• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

अमेजोनले आफ्ना कर्मचारीलाई ‘टिकटक’ डिलिट गर्नु भन्यो

एजेन्सी । विश्वको ठूलो ई–कमर्स कम्पनी अमेजोनले आफ्ना कर्मचारीलाई शुक्रबार ईमेल मार्फत् सर्वाधिक लोकप्रिय भिडियो सेयरिङ एप ‘टिकटक’ आ–आफ्नो मोबाइलबाट डिलिट गर्न भन्यो । उक्त ईमेलमा विशेषगरी अमेजोनको ईमेल एक्सेस भएका मोबाइलबाट डिलिट गर्न भनिएको थियो । 

तर, शुक्रबार अबेर अमेजोनले एक वक्तव्य जारी गर्दै ‘भूलबस्’ उक्त ईमेल पठाइएको बताएको छ । ‘आज बिहान भूलबस् केही कर्मचारीलाई ईमेल पठाइएको छ । टिकटकको सम्बन्धमा अहिले हाम्रा नीतिहरुमा कुनै परिवर्तन भएका छैनन्,’ वक्तव्यमा भनिएको छ । 

विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा कर्मचारीहरुको भनाईलाई उध्रृत गरिएको छ, ‘सुरक्षा जोखिमका कारण अमेजोनको ईमेल उपयोग गर्ने मोबाइलमा टिकटक चलाउने अनुमति छैन । अमेजोन ईमेलको उपयोग गर्नका लागि तपाईले १० जुलाईसम्ममा आफ्नो मोबाइलबाट टिकटक हटाउनुपर्ने हुन्छ ।’ 

चिनियाँ कम्पनी ‘बाइटडान्स’ले उत्पादन गरेको टिकटक विश्वमै सर्वाधिक छिटो लोकप्रिय बनेको छ, विशेषगरी युवा वर्गमा । विश्वभर चिनियाँ एप्समाथि डाटा चोरी तथा सुरक्षाको जोखिम रहेको अमेरिका लगायत देशले बताउँदै आएका छन् । 

तर, टिकटकले भने यस एप्सले राष्ट्रिय सुरक्षामा कुनै जोखिम नरहने र चिनियाँ प्रशासनबाट टाढा रहेको बारम्बार बताउँने गरेको छ । चीनले हङकङमा हालै आफ्नो नयाँ राष्ट्रिय सुरक्षा नियम लागू गरेसँगै टिकटक त्यहाँ प्रतिबन्ध लगाइएको छ । 

त्यसैगरी, यसअघि चीनसँग सीमा विवादको उत्कर्षमा पुगेको भारतले पनि देशभर टिकटकलगायत ५९ चिनियाँ एप्समा प्रतिबन्ध लगाएको छ । त्यस्तै, अष्ट्रेलियामा पनि टिकटक एप्सलाई प्रतिबन्ध लगाउनुपर्ने माग केही सांसदहरुले गरेका छन् । 

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले सोमबार टिकटक र अन्य चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने बारे विचार भइरहेको बताएका छन् । टिकटक डाउनलोड भएका मोबाइलबाट चिनियाँ कम्युनिस्ट पार्टीले उनीहरुको व्यक्तिगत सुचना चोर्ने आरोप लगाउँदै आएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर