• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सिन्धुपाल्चोकमा बाढी प्रभावितको उद्दारका लागि मन्त्री दुलाल हेलिकोप्टरबाट बाह्रविसे प्रस्थान

काठमाडौं । बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ हेलिकोप्टरमार्फत सिन्धुपाल्चोकतर्फ प्रस्थान गरेका छन् । बाह्रविसेस्थित जम्बु बजारमा गएराती आएको भीषण बाढीबाट प्रभावितको उद्दारका लागि मन्त्री दुलाल स्वयं त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

उनीसहित प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल पनि हेटौंडाबाट प्रस्थान गरेका छन् । त्यस्तै, काठमाडौंबाट कानूनमन्त्री शालिकराम जमरकट्टेल पनि सिन्धुपाल्चोक प्रस्थान गर्नेछन् ।

बाढीमा परेर दुई जनाको मृत्यु भएको छ भने १८ जना वेपत्ता भएका छन् । मृत्यु हुनेमा २३ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी रहेका छन् । 

त्यस्तै, बाढीले अरनिको राजमार्ग पनि भत्काएको छ । जुरे पहिरो नजिकबाटै अरनिको राजमार्ग अवरुद्ध छ । अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको बाह्रविसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले समाचार दैनिकलाई बताए । 

यसअघि पनि आफ्नो क्षेत्रमा कुनै विपत्ति आउनेवित्तिकै तत्कालै उद्दारमा आफैं खटिने दुलाल आजपनि स्वयं उद्दारका लागि जान लागेको उनको सचिवालयले समाचार दैनिकलाई जानकारी दियो ।

मन्त्री दुलालसहितको टोली केहीबेरमा प्रदेशको राजधानी हेटौंडाबाट सिन्धुपाल्चोकतर्फ लागेका हुन् ।

यसअघि आज बिहानै सभामुख अग्निप्रसाद सापकोटासहितको टोली सिन्धुपाल्चोक जान लागेकाे थियाे । तर, मौसम खराबी भएका कारण र बुधबारमात्र आँखाको शल्यक्रिया गरेका कारण सभामुख सापकोटा फर्किसकेका छन् । यद्यपी, आफ्नो चुनावी क्षेत्रका जनतालाई परेका विपत्तिको जानकारी र उद्दार कार्यमा उनले पनि पहल भने गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर