• २०८१ बैशाख २७ बिहीबार
  • Thursday, 9 May, 2024

सिन्धुपाल्चोकमा बाढी : दुईको मृत्यु, १८ वेपत्ता, उद्दारका लागि सभामुखसहितको टोली हेलिकोप्टरबाट जाँदै

तस्बिर : सामाजिक सञ्जालबाट

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ । त्यस्तै बाढीमा परेर १८ जना बेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिकाको वडा नं ५ स्थित जम्बुमा बाढी गएको हो । 

बाढीसँगै भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाको सम्बन्ध बिच्छेद भएको छ । नेकपाका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोकका नेता माधव सापकोटा ‘सुबोध’ का अनुसार अहिले हेलिकोप्टरमार्फत उद्दारको तयारी थालिएको छ । 

‘एउटा प्राइभेट र एउटा नेपाली सेनाको हेलिकोप्टरसहित हामी घटनास्थलतर्फ जान लाएका छौं ।’ सापकोटाले समाचार दैनिकसँग भने,‘दुई गाउँका मानिस वारि को वारि नै र पारि को पारि नै अड्किएका छन् ।’

उनका अनुसार सभामुख अग्निप्रसाद सापकोटा सहितको टोली अहिले उद्दारका लागि हेलिकोप्टरमार्फत घटनास्थलतर्फ जान लागेको हो । सभामुख सापकोटाको सोही क्षेत्रबाट निर्वाचित भएका हुन् । 

भोटेकोशी नदीले बाह्रबिसे–तातोपानीको सडकखण्डको अरनिको राजमार्गका विभिन्न ठाउँ कटान गरेकाले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा पुग्न घुमाउरो बाटो भएर जानुपरेकाले विस्तृत विवरण आउन बाँकी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले बताए । 

बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले दिएको जानकारीअनुसार खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुल बगाउनुका साथै ठाउँठाउँमा सडक बगाएकाले आवतजावत गर्न कठिनाइ भएको छ ।

त्यस्तै अहिले सुनकोशीमा पनि भिषण बाढि आएको सिन्धुलीका स्थानिय सुरेश केसीले जानकारी दिएका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर