• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

सभामुखलाई थाहै नदिई संसद अधिवेशन अन्त्य, अध्यादेश ल्याउने प्रधानमन्त्रीको तयारी

परम्परा र नियमावलि विपरित

काठमाडौं । बिहीबार मध्यान्ह आकस्मिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक डाके । नेकपाभित्र बढ्दो राजनीतिक माहोलकाबीच प्रधानमन्त्रीले बोलाएको उक्त मन्त्रिपरिषदबाट राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसदको चालू अधिवेशन अन्त्य गर्नका लागि सिफारिस गरियो । 

जसअनुरुप बिहीबार दिउँसो ५ बजेदेखि दुवै सदनको चालु अधिवेशन अन्त्य गरेको व्यहोरा संघीय संसदका महासचिवलाई राष्ट्रपति भण्डारीले निवेदन गरिसकेकी छिन् । 

तर, संसद अधिवेशन अन्त्य गर्ने परम्परा भने प्रधानमन्त्री ओलीले तोडेका छन् । उनले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभा अध्यक्षसँग कुनै परामर्श नै नगरि मन्त्रिपरिषदबाट अधिवेशन अन्त्यको लागि सिफासिर गरेका हुन् |

संसदको अधिवेशन सुरुवात गर्न र अन्त्य गर्नुअघि प्रधानमन्त्रीले संसदको नेतृत्वसँग छलफल गरेर मात्र गर्ने गरिन्थ्यो । संसद सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अधिवेशन अन्त्यअघि सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका नै छैनन् ।

जबकी राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्यको निवेदन संसदका महासचिवलाई गराउँदै गर्दा उता, राष्ट्रिय सभा बैठक चलिरहेको छ । यदी राष्ट्रियसभा अध्यक्षसँग छलफल भएको भए अहिले बैठक चलिरहेको नहुने स्रोतको दाबी छ । 

स्रोतले समाचार दैनिकसँग भन्यो,‘यसअघिको परम्परा र नियमावली अनुसार संसदको अधिवेशन सुरुवात गर्न र अन्त्य गर्नका लागि सभामुख र राष्ट्रियसभा अध्यक्षसँग छलफल गरेर मात्र गर्ने गरिन्थ्यो । यो पटक प्रधानमन्त्री ओलीले स्व निर्णय गर्नुभएछ ।’

सत्तारुढ नेकपाभित्र विकसित घटनाक्रमले यतिबेला हलचल मच्चिएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली यतिबेला पार्टीभित्रैबाट अल्पमतमा परेका छन् । 

१० असारदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग भएको छ । अर्का अध्यक्षसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनका लागि भनेपछि माहोल तातेको छ । 

ओली प्रचण्डले आ–आफ्ना पक्षधरका नेताहरुसँग छलफलको प्रक्रिया निरन्तरता दिइरहेका छन् । स्रोतका अनुसार यसअघि नै ओलीले प्रस्ताव गरेको दल विभाजनसम्बन्धी अध्यादेश पुनः ब्युँझाउने तयारीमा प्रधानमन्त्री ओली लागेका छन् । संसदमा प्रतिपक्षीको विरोध, एमसीसी, नागरिकता विद्येयक लगायतका विषयमा फेस गर्न नसक्ने भएपछि प्रधानमन्त्री ओली संसद विघटनतर्फको यात्रामा रहेको स्रोतको दाबी छ ।  

सभामुख सापकोटा नेकपाभित्रका प्रचण्ड पक्षधर भएको, यसअघि नै जारी गरेका अध्यादेश जारी गर्न सहज बनाउने लगायततर्फ प्रधानमन्त्रीको ध्यान गएको बुझिएको छ । 
 
नेकपाभित्र संकटकाल लगाउन लागेको भन्दै चर्चा चल्न थालेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर