• २०८२ श्रावण १६ शुक्रबार
  • Friday, 1 August, 2025

मन्त्री फेर्न ओलीले थाले काँग्रेस सभापति देउवासँग परामर्श

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

ओली र देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

बैठकमा ओली र देउवासहित काँग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री समेत रहेका नेता रमेश लेखक सहभागी थिए भने एमालेबाट उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी भएका हुन् ।

दुई शीर्ष नेताबीच मन्त्रिपरिषद् हेरफेर लगायत समसामायिक विषयमा कुराकानी भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले खासगरी आफ्नै पार्टीबाट बनेका विवादित मन्त्रीहरू फेरबदल गर्न खोजेका हुन्। यसै मेसाेमा कांग्रेसका विवादित मन्त्रीहरू पनि देउवाले फेर्न चाहेकाे खण्डमा एकै पटक हटाउने उनकाे तयारी देखिएकाे छ ।

तर कांग्रेसले भने अहिलेका मन्त्रीहरूलाइ २ वर्षका लागि पठाएकाले बिचमा फेर्न चाहेकाे छैन । अझ विवादमा परेकामन्त्रीहरू प्राय देउवा पक्षकै भएकाले पनि फेर्न कठिन रहेकाे बताइन्छ ।

एमालेबाट कम्तीमा तीन जना मन्त्री फेरिनेछन्। रक्षामन्त्री मानवीर राई, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारी फेरिने सम्भावना रहेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको सुरूआती कार्यसम्पादन सन्तोषजनक देखिएको थिएन। त्यसैले उनी पनि फेरिनेको सूचीमा थिए। पछिल्लो समय कामको गति देखिएको भन्दै उनी नहट्ने सम्भावना बढेको एमालेका नेता बताउँछन्।

भूमि व्यवस्था मन्त्री पछिल्लो समय घूस काण्डको विवादमा आएका छन्। उद्योग मन्त्री भण्डारीको कार्यसम्पादनप्रति प्रधानमन्त्री सन्तुष्ट छैनन्। रक्षामन्त्री राईलाई पनि प्रधानमन्त्रीले हटाउन चाहेको ती नेताको भनाइ छ।

नयाँ मन्त्रीको प्राथमिकतामा एमालेमा झापा–४ का सांसद एलपी सावाँ लिम्बू,रूपन्देही–१ बाट निर्वाचित छविलाल विश्वकर्माको पनि नाम चर्चामा छ। उनको नाम यसअघि सभामुखमा पनि चर्चामा थियो। मन्त्रीको सूचीमा सूर्य थापा, जुलीकुमारी महतोको नाम पनि चर्चामा छ।

अधिकारी र भण्डारी एमाले–माओवादी गठबन्धनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पनि थिए। प्रचण्ड नेतृत्वको सरकारमा पाँच महिना मन्त्री भएका उनीहरूलाई अघिल्लो असार ३० गते ओलीको नेतृत्वमा सरकार गठन भएपछि  पनि निरन्तरता दिइएको थियो।

कांग्रेसका मन्त्रीहरू प्रकाशमान सिंह, आरजु राणा, रमेश लेखक, बद्री पाण्डे विवादमा छन् ।

कतिपयलाई मन्त्री बनाउने बेलै एक वर्षका लागि मात्र भनेर सम्झौता गरिएको तथा कतिको काम सन्तोषजनक नदेखिएकाले प्रधानमन्त्री ओलीले बिदा गर्न लागेका हुन्। 

भूमि मन्त्री अधिकारीको त घुस मागेको अडिओ नै सार्वजनिक भएको छ। घुसिया मन्त्रीलाइ प्रधानमन्त्रीले संरक्षणा गरेकाे आराेप लागेकाे छ ।

हाल मन्त्रिपरिषद्मा एमालेबाट प्रधानमन्त्रीसहित ९ जना मन्त्री छन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर