गाउँ सुनसान, पाटन भरिभराउ

जाजरकोट ।  कोरोना भाइरसको त्राससँगै जाजरकोटका ग्रामीण क्षेत्रका अधिकांश पशुपालक कृषक पाटनमा गएका छन् । जेठ, असारदेखि साउनसम्म स्थानीय जङ्गल बन्द हुने भएपछि कृषक पशुचौपाय लिएर पाटनतिर लागेका हुन् । जिल्लाका नलगाड नगरपालिका, बारेकोट गाउँपालिकाका कृषक डोल्पाका पाटन र जुम्लाको सिमाना रहेका पाटनमा पुगेका छन् । 

यहाँका कृषक पाटन गएसँगै गाउँ सुनसान जस्तै भएको छ भने पाटन भरिभराउ भएको छ । पाटनमा पशु चौपायलाई नयाँ पलाएको घाँस खुवाउन सजिलो हुनुका साथै त्यहाँ पाइने जडीबुटीसमेत सङ्कलन गर्न पाइने भएपछि यस याममा कृषक पाटन जाने गरेछन् ।
 
यहाँका सर्वसाधारण पशुचौपाय लिएर पाटन जान थालेको बारेकोट गाउँपालिका–५ पृथी शाहीले जानकारी दिनुभयो । उनले भने, “पाटनमा लगाएका आलु खन्ने कामदेखि नयाँ पालुवा पशुचौपायलाई खुवाउन सजिलो छ । त्यसैले गाउँका दाजुभाइ पशुचौपाय लिएर पाटन जान थालेका छन् ।” गाई, भैँसी, बाख्रा, भेँडा, गोडालगायत पशुचौपायलाई पाटनका औषधिजन्य घाँस खुवाउँदा रोग नलाग्ने कृषकको भनाइ छ । 

भैँसीले हिमालको दाप(घाँस) खाएर दूधसमेत बढी दिने भएकाले घ्यू बढी उत्पादन हुने र पाटनमा उत्पादन भएको घ्यू अत्यधिक बिक्री हुने गरेको बारेकोट गाउँपालिका–४ का धनिलाल बस्नेतले बताउनुभयो । तीन महिना गाउँमा पशु चौपाय नराख्ने स्थानीय जङ्गलमा घाँस बढ्ने मौका पाउने गर्दछ । यो समयमा बढेको घाँसले हिउँद यामसम्म पुग्ने कृषकको भनाइ छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर