• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पर्यटनमन्त्री बोल्दाबोल्दै सुनिएको अश्लिल भिडियो र ‘जुम मिटिङ’को औचित्य  

‘जुम एप्स’को नेपालमा प्रयोग बढ्ने बित्तिकै सुरक्षित नभएको, यसको प्रयोगमा सावधानी अपनाउनु पर्ने विज्ञहरुको सुझाव थियो । नेपालमा मात्रै होइन विश्वका अन्य मुलुकमा पनि यसरी भर्चुअल बैठकको क्रममा अवाञ्छित गतिविधि भएको पाइएका छन् ।

काठमाडौं । कोरोना भाईरस (कोभिड–१९)को नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनको कारण धेरैको दैनिकी फेरियो । सधैं कार्यालयमा पुगेर बैठकमा सहभागी हुने कर्मचारीहरु लकडाउनपछि ‘भिडियो मिटिङ’मा झुम्मिए । 

‘वर्क फ्रम होम’ अर्थात् घरबाटै काम गर्ने जीवनशैली बन्यो । कोरोना भाइरस महामारीका दौरानमा सामाजिक दुरी कायम हुने भएकाले भिडियो कल तथा ‘भर्चुअल मिटिङ’को प्रयोग गर्ने करोडौं मानिसको ह्वात्तै वृद्धि भएको छ । 

नेपाल लगायत विश्वका विभिन्न शहरमा भिडियो माध्यमबाट विभिन्न कार्यालयका बैठकहरु बस्ने र अनलाइन प्रणालीबाट काम गर्ने परिपाटी चल्यो । जसका लागि धेरैले प्रभावकारी र सजिलो माध्यमको रुपमा ‘जुम एप्स’ प्रयोगमा ल्याए । 

‘जुम एप्स’को नेपालमा प्रयोग बढ्ने बित्तिकै सुरक्षित नभएको, यसको प्रयोगमा सावधानी अपनाउनु पर्ने विज्ञहरुको सुझाव थियो । नेपालमा मात्रै होइन विश्वका अन्य मुलुकमा पनि यसरी भर्चुअल बैठकको क्रममा अवाञ्छित गतिविधि भएको पाइएका छन् । हेरौं केही उदाहरणहरु :

................
जब मन्त्री भट्टराई बोल्न थाले...

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई सम्मिलित एक ‘जुम एप्स’को भर्चुअल मटिङको चर्चा निकै छ । सोमबार दिउँसो १ बजे आयोजना भएको उक्त बैठकमा मन्त्री भट्टराईले आफ्नो धारणा राखिरहेको बेलामा जुमको इन्टरफेसमा एक्कासी ‘पोर्न भिडियो’ चल्ने साइट सेयर भएको थियो ।
नेपाल पर्यटन वोर्डले पत्रकारहरुसँगको अन्तक्रिया कार्यक्रम आयोजना गरेको थियो । वोर्डका सिईओ डा. धनन्जय रेग्मीले नै इमेल पठाएर पत्रकारहरुलाई निमन्त्रणा दिएका थिए । 

मध्यान्ह १ बजेका लागि डाकिएको उक्त बैठकको दौरानमा मन्त्री भट्टराई बोल्न थाले । एक्कासी अश्लिल भिडियो बज्न थाल्यो । दर्जन बढि पत्रकार, कर्मचारी, विज्ञ तथा मन्त्री सम्मिलित कार्यक्रममा पोर्न भिडियो बजेपछि सबै आश्चर्यमा परे ।

‘ह्यारिस’ नामको अकाउन्टबाट बैठकमा आक्रमण गरी अनाधिकृत रुपमा प्रवेश गरेर यस्तो भिडियो बजाइएको भनिएको छ । यस बारेमा थप अनुसन्धान सुरु भएको मन्त्रालयले जनाएको छ ।

तर, यता यसलाई पर्यटन वोर्डकै लापरबाही भनेर टिप्पणी भएको छ । मन्त्री सम्मिलित हुने उक्त बैठकको भर्चुअल मिटिङको आइडी लिङ्क सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको थियो । 

समाचार दैनिकका प्रतिनिधिसमेत उपस्थित उक्त बैठकमा उक्त पोर्नो भिडियो बज्दै गर्दा मन्त्री भट्टराईले पर्यटन क्षेत्रको समस्याको बारेमा सम्बोधन गरिरहेका थिए । 

...........
ब्राजिलका राष्ट्रपति सहभागी बैठकमा ‘नग्न’

गत १८ मेमा ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोसँगको एक जुम भिडियो कन्फ्रेन्सका क्रममा एक जना व्यापारी नग्न देखा परे । उक्त व्यापारीले भिडियो कन्फ्रेन्सको क्रममा क्यामेरालाई बन्द गर्न बिर्सिका थिए ।  

डेली मेलको रिपोर्ट अनुसार, साओ पाउलो राज्यको उद्योग संघका अध्यक्ष पाउलो स्काफले आयोजना गरेको उक्त भर्चुअल बैठकमा दर्जनभन्दा बढी सरकारी अधिकारी तथा व्यावसायी उपस्थित रहेका बेला ती व्यक्ति बिना कपडा देखा परेका स्थानीय समाचार संस्थाहरुले जनाएका छन् ।

आफ्नो स्क्रिनमा नग्न व्यापारी देखा परेपछि राष्ट्रपति बोल्सोनारोले स्टाफलाई सम्बोधन गर्दै ‘अन्तिम पंक्तिको एक सहभागी ठीक छन् ?’ भनी सोधेका थिए । त्यसपछि उद्योगमन्त्री पाउलो गेडेसले भने– ‘त्यहाँ एक जना व्यक्ति नुहाई रहेका छन्, उनी नग्न छन् ।’

यसबारे राष्ट्रपति बोल्सोनारोले प्रतिक्रियामा ‘दुर्भाग्यवस्, हामीले देख्यौँ’ भनेका थिए । उक्त व्यक्तिको पहिचानलाई खुलाइएको छैन् । 

...............
जब रिपोर्टिङको बीचमा बुवा सर्ट फुकाल्दै निस्किए...

ब्राजिलमा मात्रै होइन् अमेरिकामा पनि यस्तो घटना घटेको थियो । एक महिला पत्रकारले घरबाटै रिपोर्टिङ गर्ने क्रममा उनका बुवाले सर्ट तान्दै बाहिर निस्कँदा क्यामेरामा परेका थिए । 

सनकोस्ट न्यूज नेटवर्कमा फ्लोरिडाकी पत्रकार जेसिका लाङ आमालाई क्यामेरा पर्सनको रुपमा उभ्याएर आफू कार्यक्रम प्रस्तुत गर्दैगर्दा अचानक पछाडिबाट उनका बुवा सर्ट टाउकोमाथि लगाएर पेट देखाउँदै निक्लिरहेका हुन्छन् ।

जेसिकाले पछि आफ्नो ट्विटर ह्यान्डलमार्फत ‘उहाँहरु भन्नुहुन्छ, घरबाटै काम गर्ने...त्यसपछि पनि ठीक हुनेछ भन्नुहुन्छ उहाँहरु’ भन्दै भिडियो अपलोड समेत गरेकी थिइन् । जुन भिडियो सर्वाधिक चर्चामा नै रहेको थियो । 

..............
माक्रोसफ्ट कम्पनीका हाकिम नै बने ‘आलु’

गत १ अप्रिलमा ‘पिपल फर दी अमेरिकन वे’ कम्पनीले एक भर्चुलअ बैठक आयोजना गरेको थियो । उक्त बैठकमा कम्पनीका राजनीतिक विभागका अध्यक्षलाई ‘आलु’ मा परिवर्तन गराउँदै ट्रोल बनाइएको थियो । 

बैठकमा सहभागी एक कर्मचारी रचिल क्लेगले एक स्क्रिन सट ट्विटरमा पोष्ट गर्दै लेखेका थिए,‘माइक्रोसफ्ट टीमसँगको मिटिङक्रममा मेरो हाकिम अचानक ‘आलु’ मा परिवर्तन हुनुभयो र त्यसलाई हटाउन जान्नु भएन् !’

उक्त ट्वीट धेरैले रि–ट्वीट गरेका थिए । जहाँ ८ लाख लाइक र हजारौं कमेन्ट गरिएका थिए । जुन एक चर्चित माइक्रोसफ्ट कम्पनी थियो । 

............
‘बाथरुम’बाटै रिपोर्टिङ गर्दा

त्यसअघि अमेरिकी समाचार संस्था एबीसी न्यूजका एक जना पत्रकार घरबाटै भिडियो रिपोर्टिङ गर्ने क्रममा बिना पाइन्ट र पछाडिबाट ट्वाइलेट फ्लस गरेको आवाज सार्वजनिक भएको थियो । 

गत अप्रिलमा एबीसी न्यूजको ‘गुड् मर्निङ अमेरिका’ कार्यक्रमको एउटा सेग्मेन्टका लागि तयार भएका विल रिभा नामक उक्त पत्रकार लाइभ प्रशारणका क्रममा बिना पाइन्ट देखा परेका हुन् ।

सीएनएनका अनुसार, भिडियो रिपोर्टिङका क्रममा २७ वर्षीय पत्रकार रिभाले शरीरको माथिल्लो भागमा मात्रै सुट लगाएको र क्यामेराको एङ्गल नमिल्दा कुर्सीमा बसेका उनको तिघ्रा देखिएको थियो । पछि उनले लाइभ भिडियो रिपोर्टिङका क्रममा पाइन्ट नै नलगाएको स्वीकारेका थिए ।

यी तथ्यहरु घरबाटै काम गर्दा भएका मानवीय असावधानी थिए । तर, सोमबार मन्त्री भट्टराई बोल्दै गर्दाको ह्याक भने सम्बन्धित निकायको कमजोरी देखिन्छ । जुम एप्सप्रति शुरु देखि नै प्रश्न उब्जिरहेकाले कतिपय देशले यो एप्सबाट गरिने बैठकलाई आधिकारिक मान्यता दिएका छैनन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर