• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

नमूना कृषिगाउँको रुपमा छनोट भएपछि काठेखोला गाउँपालिकाकाे पाँखो बन्यो चिया बगान

गलकोट ।  वनमारा झारले ढाकिएको पाखा । त्यो झन्भन्दा झन् फैलिँदै थियो । त्यही आसपासमा एैसेलुका झाङ उस्तै । काठेखोला गाउँपालिका–७ रेशको जनकल्याण निम्न माध्यामिक विद्यालय तिङरिङको पाखोबारीमा यति छिट्टै कायापलट आउला भन्ने स्थानीयवासीले सायदै सोचेका थिए् ।

तर अहिले त्यही पाखोबारी चियाका हरिया मुनाले लहलह हुने अवस्था आएको छ । वनमाराले ढाकेको पाँखो अहिले चिया बगान बनेको छ । तिङरिङको पाखो मात्र होइन, रेशकै बौरमा वनमाराको झारलाई उछिनेर अहिले चियाका बुटा हराभरा हुन थालेका छन् ।

गण्डकी प्रदेशले अघि सारेको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँका रूपमा काठेखोला गाउँपालिका–७ रेश छनोट भएपछि सोही परियोजनालाई लिएर साना किसान सहकारीले बौर र तिङरिङको ४६ रोपनी खाली जमिनमा ३६ हजार चियाका बिरुवा दुई वर्षअघि लगाउन शुरु ग¥यो ।  

बौरमा १५ हजार र तिङरिङमा एक वर्ष पहिले २१ हजार चियाका बिरुवा लगाइएको छ । बौर र तिङरिङमा चियाखेती गर्दा रेशका स्थानीयवासीले २५ प्रतिशत श्रमदानसमेत गरेको साना किसान सहकारी संस्था रेशका अध्यक्ष यामबहादुर कार्कीले बताए ।

करिब रु १५ लाखको लागतमा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषिगाउँ परियोजनाअन्तर्गत रेशमा १५ बाख्रा पाल्ने खोर, १५ भैँसीको भकारो बनाउनेसँगै चियाखेती गरिएको उनले बताए । “नमूना कृषिगाउँको रुपमा छनोट भएपछि रेशका स्थानीयवासीका बाख्राका खोर पनि सुधारिएका छन्, घाँसका बिरुवा पनि लहलह भएका छन्”, कार्कीले भने, “पछिल्लो समय भैँसीका भकारा पनि व्यवस्थित भएका छन् ।”

विद्यालयको खाली जमिनमा लगाइएको चियाको उत्पादनबाट आयआर्जन हुन थाले विद्यालयको शैक्षिक र भौतिक सुधारमा रकम खर्चने विद्यालयका प्रधानाध्यापक थम्मन जिसीले बताउनुभयो । बौरमा लगाइएको चियाबाट हुने आयआर्जन सहकारीको संवद्र्धन र प्रवद्र्धनमा खर्च हुनेछ ।

समुद्री सतहबाट एक हजार ८०० मिटरदेखि दुई हजार ३०० मिटरसम्मको उचाइमा चियाखेती राम्रो हुन्छ । यो विषयमा सम्भाव्यता अध्ययन गराएर उपर्युक्त भन्ने सुझाव आएपछि गाउँका विभिन्न स्थानमा चियाखेती शुरु गरिएको वडाध्यक्ष प्रेम लामिछानेले बताए । “रेश चियाखेतीका लागि धेरै सम्भावना रहेको स्थान रहेछ”, अध्यक्ष लामिछानेले भने “रेशको अधिकांश भाग भिरालो पाखो जमिन बाँझो हुन थालेपछि चियाखेती थालेका हौँ, अबको तीन वर्षमा हामीले रोपेको चियाले उत्पादन दिन शुरु गर्छ, यो बीचमा अरु सम्भाव्य स्थानमा पनि चियाखेतीलाई थप विस्तार गरिनेछ ।” 

बाँझो बनेको र वर्षौँदेखि प्रयोगविहीन अवस्थामा रहेको जमिनलाई अब उत्पादनमूलक कार्यमा उपयोग गरिएको र यो अभियानलाई गाउँभर फैलाइने अध्यक्ष लामिछानेको भनाइ छ । बागलुङमा ताराखोलाको सिरुवारेबाट केही वर्षअघि भएको चियाखेतीको शुरुआत अहिले रेश, सिगाना, धम्जालगायतका स्थानमा समेत शुरु भएको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर