वाग्मती प्रदेश : पहिरोबाट वेपत्ताको खोजी, नदी किनार बस्नेले घर छाडे

सिन्धुपाल्चोक । लगातारको वर्षाले सिन्धुपाल्चोकको विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी विस्थापित तथा मृतकका आफन्तलाई जिल्ला विपद् व्यवस्थापन समितिबाट राहत सामग्री वितरण गरिएको छ । बाढी र पहिरोबाट बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका मृतकका आफन्तलाई जनही रु एक लाख र क्षति भएका घरपरिवारलाई रु १० हजारसहित त्रिपाल, कम्बल, भाँडाकुँडा, लत्ताकपडालगायतका राहत सामग्री वितरण गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

असार २४ गतेदेखि साउन १ गतेसम्म बाढी र पहिरोमा परेर ती दुई गाउँपालिकाका मात्र छ जनाको मृत्यु भइसकेको थियो भने २२ बेपत्ता भएका थिए । बेपत्ताको खोजीकार्य जारी रहे पनि अझैसम्म शव भेटिएको छैन । त्यस्तै मेलम्ची खानेपानीको सुरुङमा पानी हाल्ने क्रममा ढोका फुटेर एक जनाको मृत्यु र दुई घाइते भएका थिए ।

भोटेकोशी नदीले कटान गरेको बाह्रबिसेस्थित खुर्सानीबारीको करिब २०० मिटर सडकको ट्र्याक खुलाइएको छ । ट्र्याक खुलेपछि खागदलसम्म साना गाडी पुग्न सक्ने इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए । उक्त बाटोलाई भोटेकोशी नदीले पूरै कटान गरेको थियो । अहिले नदीले धार परिवर्तन गरेको र पानीको सतहसमेत घटेको हुँदा तलबाटै ट्र्याक खुलाइएको हो । नदीमा पुनः बाढी नआएमा खागदलसम्मको आवागमनमा सहज भएपछि सिरिसेसम्मको क्षतिग्रस्त सडकलाई पनि खुलाउन शुरु गरिने बताइएको छ ।

यही साउन १ गते फुल्पिङकट्टी–४ मा पहिरोमा परी एकै परिवारका पाँचमध्ये तीन जनाको शव फेला परे पनि बेपत्ता दुई अझै भेटिएका छैनन् । खोजीकार्य जारी रहे पनि लगातारको वर्षा र पहिरो झर्ने क्रम नरोकिएपछि समस्या उत्पन्न भएको छ । त्यहाँ नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले खोजी गरेको र मानवशक्तिबाट सम्भव नभएपछि दुई दिनदेखि स्काभेटर प्रयोग गरिएको थियो । पुरानो स्काभेटर भएको र लेदो माटो झरिनैरहेको हुँदा त्यसलाई फर्काई पुनः अर्को स्काभेटर ल्याई काम शुरु गरिने वडा नं ४ का वडाध्यक्ष सानदोर्जे शेर्पाले बताए ।
 
स्थानीय ठाडो खोलाको बाढीले झोलुङ्गे पुलसमेत बगाएपछि आवतजावतमा समेत समस्या उत्पन्न भएको छ । पहिरोले दुई घर र एक विद्यालय पुरेको र अन्य २४ घर उच्च जोखिममा परेका छन् । विस्थापित ११७ मध्ये ४५ परिवार स्थानीय डाँडागाउँ स्वास्थ्यचौकीमा राखिएको र अन्य परिवार आफन्तमा गएको वडाध्यक्ष शेर्पाले बताए ।

सुनकोशी किनारमा बस्नेलाई सर्न आग्रह

सिन्धुली– जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सुनकोशी नदी आसपासमा बासोबास गर्ने नागरिकलाई सर्न र सर्तकता अपनाउन आग्रह गरेको छ । केरुङ च्छो नामको पोखरी फुट्न सक्ने खतरालाई मध्यनजर गर्दै सुनकोशी, गोलन्जोर र फिक्कल गाउँपालिकाको तल्लो तटीय क्षेत्रमा बासोबास गर्नेलाई सतर्कता अपनाउन आग्रह गरिएको हो ।

चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो नामको पोखरीमा अविरल वर्षाका कारण पानी भरिन गई पोखरी फुट्न सक्ने र भोटेकोशी हुँदै सुनकोशी नदीमा अहिले भइरहेको भन्दा ६० मिटरमाथि पानीको बहाव बढ्ने खतरा रहेकाले नदी किनारमा बस्ने नागरिकलाई सर्न र आसपासका नागरिकलाई सावधानी अपनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सूचना अधिकारी उपेन्द्र न्यौपानलेले जानकारी दिए ।

उनका अनुसार स्थानीय जनप्रतिनिधि,स्थानीय नागरिक,स्थानीय सञ्चारमाध्यममार्फत जोखिममा पर्न सक्ने बासिन्दालाई सार्न र सतर्कता अपनाउन आग्रह गरिएको छ । सार्नैैपर्ने क्षेत्रका बासिन्दालाई अन्यन्त्र सार्न स्थानीय तह र अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय भइरहेको उनले जानकारी दिए । सो पोखरी फुट्दा हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न र सार्नैपर्ने परिवारको सङ्ख्या सङ्कलन तथा आवश्यक व्यवस्थापनका गर्न लागिपरेको उनको भनाइ छ ।

सुनकोशी नदी किनारमा रहेका सुनकोशी गाउँपालिका,गोलन्जोर गाँउपालिका र फिक्कल गाउँपालिकालगायतका स्थानीय तहहरुका बजार र मानवबस्तीलाई बगाउन सक्ने र ठूलो क्षति पु¥याउन सक्ने सम्भावना रहेकाले प्रशासनले नदी किनार खाली गर्न अनुरोध गरेको छ । यसबारे आवश्यक जानकारी लिन आफ्नो स्थानीय तह,नजिकको प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

बस्ती जोखिममा परेपछि ४० परिवारले घर छाडे 

मुग्लिन– चितवनको एक मात्र गाउँपालिका इच्छाकामना–५ भोटेस्वरामा एक घर पहिरोले बगाएको छ भने बस्ती नै जोखिममा परेको छ । आइतबारदेखि परेको अविरल वर्षाका कारण गएराति कमल विकको घर बगाएको हो । पहिरोको जोखिम आँकलन गरेर उनीहरु राति नै बुबाआमाको घरमा गएर बसेका कारण मानवीय क्षति भने हुन नपाएको स्थानीय शिक्षक यानबहादुर गुरुङले जानकारी दिए ।
 
यसैबीच भोटेस्वरा, बदेँलटार, मड्केनी र बक्सेर रानागाउँका ४० घरपरिवारले घर छाडेका छन् । बस्ती नै जोखिममा परेपछि ती गाउँका बासिन्दा पामडाँडा आधारभूत विद्यालयको भवन र छिमेकी गाउँ किटस्वरा गाउँमा आएर बसेको शिक्षक गुरुङले जानकारी दिए । साथै पहिरोले खानेपानी पाइप बगाउँदा खानेपानी हाहाकार भएको छ । किटस्वरा, पामडाँडा र साठीमुरेका करिब ७० घरधुरीले खाने पानीको पाइप बगाएको उहाँले जानकारी दिए ।
 
यसैबीच वडाध्यक्ष मोदराज सिलवालले वडा नं ५ कै मुग्लिनबजारमा दुई घर पहिरोले बगाएको र पाँच घर जोखिममा रहेको जानकारी दिए । ती परिवारलाई त्रिवेणी वराह मावि मुग्लिनमा बस्ने व्यवस्था मिलाइएको वडाध्यक्ष सिलवालले बताए । अहिले कहाँ कति क्षति भएको छ भन्नेबारे विवरण लिने काम भइरहेको उनले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर