनीसँग आएकी युवती त्यतै ओर्लिइन् ।

हामी चिप्लेढुङ्गा हुँदै पालिखेचोक लाग्यौं । तेर्सापट्टि भएर भित्र लाग्यो गाडी । सानो बाटोमा सयर गाडी दायाँ मोडियो र थियटर छेउ नपुग्दै कला क्याफेभित्र कवि तथा गजलकार प्रकट पगेंनी र चित्रकार कृष्ण मर्सानी गफिँदेै गरेका देखिए । गाडी थियटर नजिक रोकियो र हामी सरासर कला क्याफेमा पस्यौं ।

‘ओहो ! कर्मजी के छ ?’ कृष्ण मर्सानीले हात मिलाए । प्रकट पगेंनीसँग ।

चिया पिएर मेघराजले बाहिर घाम ताप्न जाऊँ भने । हामी बिहानको घामको न्यानोमा आफ्ना चिसा देह ततायौं ।

केही समयमा माधव खतिवडा, रमा खतिवडा, मनु शर्मा, विनोद श्रेष्ठ, शिव त्रिपाठी, भरत आचार्य लगायत थुप्रै आए । पुनः क्याफेभित्र पस्यौ‌ं ।

चिया आयो टेबुलभरि । अण्डा चना पुरी पनि सकुसल आयो । हामी बिहानीको खाजा लिन थाल्यौं ।

घरबाट मायाले फोन गरिन् । म बाहिरिएँ । फोनमा घरायसी कुरा भयो । फोन संवाद टुङ्गियो । सबजना थियटर छिरिसकेछन् । म भित्र गएँ । सबभन्दा पछाडी बसेँ ।

हामी नाटक हेर्न गएका थिएनौं । कवियत्री विष्णु परिवारको खण्डकाव्य ‘छोरीको कर्म’ विमोचन थियो । शुभप्रभात साहित्य पुञ्जको आयोजनामा उक्त कार्यक्रम हुँदेै थियो ।

एक घण्टा कार्यक्रम सकेर बाहिर निस्कियौं । पोखराका कवि प्रकटलाई उनले लेख्दै गरेको उपन्यासबारे जिज्ञासा राखेँ ।

‘उपन्यास लेख्दैछु । होमस्टे सम्बन्धि । एकै ठाउँमा बसेर लेख्न सकिन्न । गण्डकी प्रदेशका चर्चित होमस्टेहरूको अवलोकन गरेर लेख्ने हो । त्यहाँसम्म गएर त्यो ठाउँको बस्तुस्थिति बुझेर लेख्नलाई आर्थिक चाहिने । पर्यटन बोर्डमा कुरा राखेँ । पहिला लेखेर ल्याउनूस् भन्छ । ल, ठिक छ । पहिला लेखेर लगुँला । उनीहरूले तिर्दैनौं भने म के गरूँ ? यो कुरा प्रदेशका मुख्यमन्त्रीसँग कुरा राखूँ भने पनि कहिल्यै समय दिने होइनन् । आफ्नै तालले जति सक्छु यही २०२० भित्र लेखि सक्छु ।’  प्रकट दुखेसो पोखे । म केही बेर उनको कुरा सुनेँ । उनी कृष्ण मर्सानीसँग कतै निस्किए ।

यो बीचमा भरत आचार्यले आज माथि उक्लिने हो ? भने । मैंले हुन्छ जाउँला भनें । पछि मेघराजले मलाई आफुसँग लाने कुरा गरेँ । कवि रमा खतिवडाले तल झरौं भनिन् । उनलाई मेघजी सँग जान लागेको बताएँ ।

करिब एक घण्टाको कार्यक्रमपछि आवाज बाइकमा गएँ । सब आफ्नै बाटो लागेँ । रमा, मनु, विनोद र म मेघराजको गाडीमा चढेर गयौं । बाटोमा क्रमशः विनोद र रमा अनि मनुजी छोडिएँ । म र मेघराजजी ड्यामसाइड उनको घर पुग्यौं ।

दायाँबायाँ रोड भएको उक्त चारतले घरको माथि पुग्दा मेघराजले मलाई भने–उनी मेरी कान्छी दुलही !

कान्छी भाउजुसँग चिनापर्ची भयो । हामी केही गफिएर सबभन्दा माथि छतमा उक्लियौं । आवाज, मेघरा र म फेवातालतिर फर्किएर पोखराको सुन्दर दृश्य हेर्दैरह्यौं ।

मेघराजजीको छोराले पानी ल्याएँ । उनले तातो पानी ल्याउन अह्राए । कान्छी भाउजु मन तातो पानी लिई माथि उक्लिए । आफ्नै छेउमै उभिएकी अर्की महिलालाई देखाउँदै मेघराजीले भने–ऊ मेरी जेठी दुलही !

अभिवादन साटासाट भयो । आवाजको पहिल्यै चिनाजानी थियो भने मेरो पहिलो ।

बिहानको सफरमा मेघराजले तीनजना छोराको बारे बताएका थिए । मैले कुनै नौलो लागेको थिएन । अब भने उनका दुईजना दुलही रहेछन् भन्ने थाहा भयो ।

निर्दोष मन ! कति राम्रो व्यवस्थापन ! म मनमनै अचम्म भएँ । दुबै जना मिलेका । न कुनै ईर्ष्या न डाह !

‘कसरी मिलाउन सकेको मेघराजजी श्र’ दुइटै खाना लिन किचनमा झरेको बेला एक चिम्ती जिज्ञासा पोखेँ ।

‘परिस्तिथिले मिलाउँदोरहेछ । जिन्दगी यस्तो होला भनेर सोँचिएको थिइन ।’ मन्द मुस्कानमा उनले भने ।

गोलो टेबुलमा आधा भाग ओगटेका हामी तीन आवाज, मेघ र मेरो लागि भाउजुद्वयको सत्कारमा दाल भात तरकारी आयो । एउटा श्रीमानसँग दुइटी श्रीमतीको उस्तै निर्दोष माया छ । दुइटी श्रीमतीसँग एउटा श्रीमानको बिना भेदको माया आहा ! तारिफ गर्ने कुनै शब्द भेटिन । विगत १४र१५ वर्षदेखि मिलेर बसेका यी जोडीहरूको निर्दोषपनको के कुरा गर्नु ?

मलाई यिनै सगोल प्रेमिल जोडीको अनौंठो मायाले तानिरह्यो ।

दिउँसोको साढे एक भयो । आवाज तल झरे । म पनि झरें । उनी बाइकमा हुइँकिए । मेघराजजी गोजीबाट गाडीको रिमोट थिच्छन् । लक खोलियो । गाडीको ढोका खोलेर हामी दुबै भित्र पस्यौं ।

मेघराज आचार्यले बताए अनुसार जेठी श्रीमतीलाई डिप्रेशन भएपछि थुप्रै उपचार गरे । मगरकी छोरी बिहे गरेका रहेछन् । जेठीको डिप्रेशनपछि उनैले अर्को श्रीमती बिहे गर्न दबाब दिएको स्वीकार्छन् उनी । दमौलीमा चिनजान भएकी नेवार समुदायकी युवतीसँग एकदम नजिकको सम्बन्ध भएपछि उनी सजह रूपमा मेघको घर आउने जाने गर्न थालिन् ।

‘चिनजान भएको तीन महिनापछि विवाह भयो । जेठी दुलहीले नै टीकाटालो लगाइदिएर भित्र्याइएको हो ।’ उनले भने । सृजनाचोक हुँदै लखनचोकदेखि गाडी नयाँ बजार भइ महेन्द्रपुल हानियो ।

‘जे नसोँचेको त्यो भयो । जे सोँचिएको त्यो भइएन । तर खुसी छु । जेठी दुलहीबाट दुई छोरा अष्ट्रेलिया छन् । कान्छीबाट देखि हाल्नु भयो, एउटा छोरो १३ वर्षको भयो । मसँगै दमौली बस्छ । उही बस्छ ।’ उनी जीवनप्रति सकारात्मक देखिए । परिवारको मिलापमा खुसी छन् र भन्छन्–‘नमिल्नुपर्ने नै के छ र ?’

गाडी उद्योग बाणिज्य संघको अगाडि गएर रोकियो ।

आवाज शर्मा पहिल्यै पुगेर पनि भित्रबाट साथीहरू सँग बाहिर आउँदै थिए ।

होटलमा चिया पिउँदै थियौं । आवाजले आफ्नो बहरबद्ध गजल टेबुललाई तबला मानेर बजाए र खुब मिठो लयमा यति डुबेर गाए, मलाई भिडियो बनाउन मन लाग्यो । मेघराज र म आवाजको आवाजमा डुबिरहेका थियौं ।

हस्तरेखामा सकारात्मक कुनै चिज पाइएन
भाग्य आफै कोर्न सक्ला या नसक्ला पाखुराले

जे जे सोच्यौँ सत्य त्यो हो हैन त्यसको भेद खुल्ला
केही बेग्लै सोच्न पारे खर्चिएका यी चुराले

भिडियो बनाउने क्रममा गजलको आधाउधि गाए पनि बाँकी शेर गाउने बेला कैद गर्न भ्याएँ । पछि उनले दोहोर्‍याई गाए पनि । आवाजकै आवाज सुनिरहूँ जस्तो लाग्दालाग्दै हामी सब टेबुलबाट उठ्यौं ।

हामी सभाहलभित्र गयौं ।

मेघराज र म खाली ठाउँमा बस्यौं । मनु शर्मा, माधव खतिवडा छेउमै आए । आवाजलाई नजिकै बस्न बोलाएँ । कार्यक्रम शुरू भयो । गजल संध्याका भूपू अध्यक्षहरूको वाचन रहेछ ।

सुनाइएका केही गजल साँच्चिकै सुन्न लायक थिए । हल पनि खचाखच थियो ।

कार्यक्रम सकिए पछि माधवजी मलाई कता लाग्ने भनी सोधे । मैले आज मेघराजजीले घर लाँदैछन् भनेँ । सबै गए । मैले दुई तीन पल्ट आवाजलाई आज मेघराजको घर जाऊँ भनी कर गरेँ । उनले बिहान साढे सात बजे ट्युसन पदाउने कुरा गरे । मेैले बिहान उठेर जानुहोला भनेँ ।

‘बिहान चिसोमा रुघाले सताउँछ ।’ उनले भने ।

‘आधा घण्टाको कुरा न हो, केही हुन्न !’ मैले भनेँ । अब भने उनी हामीसँग जान राजी भए ।

हामी तीनजना एउटा माछा पसलमा पस्यौं । बेगनास तालको माछा र केही साग लिए मेघराजजी । आवाज शर्मा बाइकमा अघि गए । हामी पछिपछि । उनी हामी दुई भन्दा पहिल्यै पुगेका रहेछन् । हामी अलिपछि पुग्यौं ।

अब कोठामा हामी चुप लागेर बसेनौं । गजलका प्रारम्भिक नियमहरू मेघराज आचार्यको कापीमा लस्कर लागे । गजल सम्बन्धि म पनि अनभिज्ञ । गजलका विषयमा गहिराइमा जानु आवश्यक थिएन । त्यसैले शुरूका जान्नुपर्ने र ध्यान दिनुपर्ने कुराहरू आवाजले मेघराजको डायरीमा लेखे। शुरूमा मुतकारिब मुसम्मन । छन्दमा यगणको चार रूप अर्थात भुजङ्गप्रयात ।

केही समयको बातचित र उदाहरणमा बहरको लचकताबाट म प्रभावित भएँ ।

अब हाम्रो लागि खान्की तयार भएको जानकारी आयो । हामी माथि डाइनिङ हलमा गयौं । माछाको झोलसहित खाना आयो। मेघराजी र म माछाको हड्डी केलाउन व्यस्त भयौं । आवाज शर्मा ठूलो हड्डी बाहेक सब कुटुकुटु चपाएर निल्थे ।

‘एक पल्ट माछाको काँडा घाँटीमा अड्केदेखि अहिलेसम्म मलाई माछा खान डर लाग्छ ।’ मेगराजले भने ।

ढाडभरि काँडा भएको देखाउँदै आवाजले भने ुयो काँडा हो, सबभन्दा खतरा हुने ! जहाँ पनि घोपेर अड्किन सक्छ ।’ यति भनेर हड्डी फाल्छन् होला भन्ठानेको म । हेर्दाहेर्दै ुतर यसलाई यसरी खानुपर्छ ।ँ उनले सिधै मुखमा राखे र मजाले चपाएर निले। उनले रहरलाग्दो गरि खाएँ । हामी डराई डराई खायौं ।

बहरमा सजिलोसँग गजल लेख्ने र लेख्न सिकाउने उनी हड्डी पनि बहरमै खाए कि क्या हो ? ठट्टा गर्न मन लाग्यो ।

अहिले उनी निद्रामा घुर्दैरहेँ । म भने उनले लेखेको गजल अघिल्लो दिन टेबुललाई तबला मानेर ठटाउँदेै गाएको भिडियो रेकर्ड सुन्दैरहेँ ।

सात बजेतिर हामी दुई निस्किन तयार भयौं। मेघराजजी र उनको कान्छो छोरा पनि दमौली जान हतारिएका थिए । भाउजुद्वयको चिया पकाउने आग्रहलाई हतारोका कारण नकार्नुपर्ने भयो ।

हतारिएका आवाजले मलाई फागुन ११ गते २०७६ तदनुसार २३ फेब्रुअरी २०२० को बिहान खहरेचोक पुर्‍याए । उनी त्यहीबाट फर्केर आफ्नो गन्तव्य हान्निए । म भने उनै आवाजले गाएको गजल स्मरण गर्दै कर्म फ्लाइट्सको कार्यालयमा छिरेँ । सायद मनका कल्मष रट्न बाँकी थियो, कानमा उनकै आवाज गुन्जिरह्यो–

नदेऊ यातना, जब सत्य बोल्नै चाहँदैन
सुन्छु कैयौँ भेद खुल्छन्, एक घुट्कैमा सुराले ।

विगत स्मरण गजबको थियोे। म विगतबाट वर्तमानमा ओर्लिएँ । वर्तमान कोरोनाले थिलथिलो थियो । उनको वालमा डुब्दै जाँदा मलाई छोएका केही गजल यस्ता छन्–

(क)
कस्तो अनौठो प्रीतको आभाष हो पलपल नयाँ
डुब्दा न पानी चाहियो, जल्दा न आगो चाहियो
(रजज)

(ख)
तिमीले ताकेर हानेका जुन शिलाहरू हुन्।
म लक्ष्य टेकेर फर्किने खुटकिलाहरू हुन्।।

(ग)
न युद्धले शान्ति छायो कहिल्यै न छाउने छ
लडौँ, मरौँुु यी नटुङ्गिने सिलसिलाहरू हुन्

(घ)
कलिलै थियो जो डाली काटेर राखियो बीँड
हेर्नै  छ अब  के  गर्ला, बद्लामा  बन्चरोले
(मुजारे अखरब)

आवाजका गजलमा प्रेम, विछोड, विकृति विसंगति, राजनिति आदि प्रयुक्त रेखाङ्कित भएका हुन्छन् । व्यंग्यमा लेख्न उनी माहिर छन्–

(क)
म  हिड्छु, स्वयं आगो हृदयमा लुकाएर
मलाई  हेरी जल्ने सफरमा अरू नै छन्
(तबील)

(ख)
उफ्रेर  जून  झार्नुस्,  तारा  अगाडि  राख्नुस्
औकात जे छ आफ्नो सारा अगाडि राख्नुस्

(ग)
जब ठग, लम्पट रानो हुन्छ
गुम्छ मुरी अनि मानो हुन्छ
(बहरे मीर)

(घ)
लाख अडकल बाजी होला
चोर  घरकै   काजी   होला
(रमल मुरब्बा)

सामाजिक विसंगतको असल नमुना उनका गजलमा सर्वत्र पाइन्छन्। जस्तै–

हुर्केको छोरासँगै छिन् आमा
जस्तो भरोसा छ, डर उस्तै छ

बेहद राम्रा गजल लेख्छन् आवाज शर्मा । उनी नेपाली गजलमा बहरको सैद्धान्तिक अवधारणा लिएर आएका गजलविद् पनि हुन् । अन्तमा आज  जेठ १० गते २०७७ तद्नुसार २३ मे २०२० को शनिबारको दिन आवाजका निम्न मतला र शेर राखेर उनको वाल बन्द गरेँ !

(क)
छुट्नै पर्‍यो जब छुट्टिए बाटाहरू आज ।
बर्षौं पछिऽ साउन बने आँखाहरू आज ।

(ख)
आफ्ना पयर माथि भर उस्तै छ
बाधा उनै हुन्, सफर उस्तै छ

(ग)
कहाँसम्म  पुग्ने   हो   हाम्रो  कहानी
म कागजको डुंगा, ऊ गंगाको पानी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर